लागू औषधसहित ६ जना पक्राउ, रेजिना मुख्य नाइके
काठमाडौँ । म्याग्दी प्रहरीले शनिबार साँझ बेनी नगरपालिकाबाट लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
बाटोमा शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए ।
पक्राउ पर्नेमा २ जना महिला समेत छन् । बेनी नगरपालिका–८ न्यूरोड बस्ने वर्ष २२ की रेजिना श्रेष्ठ र मंगला गाउँपालिका– ३ बरंजा बस्ने बर्ष २२ की सिता केसी हुन् । उक्त समूहको नेतृत्व रेजिनाले गर्दै आइरहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
यस्तै पक्राउ पर्नेहरुमारघुगंगा गाउँपालिकामा वर्ष २१ को निखिल फगामी, बर्ष २० को प्रविण छन्त्याल, बेनी नगरपालिकाका बर्ष २१ को राज कुमार शेरपुञ्जा र बर्ष २८ को बिजय बानियाँ रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध ८६ सेट (डाईजापाम, फेनेरागन र नुर्फिन) बरामद भएको सूचना अधिकारी देवकोटाले बताए ।
पक्राउ परेका ६ जनामाथि जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।