शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुठी विधेयकमा पछि हट्यो सरकार, परिमार्जन गर्न प्रम ओलीको निर्देशन

सोमबार, ०२ असार २०७६, ११ : ५६
सोमबार, ०२ असार २०७६

काठमाडौँ– राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि  प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिइसक्नुभएको छ’ बालुवाटार निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘प्रधानमन्त्री आफैले ‘इनिसिएसन’ लिएर समस्या समाधान गर्नतर्फ लाग्नुभएको छ । अब यो समस्याको विषय रहँदैन ।’

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

यो विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौतफी विरोध र आलोचनासँगै आन्दोलन सुरु भएको थियो ।

काठमाडौ उपत्यका लगायत उपत्यका बाहिरका जिल्लामा समेत विरोध चर्कन थालेपछि सत्तारुढ दलका सांसदहरुले विधेयक सच्चाउनुपर्ने भन्दै सरकारलाई दबाब दिन सुरु गरेका थिए ।

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्था र पुर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनीसमेत दिन दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

यसअघि सत्तारुढ दलकै कतिपय सांसद र नेताहरुले समेत गुठी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । नेकपाका नेता झलनाथ खनाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरुले समेत विधेयकका कमजोरी औँल्याएर सच्याउनुपर्ने सुझाव दिएपछि ओली नेतृत्वको सरकार रक्षात्मक बन्दै विधेयक परिमार्जन गर्न तयार भएको हो ।

आफू देश बाहिर भएका बेला गुठी विधेयकको विरोधमा भएको आन्दोलनलाई नियालिरहेका प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममै त्रिभुवन विमानस्थलमा गल्ती भए सच्चाउन तयार रहेको सन्देश दिएका थिए ।

यस्तो थियो प्रमको भनाई

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनता माथि, गरिबहरु माथि शोषण भइरहेको छ  । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा ।  त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कही कतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ । 

अब केही मानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक कला जो झन राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यस कारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन । 

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कही नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो । 

त्यस कारण कही कतै केही नपुगेको देख्दा वा कही कतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा ।

तर, प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएपनि आन्दोलन रोकिएन । प्रधानमन्त्री स्वदेश फर्केकै दिन राके जुलुसदेखि विरोधका विभिन्न कार्यक्रमहरुले निरन्तरता पाइनै रहे । प्रधानमन्त्रीले गल्ती सच्चाउने अभिव्यक्ति दिएपछि गुठी विधेयकको विरोध कम हुने अपेक्षा गरेको सरकारी पक्षले त्यति हुँदासम्म आन्दोलन मत्थर नहुने देखेपछि विधेयक परिमार्जन गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री ओली स्वदेश फर्केसँगै यो विधेयकमा चासो देखाएर समस्या समाधान गर्नेतर्फ पहल थालिसक्नु भएको छ । पार्टी र सरकारका सदस्यहरुसँग आइतबारै एक चरणको कुराकानी भैसकेको छ । सोमबार बिहान पनि प्रधानमन्त्रीले यस विषयमा पार्टी र सरकारका केही मन्त्रीहरुसँग छलफल गर्नुभएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले रातोपाटीलाई बताए । ‘अब सरोकारवालासँग छलफल गरेरमात्रै यो विधेयक अघि बढ्छ । यस्तै अवस्थामा अघि बढ्न सक्दैन,’ अर्यालले भने, ‘पार्टीभित्र पनि एक किसिमको छलफल सुरु भैसकेकाले चाँडै निश्कर्षमा पुगिन्छ ।’

स्मरण रहोस् गुठी विधेयकको विरोध चर्कदै गएका बेला कतिपयले राष्ट्रिय सभामा दर्ता भएको यो गुठी विधेयक होली वाइन चढाएर परम्परागत सनातन धर्म, संस्कृति र नेपालको पहिचान नै समाप्त पार्ने षड्यन्त्र अनुसार ल्याइएको समेत बताएका थिए ।

यो छुटाउनुभयो कि ?

'गुठी संस्कृतिको स्थानमा होली वाइनको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार'

गुठी विधेयक खारेजी गर्न माग गर्दै निकालियो राँके जुलुस (फोटोफिचर)

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघद्वारा आन्दोलनको घोषणा

धर्मप्रचारक संस्थाको प्रभावमा गुठी विधेयक आयो !

सरकारले तत्काल गुठी विधेयक फिर्ता लिनुपर्छ : जनार्दन शर्मा

गुठी विधेयकको विरोध: तस्बिरमा हेर्नुहोस् काठमाडौं र भक्तपुरको प्रदर्शन

गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : अध्यक्ष बिजुक्छे

गुठी विधेयकको पर्दा पछाडि बसेर कसले गर्न खोज्दैछ नेपालमाथि अदृश्य सांस्कृतिक हमला ?

गुठी विधेयकको विरोधमा हजारौं पाटनवासी सडकमाः फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी (भिडियो)

गुठी विधेयकको विरोधमा पाटनमा विशाल जनप्रदर्शन (फोटोफिचर)

संस्कृति मास्न र जग्गा हडप्न भूमाफियाको डिजाइनमा गुठी विधेयक !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप