शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारद्वारा प्रस्तावित गण्डकी विश्वविद्यालयलाई १० करोड बजेट विनियोजन

मङ्गलबार, ०३ असार २०७६, १६ : २४
मङ्गलबार, ०३ असार २०७६

– कृष्ण न्यौपाने
तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गरेका हुन्  ।

उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै आएका छन् ।

मुख्यमन्त्री गुरुङले विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने जानकारी दिँदै भनेका थिए, ‘विश्वविद्यालय स्थापनाका लागि रु आठ अर्ब बजेट अनुमान गरिएको छ । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारीमा छौं ।’

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ ।
    
विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा.डा.गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ ।

स्थानीयवासी खुशी

शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुने खबरले स्थानीयवासी खुशी भएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुशीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए । 

तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार एकाइका उपाध्यक्ष एवं स्थानीयवासी सुजित हिराचनले बेलचौतारामा स्थापना हुने विश्वविद्यालयका बजेट विनियोजन हुनु खुशीको कुरा रहेको बताए । उनले भने, ‘सरकारको निर्णय सकारात्मक छ, यसले समग्र शुक्लागण्डकी क्षेत्रकै विकासमा टेवा पु¥याउने विश्वास लिएका छौं ।’ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका तीर्थराज खनालले शुक्लागण्डकीमा विश्वविद्यालय बन्नु समग्र तनहुँवासीकै हितमा हुने बताए ।

दु्रत विषादी परीक्षण केन्द्रको स्तरोन्नति गरिने

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेषण परीक्षण केन्द्रलाई स्तरोन्नति गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७६ बजेटमा प्रदेशको प्रवेश नाका आँबुखैरेनी र स्याङ्जामा स्थापना भएको विषादी अवशेष दुर्त विश्लेषण प्रयोगशालालाई स्तरोन्नति गरिने उल्लेख छ ।

दुर्त विषादी अवशेष परीक्षण केन्द्रलाई प्रयोगशालाको रुपमा स्तरोन्नति गरी एकीकृत खाद्य, कृषि तथा पशुपक्षीजन्य उपजको गुणस्तर चेकपोष्टको रुपमा विकास गर्न बजेट विनियोजन भएको उल्लेख गरिएको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रयोगाशाला स्थापना गरेको थियो ।

हाल सञ्चालन भइरहेको केन्द्रबाट प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गरिएको छ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइनेछ । प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिएको छ । प्रयोगशालामा शाखा अधिकृत, प्राविधिक सहायक, नायब प्राविधिक सहायकलगायत गरी सात जना कर्मचारीको दरबन्दी छ । 

यसैगरी तनहुँ जिल्लाको दक्षिणी भेगमा विद्युत् विस्तार कार्यका लागि तनहुँ हाइड्रोसँग समन्वय गरिने, तनहुँको शुक्लागण्डकी र भिमादलाई स्याटलाइट सिटीको रुपमा विकास गरिने र मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि तनहुँमा चिस्यान केन्द्र निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप