बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले हरेक क्षेत्रमा निहूँ खोज्यो : प्रधानमन्त्री ओली

‘देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लाग्यो’
मङ्गलबार, ०३ असार २०७६, १७ : ४१
मङ्गलबार, ०३ असार २०७६

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसप्रति कटाक्ष गरेका छन् । उनले हरेक क्षेत्रमा काँग्रेसले निहुँ खोज्न थालेको बताए ।

मङगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको पनि बताए । उनले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताए ।

‘प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन । पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो,’ प्रधानमन्त्रीले अगाडि भने, ‘हरेक क्षेत्रमा निहँु खोज्ने काँग्रेसले आश्चर्यजनक व्यवहार गर्यो । म आश्चर्यचकित भएको छु ।’ 

प्रधानमन्त्रीले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन नगरेको भन्दै संसदमा अमर्यादित कृयाकलाप भएपछि देशवासीको ध्यानाकर्षण मात्र गराएको बताए । उनले संसदमा बोल्नुपर्ने विषय समय क्रममा बोल्ने पनि स्पष्ट पारे ।

‘म स्मरण गर्न चाहान्छु । हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको व्यवस्था ल्याएका हौै । तर आज लोकतन्त्र, गणतन्त्र र लोकतान्त्रिक प्रयासका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चावन्दी स्पष्ट देखा परेको छ । लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अति दक्षिणपन्थीदेखि अति उग्रवामपन्थीहरु एकजुट भएको अवस्था छ ’ प्रधानमन्त्रीको भनाई छ । उनले त्यस्ता प्रवृतिहरुप्रति सजग हुनुपर्ने भन्दै उनले लोकतान्त्रिक शक्तिहरु नै देशको अवस्था विथोल्न लागेको पनि बताए ।

परिवर्तनकारी शक्तिहरु नमिल्दा र प्रतिकृयावादी शक्तिसँग मिलेकाले नै २००७ सात सालपछि संविधान बन्न लामो समय लागेको भन्दै प्रधानमन्त्री ओलीले २०१७ को घटना भएको स्मरण गराए । लोकतान्त्रिक आवरणभित्र प्रतिकृयावदी र प्रतिगामी र संकिर्णवादी चरित्र रहेको प्रधानमन्त्रीको भनाई छ ।

उनले काँग्रेसको यस्तै चरित्र रहे लोकतान्त्रिक अभ्यास अघि बढ्न नसक्ने चेतावनी दिए । प्राप्त उपलव्धिको रक्षा गर्नु सवैको दायित्व रहेको भन्दै उनले वर्तमान सरकार लोकतन्त्र र रष्ट्रियताप्रति दृढसंकल्प रहेको बताए ।

प्रधानमन्त्री ओलीले विधेयकका नाममा लोकतन्त्रका जरा काट्न्े काम भएको पनि बताए । उनले समृद्धि हासिल गर्न सम्बाद र सहकार्यका लागि सरकार खुला रहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको पूर्ण पाठ

लोकतन्त्रमा बालहठ हुँदैन

पत्रकार साथीहरु,

आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी गराउने र विभिन्न निर्णयहरु बारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने त्यो अभ्यास हुन्छ र प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समय भन्दा पहिले आफूले बोल्नु पर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कही पनि हुँदैन ।

तर आश्चर्य लाग्दो गरी आज अगाडिदेखि तय भएको प्रधानमन्त्रीले सम्बोधन गर्ने ११ बजे देखि भन्ने पहिले आफूले बोल्न पाउनु पर्छ भनेर नेपाली कांग्रेसले अड्डी लियो । अड्डी मात्रै लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसदको कामकारवाहीलाई अवरोध ग¥यो । विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । तर, लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो । त्यो जहाँ पनि हुन्छ । तर हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्देश्य अन्तर्गत नेपाली कांग्रेसका सभापति, लामो समयदेखिका मेरा मित्र, लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समय साथ दिएका मित्र शेरबहादुर देउवा आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनु पर्छ भनेर वेल घेर्ने कामको नेतृत्व गरेर अगाडि जानु भयो । आश्चार्य चकित भएँ म । उहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने ।  जे होस् संसद अवरुद्ध भयो ।

तर यसको अर्थ यो होइन कि संसदमा बोल्न खोजेको कुरा चाहेको कुरा मैले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन । संसदमा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए र त्यसतर्फ ध्यानकर्षण गर्न खोजेको हुँ ।

संसदमा बोल्नु पर्ने कुरा समयक्रममा फेरि बोलिने नै छ । तर म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको अवस्था ल्याएका हौं । तर आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताको विरुद्ध अथवा जनताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ताका विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यासकाविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै देखा परेको छ ।

प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल

संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तत्वहरु घोर दक्षिणदेखि घोर बामसम्म अति बामपन्थी तत्वदेखि अति दक्षिणपन्थी तत्वसम्म अति बामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एक जुट भएको अवस्था र म त्यसको प्रतिविम्ब जुन कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरु, जसका बीचमा एकता हुनुपर्ने त्यो नभएको मात्रै होइन । त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चार्य लाग्छ । यही कुरा ००७ सालको आन्दोलन पछि साथ लिएर मिलेर चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिलेर चल्ने गलत नीतिको कारणले संविधान बन्न लामो समय लाग्यो र उपयुक्त संविधान बन्न सकेन । ००७ साल पछि त्यही नीतिको कारणले, प्रतिक्रियावादीसँग मिल्ने कारणले र प्रगतिशील शक्तिहरुलाई देखि नसहने कारणले, जनपक्षीय शक्तिलाई देखिनसहने कारणले । त्यसै कारणले ०१७ साल जस्तो घटना भयो । परिस्थिति यस्तो भयो त्यसै कारणले त्यस्तो प्रतिगामी घटना हुदा पनि एकता गर्न मानिएन । लोकतन्त्रका पक्षधर शक्ति तानाशाहीका विरुद्ध लडौं भन्ने प्रस्ताव पनि मानिएन । विचित्रको एउटा लोकतन्त्रको आवरणभित्र एउटा प्रतिक्रियावादी प्रतिगामी संकीर्णवादी चरित्र त्यो रहेको छ ।

लोकतन्त्रमा आफूबाहेक अरुलाई पनि स्वीकार्नुपर्दछ

पछिल्लो समय हामी लोकतान्त्रिक शक्तिहरु एकजुट भएर लड्यौं । उपलब्धिहरु हासिल ग¥यौं । तर लोकतान्त्रिक शक्तिहरु एकता भएर उपलब्धि हासिल गर्ने भनेको फलानो सरकारमा रहनु पर्ने, फलानोले नै सरकार सञ्चालन गर्नु पर्ने, अरु प्रतिपक्षमा रहनु पर्ने र पछाडि हुनपर्ने, जनताले अभिमत पनि दिन नपनुपर्ने न्याय होइन । जबजब आफू भन्दा अरुले जनताको अभिमतबाट आउँछन्, लोकतन्त्रमा स्वीकार्नुपर्दछ लोकतान्त्रिक शक्तिले । लोकतन्त्र भनेको त्यही हो । आफू भन्दा अरु आएकोलाई पनि स्वीकार्नुपर्दछ । आफू आए ठीक र छ आफू नआए बेठीक छ र चल्न नदिने हो भने लोकतन्त्र चल्दैन । आज जुन प्रवृति देखा परिरहेको छ, त्यसले लोकतान्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुतै गम्भीर खालको अवस्था हो । त्यसकारण म सबैलाई भन्न चाहन्छु, कि यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो ।

अहिलेको सरकार देशप्रति, देशको सार्वभौमप्रति, स्वाधीनता, स्वतन्त्रताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हितहरुप्रति र स्वाभिमानहरुप्रति अत्यन्तै सजग छ, दृढ छ, यो इतिहासले प्रमाणित गरेको छ । यो भनिएको मात्रै कुरा होइन । गरिएको काम हो, राखिएको अडान हो ।

त्यसैगरी अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताहरुका निम्ति, अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर त्यस परिस्थितिको प्रयोग गरेर आएको मात्रै होइन । अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनको लामो श्रृंखलामा अग्रभागमा रहेर बलिदानपूर्ण संघर्ष गरेर आएको हो र लोकतन्त्रका मूल्य मान्यताहरु स्थापित गरेको हो । संविधान लेखेर आएको हो । परिवर्तन ल्याएर, परिवर्तन सकार पारेर आएको सरकार हो र अहिले जुन पार्टीले सरकारको नेतृत्व गरेको छ या सरकार जुन पार्टीको छ ।

प्रेस स्वतन्त्रता र मर्यादित प्रेसप्रति सरकार प्रतिबद्ध

यो पार्टी अचानक फुत्त कतैबाट निस्किएर कुनै एउटा सेनसेसनल वाला नारा केही दिएर सरकारमा पुगेको होइन । अझ यो बहुतै लामो संघर्षका उतार चढावहरुबाट आएको र लोकतन्त्रको रक्षाका निम्ति प्रतिबद्ध सरकार हो । लोकतन्त्र प्रणाली मात्रै होइन लोकतान्त्रिक प्रक्रियाको पनि र लोकतन्त्रमा स्वतन्त्रताका हकहरु, मौलिक हकहरु तमामप्रति सरकार सजग छ । प्रेस स्वतन्त्रता, मर्यादित प्रेस, जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस यसका उद्देश्यहरु हुन् र मानव अधिकारप्रति प्रतिबद्ध छ ।

विकासका प्रयासहरुमा त्यत्तिकै यो वातावरण र अन्य पक्षहरु, दुरगामी अर्थ, महत्व र बहुआयामिक पक्षहरुमा ध्यान दिएर चल्छ । यो सरकार देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न छ । त्यसै कारण यसले साम्प्रदायिक विद्वेष भड्काउन खोज्दा त्यस्ता कुराहरुका पछाडि लागेन । यसले सामाजिक न्याय र समानतामा आधारित सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा सदैव जोड दियो र फेरि पनि सामाजिक सदभावमा आधारित राष्ट्रिय एकतामा जोड दिन्छ । सामाजिक न्याय र समान्तामा जोड दिन्छ ।

यस पार्टीले यस सरकारले स्वाभाविक रुपमा शान्ति, स्थिरता, स्थायित्वको पक्ष लिन्छ । ती कामहरु यसले गर्छ र समृद्धिको काममा यो लागेको छ । आज केही तत्वहरु आत्तिएको देखिन्छ, समृद्धि कामलाई यस सरकारले अगाडि बढाउने भयो भनेर । म दृढताका साथ भन्न चाहन्छु समृद्धिका कामहरु अगाडि बढ्ने छन् र बढाइने छ । समृद्धिको यात्रा रोकिँदैन । सुशासन र विकास आजको मुल मन्त्र हो र त्यसलाई साकार पार्दै यो सरकार अगाडि बढ्छ ।

नेपालको भूमिका प्रमुख रह्यो

अब यस बीचमा म युरोप गएँ । युरोपमा आई एल ओ को सतवार्षिकी, सतवार्षिक समारोह लगायत अक्सफोर्ड विश्वविद्यालय त्यसै गरेर बेलायतको औपचारिक भ्रमण, प्रधानमन्त्रीजीसँगको दुईपक्षिय वार्ता, राजकुमार ह्यारीसँग भेटघाट, विपक्षी दलका नेतासँगको भेटघाट, सर्वपक्षिय पार्लियामेन्ट्री ग्रुपसँगको भेटघाट, गोर्खा ब्रिगेड र उहाँहरुको स्थलगत सेन्टर्स भन्ने ठाउँमा निरीक्षण लगायतका र त्यहाँ व्यापारिक समुदाय समेतसँग व्यापक रुपमा भेटघाट र छलफल गरियो र नेपाली समुदायसँग पनि ब्यापक रुपमा भेटभाट गरियो ।

यसबाट हाम्रो नेपाल र ब्रिटेन दुई देशको बीचको २०३ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरिएको छ र पारस्परिक हितको विषयमा बहुतै मैत्रिपूर्ण वातावरणमा कुरा गरिएको छ र विभिन्न पक्षमा पार्लियामेन्ट्री, प्रतिपक्षीय, सरकार पक्षीय समेत व्यापारिक लगानीकर्ताहरु अनेक पक्षहरुसँग पनि कुराकानी भएको छ । त्यसले नेपालको प्रभाव, प्रतिष्ठा बढाउने काम गरेको छ । अक्सफोर्डमा सम्बोधन गरिएको छ ।

त्यो हाम्रा विचारहरु एकैचोटी ४०÷४५ लाख भ्यूअर्सले एकै चोटी हेरेको हामीलाई बताइएको थियो । मैले बोलिरहेको बेला पनि ४० लाखको संख्यामा भ्यूअर्स पुगेको जानकारी गराइएको थियो । त्यो ठाउँमा हामीले नेपालका उपलब्धिहरु, नेपालका आवश्यकताहरु, नेपालको अवस्था र नेपाल कता जान चाहन्छ ? नेपाल कसरी अगाडि बढ्न चाहन्छ ? नेपालका आंकाक्षाहरु पनि बतायौँ ।

त्यसै गरेर फ्रान्समा प्रधानमन्त्रीय टोली पार्लियामेन्ट्री कमिटीका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख लगायतसँग भेटघाट भयो र खास गरी प्रधानमन्त्रीसँग दुईपक्षीय हितका विषयमा कुराकानी भए । त्यहाँका व्यापारिक समुदायसँग छलफलहरु भए र छुट्टाछुट्टै विभिन्न व्यापारिक कम्पनीहरुसँग छुट्टाछुट्टै रुपमा कुराकानी भयो र उहाँहरुलाई नेपालमा लगानीका आमन्त्रण गर्ने कामहरु भयो ।

त्यसै गरेर जेनेभामा आई.एल.ओ.को साईडलाइनमा पनि र औपचारिक ठाउँहरुमा पनि हामीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री, स्विजरल्याण्डका पूर्व राष्ट्रपतिसँग समेत ग¥यौँ र अरु संक्षिप्त भेटघाटहरु राष्ट्रसंघका महासभाका अध्यक्ष, दक्षिण अफ्रिका राष्ट्रपति लगायतसँग पनि भेटघाट भयो र नेपालको बारेमा राम्ररी हामीले ध्यानाकर्षण ग¥यौँ र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिकालाई विस्तार गर्ने काम गरेका छौँ ।

त्यस कारण ७ दिनको यो भ्रमण राम्रो भएको छ । यसले ती देशसँगको सम्बन्धलाई प्रत्यक्ष रुपमा त्यसै गरी युयानसँगको सम्बन्ध, दक्षिण अफ्रिकासँगको सम्बन्ध, नर्वेसँगको सम्बन्ध, टर्कीसँगको सम्बन्धहरुलाई पनि अगाडि बढाउने कामहरु गरेका छौँ र हामीले हाम्रो देशको आई.एल.ओ.मा हाम्रा देशको उपलब्धिको बारेमा, मजदुर आन्दोलनको बारेमा, मजदुरहरुले प्राप्त गरेका सफलताको बारेमा, मजदुर आन्दोलनका उपलब्धिहरुका बारेमा र हामीले तयार गरेका कानुनहरुका बारेमा प्रस्तुत ग¥यौँ र त्यो एउटा हाम्रो भूमिका त्यहाँ लिडिङ्ग भूमिकाको रुपमा रह्यो त्यो एउटा अर्को खुसीको कुरा हो । 

विदेश हुँदा गुठीका नाममा तनाव बढाउने प्रयास भयो

यसबीचमा यता म बाहिर गएपछि देश भित्र केही तनाव बढाउने प्रयासहरु भएछन् । खास गरी गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर । गुठी सम्बन्धी विधेयक यो २०३३ सालमा बनेको ऐन ३३ सालको ऐनले गुठी संस्थान बनायो र गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् भन्ने गुठीयारहरुकै विभिन्न गुठीयारहरुकै पहिलेदेखि आवाज उठेको हो । यो गुठी संस्थानले राम्ररी काम गर्न सकेनन् ।

हामीले गुठी संस्थानका पदाधिकारीहरुबाट उपयुक्त ढंगले काम गर्न भएन भनेपछि पुनर्गठन गर्न चाह्यौँ । पुनर्गठन गर्न खोज्दा फेरि सम्मानित अदालतबाट पुनस्र्थापित भएर उनीहरु फर्किए । त्यस पछि गुठी संस्थानले गुठीहरुको सुसञ्चालन गर्न सकेन । त्यसलाई सुसञ्चालन गर्ने गरी कसरी अगाडि बढ्ने भन्दा त्यसलाई प्राधिकरणको रुपमा लैजाउ र त्यसलाई भंग गरेर अगाडि जाउ । हाम्रा गुठीहरु एउटा उल्टो र भ्रमपूर्ण कुराहरु परेको छ । प्रचारमा गएको छ ।

त्यो उल्टो र भ्रमपूर्ण कुरा के भने हामीले चाहेका हाम्रा सम्पदाहरुको, हाम्रा धरोहरहरुको, हाम्रा संस्कृतिको संरक्षण गर्न हो । अहिले ल्याउन खोजेको विधेयक पनि त्यहि हो । त्यो संरक्षण गर्नका लागि हो । त्यसको दुरुपयोग नहोस् । त्यसका दुइटा पक्ष छन् । एउटा काठमाडौं भित्र बहाल, बैली, धार्मिक गुठी, निजी गुठी जहाँ विभिन्न समुदायले आफ्ना आफ्ना परिवार जस्तो गरेर गुठीहरु बनाएका छन् र त्यो हाम्रा परम्पराहरुसँग, हाम्रा संस्कृतिसँग, हाम्रा चाडहरुसँग, अनेक कुराहरुसँग जोडिएका छन् र तिनीहरुको सम्पत्तिको सुरक्षा पनि होस् र तिनीहरु हिनामिना नभइकन सञ्चालन हुन पाउन । तिनको सम्पत्तिको सुरक्षा होस भन्नका निम्ति हो ।

त्यो प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन । गुठी सञ्चालन गर्ने त्यस्तो व्यवस्था कतै छैन । गुठी सञ्चालन गर्ने भनेको होइन प्राधिकरणले बहुतै भ्रमपूर्ण कुरा गरियो । म सम्झिन्छु कस्ता कस्ता मान्छेहरु छन् आन्दोलनमा त्यो भन्न चाहन्न । कति गुठीको माया गर्ने ? कति संस्कृतिको, कति परम्पराको ? माया गर्ने मान्छेहरु छन् । यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिँगै मुर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ । यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नु परेको थियो ।

यस देशमा कति मुर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन, गायब हुन नपाउन, हाम्रा धरोहर, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु ती सुरक्षित संरक्षित हुन सकुन् । म त्यतापट्टि जान चाहन्न । २०३३ सालमा गुठी संस्थान बनेपछि थुप्रै गुनासाहरु पटक पटक आए । पहिले पनि आए, पछि पनि आए । ३५ सालमा एउटा निर्देशिका जारी भयो । त्यस निर्देशिकाले दुई भागमा गुठीहरुलाई वर्गीकरण ग¥यो र राज गुठी र निजी गुठी भन्यो । राज गुठीलाई ४ भागमा वर्गीकरण ग¥यो र यसलाई यसरी चलाउने, यस्तो गर्ने, यो गर्ने त्यसका आफ्ना थितिहरु बने । तर पनि स्थिति उपयुक्त बनेन । पछि विभिन्न समयमा मस्यौंदाहरु, कानूनहरु, विधेयकहरु प्रस्तुत भए ।

राष्ट्रिय सभामा प्रस्तुत भएको विधेयक संसद नै भंग भएको हुनाले त्यो विधेयक त्यो छलफलमा आउन अगाडि जान सकेन । त्यतिकै रह्यो, पछि पनि विधेयकहरु आउन खोजे । अहिले पनि काठमाडौंको समस्या एउटा छ, बाहिरको समस्या एउटा छ । बाहिर गुठीहरुबाट, गुठीका नाममा जनता प्रताडित छन् । शोषणमा परेका छन्, शोषित भएका छन् । त्यस कारण ती ठाउँहरुको व्यवस्था गर्नु एउटा कुरा हो र काठमाडौंमा जुन ढंगले निजी गुठी सञ्चालनमा आएका छन् । ती निजी गुठी त्यसै गरी सञ्चालन सुरक्षित ढंगले हुनुपर्छ भन्ने नै हो ।

तर, कुरा मिसमास गरेर अत्यन्तै भ्रमपूर्ण ढंगले त्यसलाई उछालियो । घाँसको एउटा हरियो स्याउलो भित्र, हरेउ त एउटा नै हुन्थियो । डालो एउटा थियो । हजार वटा हरियो देखा पर्ने स्थिति बन्यो । त्यस कारण भर्खरै माननीय भूमिसुधार मन्त्रीले केही सरोकारवालासँग परामर्श गर्नुपर्ने, छलफल गर्नपर्ने, विज्ञहरुका पनि राय सुझावहरु लिन पर्ने देखिएको र यो भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र विरोधीशक्ति घुसेर, लोकतन्त्रका जारा काट्ने कैंचीहरु चलमलाउन थालेको देखेपछि उहाँले आफूले राष्ट्रिय सभामा पेस गरेको विधेयक केही समय अगाडि फिर्ता लिनु भयो भन्ने मैले सञ्चार माध्यमबाट भर्खरै थाहा पाएको थिए ।

मलाई लाग्छ माननिय मन्त्रीको डिसिजन वाइड डिसिजन हो । म त्यसलाई एकदम दृढ समर्थन गर्छु ।

माइतीघर त साँच्चिकै माइतीघर रहेछ

अब यतिबेला देशवासी तमाम् दाजुभाइ दिदीबहिनीहरुले सोच्न पर्ने अवस्था आएको छ । कहिले एउटा विधेयक भन्यो माइतिघर मण्डला, कहिले अर्को विधेयक भन्यो माइतिघर मण्डला । विधेयक त छलफल गर्न संसद छ नि । संसद छ । संसदमा छलफल गर्न सकिन्छ । राय सुझाव लिन सकिन्छ । सरोकारवालसँग कुरा गर्न सकिन्छ । सरोकारवालाहरुले हामीलाई भन्न सक्छन् । तर माइतीघर त साँच्चैको माइतीघर रहेछ । यताउती केही प¥यो कि गुरुरु कुदेर मलाई घरमा यस्तो गरे भनेर माइतीघर जाने ।

अब जसो गरे पनि अनवरत आन्दोलन । अब मैले अस्तिको दिन पनि एयरपोर्टमा पनि भने, नेपालमा संघर्ष गरेर, बलिदान दिएर दुःख कष्ट बेहोरेर, लडाईं संघर्ष गरेर हामीले प्राप्त गरेको यो सफलता यस आन्दोलनबाट आएको अहिले लिडरसीप छ । अहिलेको लिडरसीप कुनै फरक ढंगबाट आएको लिडरसीप होइन । अहिलेको आन्दोलनबाट, विगतका आन्दोलनबाट आएको, आन्दोलनका उतारचढाव देखेको लिडरसीप छ ।

यतिबेला आन्दोलन गरिराख्नु पर्दैन । लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ । संवादबाट समाधानको बाटो उचित बाटो हो । द्वन्द्वग्रस्त ठाउँहरु, द्वन्द्वरत ठाउँहरु संवादबाट टुंगिन्छन् । लडाईं भइराखेको ठाउँमा संवादबाट टुंगिन्छ । हाम्रो देशमा पनि द्वन्द्व थियो, संवादबाट टुंगियो । लडाईंबाट टुंगिएन । संवादबाट टुंगियो । लडाईं संवादबाट टुंगिन्छ, वातचितबाट टुंगिन्छ भने सानातिना कुरा वातचित बाट नटुंगिने होइन । यो थाहा नभएको कुरा होइन कसैलाई । तर, आवेश, उत्तेजना फैलाएर वातावरण बिगारेर अनि आफ्नो दुनो सोझाउन खोज्ने । त्यसका निम्ति सधै माइतीघर मण्डला, सधैँ सडक, सधँै सडक यो गरिरहनु पर्ने आवश्यकता छैन् ।

म फेरि पनि भन्छु, यो सरकार जनताको सरकार हो ।

जनताले चुनेको सरकार हो । जनताले जे भन्छन्, जनता जे चाहन्छन्, जनताको हित जे गर्दा हुन्छ, त्यही गर्छ यस सरकारले ।

देशको समृद्धि र विकास यसको अभिष्ट हो ।

तसर्थ म सबैलाई भन्न चाहन्छु, यस्ता कुराहरुमा लाग्न हुदैन । यो लोकतन्त्र विरोधि गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, प्रयासहरुलाई बिथोल्ने गतिविधिका प्रयासहरु, विकासका कामरुतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अनुचित, अवाञ्छित विरोधका स्वरहरु अनवरत केही कुराहरु वास्तवमा सामूहिक छ्रैनन्, समायानुकुल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन् ।

जसका असन्तुष्टि छन् म आह्वान गर्न चाहन्छु, सबैलाई जे असन्तुष्टि छन्, जे मतभेद छन् आउनुस् बसौं छलफल गरौं । आफ्नै जिद्धि पूरा हुनुपर्ने कुरा त गर्न सकिँदैन् । छलफलबाट कुराहरु निस्किन्छन् । त्यसबाट संवादका तरिका हुन्छन् । भनेजति सबै कुरा उचित छन् की छैनन् । देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्र सुदृढ हुने देश अगाडि बढ्ने काम गरौं । त्यसका निम्ति सरकार खुल्ला छ, तयार छ सधैव संवादका निम्ति, कुराकानीका निम्ति । समस्या सुन्नका निम्ति, समाधान गर्नका लागि सरकार तयार छ ।

म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटक पटक लडेर लोकतन्त्र ल्यायौं तर हामीलाई भड्काइ भड्काइकन, विथोली विथोलिकन फेरि वातावरण बिगारी बिगारीकन हामीले मौका पाउँदा पनि गुमाएका छौं ।

००७ सालको आन्दोलन सफल भयो तर त्यो आन्दोलनलाई थिग्रयाउन कति वर्ष लाग्यो । ८ वर्ष थिग्रन लाग्यो डेड दुई वर्षमा खत्तम भयो ।

राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु, पटक पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदो¥याउँ ।

हामीले जनताले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । त्यस कुरामा ध्यान दिऔं । राजनीतिक शक्तिहरुलाई पनि म भन्न चाहन्छु, पार्टीहरुलाई पनि म भन्न चाहन्छु ।

जनतालाई म आग्रह गर्न चाहन्छु, हामीले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्वहरुलाई कहिले लाठी लाग्दैन् । ती प्रोभोक गरेर अघि छड्केका हुन्छन् । अनि सर्वसाधरणलाई पार्दिन्छन् । अनि पछि भन्छन्, नोक्सान भयो, क्षति भयो, के ग¥यो सरकारले । फेरि गराउने तिनीहरुनै हुन् । यस्तो कुराबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन । मेरो आग्रह यो छ ।

हामी लोकतन्त्रको रक्षा, जनताले लोकतन्त्र लडेर ल्याएको हो । जनताले लोकतन्त्रको रक्षा गर्न एकताबद्ध भएर अगाडि बढ्नु पर्छ ।

सञ्चार जगत लोकतन्त्रको पिलर हो

सञ्चार जगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसै कारण लोकतन्त्रलाई राज्यको चौथो अंग पनि भनिन्छ । तर आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं, संचार क्षेत्रमा भन्ने हो भने । फेसबुकको सञ्चालककले फेसबुक पैदा गरेर गल्ती गरेकी के हो ? यसै भनेको होइन । मैले गल्ती गरे यसै भनेको होइन ।

हामीले हाम्रो सामाजिक मूल्य मान्यता मर्यादा, हाम्रो समाज एउटा शिष्ट, सभ्य मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैन् । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो । हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ । बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुर आमालाई पनि तिमी, हजुर बाबुलाई पनि तिमी यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृति भित्र पर्दैन । कतिलाई मन पर्दैन फेरि मैले भनेको कुरा । सबै समान हुन् भन्ने मात्रै पर्ला । सबै समान बोल्दा खेरी कुनै भाषा कस्तो हुन्छ, कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन । कुनै भाषामा आदरार्थी शब्द हुँदैन । कुनै भाषाको आफ्नो मर्म हुन्छ । हाम्रो भाषाको आफ्नै मर्म छ । त्यो मात्रै होइन, सामाजिक सञ्जालको अवस्था के छ ? र, सामाजिक सञ्जाललाई कुरो थापेर हाम्रा स्थापित सञ्चार माध्यमहरु पनि तिनलाई फलो गर्न तिर लाग्ने हो । भाषा, सभ्यता, शैलि, बोलाई, चलाईमा भने हामी कस्तो समाज सिर्जना गछौं ?

त्यसकारण मेरो आग्रह छ, हामीले हाम्रो समाज निर्माण गर्ने हो । हाम्रा सन्ततिका लागि चोखै जसलाई मैले गाली गरे उसलाई मात्रै त्यो गाली लागेको हो भने सामाजिक क्षेत्रमा सञ्चार माध्यमबाट बोलिएको कुरा त्यो सार्वजनिक नै भएको हुन्छ । त्यो सार्वजनिक नै भएको कुराले अरुलाई पनि असर गरिराखेको हुन्छ । नयाँ पिंढीलाई, बालबालिकालाई बढी असर गरेको हुन्छ । यस कुरामा अलिक संवेदनशील हुनु पर्छ कि ?

मैले, केही आफूलाई विद्वान भन्नेहरुले बोलेको सुनेको छु, बोलेको सुन्दा सरम लाग्छ । सभ्यताका सीमाहरु अचम्म लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ भित्र अमर्यादा, अभद्रता, साँस्कृतिक मूल्यहरुको अभाव त्यो देखिएको हुन्छ ।

त्यसकारण मेरो आग्रह यति मात्र हो, यो समाजमा म मात्र बाँच्नु पर्ने होइन । मैले मात्रै भविष्य र परिणाम भोग्नु पर्ने होइन ।

म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवारमा, समाजमा मर्यादित भएर बाँच्नु पर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर तथ्यपूर्ण, तर्कपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो ।

त्यसकारण मैले अहिले यत्ति भनेर टुंग्याउँछु । तपाईंहरु सबैको भलो होस् । धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप