शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय जनता पार्टीमा आयो नयाँ नेतृत्वः जेपी नड्डा अबको ‘सुपर पावर’

सोमबार, ०२ असार २०७६, २३ : ४१
सोमबार, ०२ असार २०७६

 एजेन्सी- भारतीय जनता पार्टीका बरिष्ठ नेता जेपी नड्डा सो पार्टीको अध्यक्षमा चयन भएका छन् । भाजपाका अध्यक्ष अमित शाह केन्द्रीय गृहमन्त्री बनेपछि पार्टी अध्यक्षको जिम्मेवारी नड्डाको काँधमा आएको हो । जेपी नड्डा नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्र सरकारमा सामेल थिए तर दोश्रो कार्यकालमा भने उनी सरकारमा गएका थिएनन् । यसअघि नड्डालाई सरकारमा नलगिएपछि पार्टी नेतृत्वको जिम्मेवारी सुम्पिने अनुमान गरिएको थियो । सोमबार भाजपा संसदीय बोर्डले पार्टीको नेतृत्व उनलाई दिने निर्णय गरेको हो ।

भारतमा कुनै पनि पार्टीको नेतृत्वको फैसला गर्ने अधिकार संसदीय बोर्डलाई हुने गर्दछ । बैठकपछि पार्टीका बरिष्ठ नेता राजनाथसिंहले भने, ‘भाजपाले अमित शाहको नेतृत्वमा लोकसभा चुनाव जित्न सफल भएको छ । प्रधानमन्त्रीले उनलाई अहिले गृहमन्त्रीको जिम्मेवारी दिएका छन्, त्यसपछि पार्टीको नेतृत्व सम्हाल्ने कुशल नेतृत्वको आवश्यकता देखिएको थियो । त्यसैले भाजपाको संसदीय बोर्डले आज नड्डालाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।’  

५८ वर्षीय नड्डालाई प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको राम्रो समर्थन रहेको बताइन्छ । भारतमा नड्डालाई चुनावी रणनीतिकारका रुपमा समेत लिने गरिन्छ । सन् २०१४ र २०१९ का दुवै निर्वाचनमा उनले पार्टीलाई विजयी गराउन ठूलो भूमिका खेलेका थिए । 

उनले सन् २०१४ मा पार्टी मुख्यालयबाटै देशभरको चुनावी अभियान सफल बनाउन भूमिका खेलेका थिए भने केही हप्ताअघि सम्पन्न भएको लोकसभा निर्वाचनमा उत्तर प्रदेशमा चुनावी अभियानमा खटेका थिए । उत्तर प्रदेशमा भाजपालाई विजयी गराउने उनको ठूलो हात रहेको बताइन्छ ।

 हिमाञ्चलको विलासपुरका बासिन्दा जयप्रकाश नड्डा (जेपी नड्डा)ले पटनाबाट एलएलबी सम्मको पढाई पुरा गरेका छन् । शुरुमा अखिल भारतीय विद्यार्थी परिषदका सदस्य बनेका उनी पहिलोपटक १९९३ मा हिमाञ्चल प्रदेशको विद्यायक चुनिएका थिए । 

त्यसपछि राज्य र केन्द्र सरकारका मन्त्री बनेका उनी १९९४ देखि १९९८ सम्म विधानसभामा पार्टीका नेता चुनिएका थिए । सन् २०१४ मा मोदी नेतृत्वको सरकारमा उनी स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री भएका थिए । भाजपामा यसअघि अमित शाह पर्दा पछाडिका सुपर पावरका रुपमा थिए । उनकै योजनामा सरकार चल्ने गर्दथ्यो । पार्टी अध्यक्ष चुनिएसँगै अब शाहको शक्ति नड्डामा सरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप