शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वनाम नाटकघरमा एकसाथ राष्ट्रिय नाटक महोत्सव

मङ्गलबार, ०३ असार २०७६, १८ : ३६
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राजधानीमा राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेको छ । २ गतेबाट सुरु भएको महोत्सव ८ गतेसम्म चल्ने छ । शिव ताण्डवसहित सुरु भएको महोत्सवको सोमबार राजधानीको सर्वनाम नाटकघरमा आयोजित एक समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवशले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा नाटक ‘पम्पा फूल’ समेत मञ्चन गरिएको थियो । 

कर्णाली थिएटरको प्रस्तुति रहेको नाटक ‘पम्पा फूल’ लोक लयमा आधारित थियो । पम्फाफूल कर्णाली पुरानो लोक कथा हो, जसलाई हिरा बिजुली नेपालीले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् ।  लोभ र लालचको कथा बोल्ने यो नाटक एउटा दाजुले आफ्नो बहिनीले पाएको दाईजोको सम्पतिमा आँखा लगाउँदा घट्ने नियतिको परिणाम हो ।

लोभले लाभ लाभले चन्द्र विलाप भन्ने उखानलाई सार्थक बनाउने यो नाटकको मुल भाव हो । नाटकमा बैदेवी बुढा, विष्णुमाया परियार, देवेन्द्र कार्की, राज मल्ल, रामु विक, निशा खड्का, जन्मलक्ष्मी हमाल, सुशिला रावल, खामु विक, हिरा बिजुली नेपाली, दिपेन्द्र नेपाली लगायतको अभिनय रहेको छ ।

असार ८ गतेसम्म चल्ने नाटक महोत्सवमा क्रमश ‘ईश्वरलाई चिठी’, ‘जीवैमामा गीतिनाटक’, ‘घरभित्रको अर्को घर’, ‘अमरसिंहको खोजीमा’, ‘विकास भर्सेस निकास’ र ‘कजरी’ मञ्चन हुनेछन् । ‘ईश्वरलाई चिठी’ इटहरीको कलालय नाट्य समूहले तयार पारेको नाटक हो ।

सुगम दुलालको आलेखमा आधारित उक्त नाटकलाई प्रज्वल पराजुलीले निर्देशन गरेका हुन् । ‘जीवैमामा गीतिनाटक’ डा.मिन श्रीस मगरको संयोजन र भिम मास्की रानाको निर्देशन तथा मगर अध्ययन केन्द्र, ललितपुरको प्रस्तुति हो । त्यस्तै पाँचथर फिदिमको क्षितिज नाट्य समूहले प्रस्तुत गर्न लागेको नाटक ‘घरभित्रको अर्को घर’ जीवन बरालको निर्देशन तथा भरत गुरागाईंको लेखनमा तयार भएको हो ।

‘अमरसिंहको खोजीमा’, ‘विकास भर्सेस निकास’ र ‘कजरी’ क्रमशः तरङ्ग साँस्कृतिक परिषद हेटौँडा, रंगकला गोरखा र एम आर्ट थिएटर नेपालगञ्जले तयार गरेका नाटक हुन् । ‘अमरसिंहको खोजीमा’ उज्वल शर्मा भण्डारीले निर्देशन गरेका हुन् भने तुल्सी थापाले लेखेको हुन् । त्यस्तै ‘विकास भर्सेस निकास’ रामबाबु रेग्मीको लेखन तथा निर्देशन हो र ‘कजरी’ वीरेन्द्र हमालको लेखन तथा निर्देशन हो ।

देशभरबाट खुल्ला प्रतिस्पर्धाबाट नाटक चयन गरिएको यस महोत्सवमा सातै प्रदेशका नाटक समेट्ने प्रयास गरिए पनि सिमित श्रोत र साधनका कारण सम्भव नभएको प्रतिष्ठानकी नाट्य विभाग प्रमुख निशा शर्माले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप