शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन युकेको महासचिवमा फणिन्द्र भट्टराईको उम्मेदवारी घोषणा

आइतबार, ०१ असार २०७६, २३ : ११
आइतबार, ०१ असार २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन युके) को आठौं कार्यसमिति (२०१९–२०२१) का लागि महासचिव पदमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । 

आइतबार लण्डनमा पत्रकार सम्मेलन गरी भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । झन्डै एक दशकदेखि एनआरएनए यूके तथा केन्द्रीय तहमा रहेको संलग्नता, लगाव र अनुभवलाई व्यवहारमा उतार्दै यसको कार्यदिशा निर्माण र नीतिगत तहसम्म योगदान गर्ने आत्मविश्वासका साथ आफूले महासचिवमा उम्मेदवारी दिएको भट्टराईले पत्रकार सम्मेलनमा बताए । 

भट्टराईले एक प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्दै संस्थाको हित, महत्व र आवश्यकताबोध हुने गरी आम जनसमुदायसम्म पुग्नेगरी काम गर्ने बताएका छन् । 

बेलायतमा रहेका विभिन्न संघसंस्थाहरूलाई एक सूत्रमा उभ्याएर ‘अनेक संस्था एक आवाज’को रूपमा स्थानीय मुद्दा उठान गर्न सकेमा सामुदायिक समस्याहरूको सहज निराकरण सम्भव हुने भन्दै उनले यसमा आफू सक्रियतापूर्वक लागिपर्ने बताएका छन् । 

यस्तै भूपू गोर्खाको समस्या समाधानका साथै भूपू गोर्खा परिवारका वयोवृद्ध सदस्यले भाषा र सेवा–सुविधा उपभोगकसँगै दैनिक जीवनयापनमा कठिनाइ झेलिरहेको अवस्थामा सो समस्या समाधानमा आफ्नो पहल रहने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ । 

नयाँपुस्तामा नेपाली भाषासम्बन्धी समस्या रहेकाले केन्द्रिकृत पाठ्यक्रममार्फत स्थानीय समुदायसँग सहकार्य गर्दै यसमा अग्रसरता लिने पनि उनको प्रतिवद्धतापत्रमा उल्लेख छ । 

त्यसैगरी विदेशी भूमिमा नेपाली भाषा, साहित्यको उत्थान र विकासमा केन्द्रिकृत तहबाट समन्यव गर्दै विभिन्न साहित्यिक संघसंस्था तथा व्यक्तित्वहरूसँगको सहकार्यमा नेपाली भाषा, साहित्यको प्रवद्र्धधनमा लागिपर्ने उल्लेख गरिएको छ । 

महिलालाई सामाजिक क्रियाशीलता र संस्थागत नेतृत्वमा आउन प्रोत्साहित गरिने, नेपालमा आइपर्ने प्राकृतिक विपद तथा अन्य परोपकारी कार्यमा एनआरएनएमार्फत हुँदै आएको संयोजनलाई अझै प्रभावकारी बनाउने, संस्थालाई अझै मजबुत, सबल र शक्तिशाली बनाउने, एनआरएनए यूकेको विधानले व्यवस्था गरेअनुरूप क्षेत्रीय समिति निर्माण र विस्तारलाई गति दिने, सदस्यता अभिवृद्धि तथा यसको यथोचित व्यवस्थापन गर्ने, एनआरएनए परिचयपत्र प्रभावकारी ढंगले वितरण गर्न लागिपर्ने लगायतका विषय समेत उनको प्रतिवद्धतापत्रमा समेटिएको छ । 

एनआरएनए यूकेको पूर्व सचिव उनी हाल आईसीसीको केन्द्रीय भाषा तथा साहित्य विभाग र मिडिया विभागको सदस्यका रूपमा कार्यरत छन् । 

एनआरनमा विगतमा दिएको योगदान र अनुभवको जगमा टेकेर आफूले  महासचिव पदमा उम्मेदवारी निर्णय गरेको भट्टराईले बताएका छन् । 

बेलायतवासी नेपालीहरूका चासो र महत्वका साझा सवालहरूलाई उठान गरेर ती समस्याहरूको समाधान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 

एनआरएन यूकेको विधानले तोकेको काम, कर्तव्य र अधिकारमा निहित रहँदै संस्थाको विधि–विधानलाई पालना गरी संस्थाको सर्वोपरि हितमा काम गने भट्टराईले बताए ।  एनआरएनएप्रतिको समर्पण, चाहना, अनुभव र क्षमतालाई मूल्यांकन गरेर महासचिवको रूपमा निर्वाचित गराउन उनले बेलायतबासी नेपालीसँग अनुरोध गरेका छन् । 

उनको उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएन युरोप महिला उपसंयोजक संगीता मरहठ्ठा, आईसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके पूर्वअध्यक्ष महेन्द्र कँडेल, एनआरएन यूके उपाध्यक्षद्वय पुनम गुरुङ र ललित न्यौपाने, आईएनएस यूके अध्यक्ष चन्द्र गुरुङ, तमु धि युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ गुरुङलगायतको सहभागिता रहेको थियो ।

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप