केन्द्रीय संस्करण

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0
file photo

सुर्खेत– कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । 

चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको बताए । 

‘पर्यटकीय स्थलको संरक्षण तथा सम्वद्र्धन, स्तरोन्नति, पर्यटन सडक र पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा छन्’, बजेट वक्तव्यमा भनिएको छ, ‘कर्णाली रारा पर्यटन वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै रारा राष्ट्रिय पर्यटन गन्तव्यको अभियान तथा ‘विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली’ भन्ने मूल ध्येयलाई सार्थक बनाउन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिनेछ ।’ 
    
प्रदेश सरकारले आथिर्क वर्ष २०७६/७७ मा ‘कर्णाली समृद्धिको आधार ः पर्यटन विकास र पूर्वाधार’ भन्ने लक्ष्यका साथ कर्णाली पर्यटन परिपथलगायतका आवश्यक पर्यटन पूर्वाधार निर्माणका लागि रु २० करोड बजेट विनियोजन गरेको छ । 

बजेट वक्तव्यमा चालू आवको प्रगति समीक्षाअन्तर्गत प्रदेश सरकार सञ्चालनका लागि २३ कानून पारित भएका र बाढी, पहिरो तथा अग्निपीडितलाई आवास निर्माणका लागि प्रतिपरिवार रु तीन लाख उपलब्ध गराएको उल्लेख छ । डिजिटल विद्यालय अभियान, प्रदेश अस्पताललाई ३०० श्ययामा स्तरोन्नति गर्ने कार्य, प्रदेश महत्वका सडक र जनता सडक कार्यक्रमअन्तर्गतका सडक कार्यान्वयनकै चरणमा रहेको उल्लेख छ । 

त्यस्तै, ६० साना सिँचाइ आयोजना सम्पन्न, ५१ कृषि सडक आयोजनामा ९२ किमी ट्रयाक खोलिएको, प्राङ्गारिक कृषि अनुसन्धान नमूना परियोजना सञ्चालन प्रक्रिया अघि बढेको उल्लेख छ । प्रदेश सरकारले राजश्व परिचालनतर्फ चालू आवमा रु २१ करोड २७ लाख ४६ हजार सङ्कलन हुने संशोधित अनुमान गरेको छ । 

बजेट वक्तव्यमा आगामी वर्ष कूल गार्हस्थ्य उत्पादन वृद्धिदर ६ दशमलब ५ प्रतिशत हासिल हुने अनुमान गरिएको छ । चालू आवमा वृद्धिदर ५ दशमलब ७ प्रतिशतले हासिल हुने अनुमान छ । 

मन्त्री ज्वालाले आर्थिक वर्ष २०७६/७७ का रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट सार्वजनिक  गरेका थिए । कूल बजेटमध्ये चालूतर्फ रु १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजित छ । 

प्रदेश सरकारले कूल बजेटको शून्य दशमलब ७ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । रु २५ करोड १० लाख ४१ हजार आन्तरिक राजश्व सङ्कलन गर्ने, रु ७५ करोड आन्तरिक ऋण परिचालनबाट ब्योहोर्ने, बाँकी सबै रकम केन्द्रबाट प्राप्त हुने विभिन्न प्रकारका अनुदान, केन्द्र सरकारले दिने राजश्व बाँडफाँटको रकम, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको रकमबाट आफ्नो लक्ष्यअनुसारको खर्च गर्ने सरकारको योजना छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.