बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द

बुधबार, ०४ असार २०७६, ०८ : ०२
बुधबार, ०४ असार २०७६

विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले आजबाट अस्पतालको बहिरङ्ग सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्द गरेको हो ।

सेवा बन्द हुँदा आजबाट अस्पतालमा जाँचका लागि आएका सयौँ बिरामी प्रभावित भएका छन् । कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने माग गरेका छन् ।

आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेका छन् । कर्मचारीले अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी शल्यक्रिया सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने मागसमेत राखेका छन् ।

विगत २०÷२५ वर्षदेखि दिँदै आएको सुविधा कटौती गरेपछि आन्दोलनमा उत्रिनु परेको पीडित कर्मचारी रञ्जन कायस्थले जानकारी दिनुभयो । उहाँले अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डा सुधा देवकोटाले मनोमानी ढङ्गले सेवा सुविधा काटेको आरोप लगाउँदै भने, “प्रशासन समक्ष पटकपटक यी सबै माग जानकारी गराउँदासमेत केही प्रतिक्रिया नदिएका कारण विकास समितिबाट सञ्चालित २४ जना कर्मचारी मिलेर आन्दोलन गर्न बाध्य भएका हौँ ।” अस्पतालका विकास समितिका अध्यक्ष मिलन सुवालले आन्दोनकारीले गरेका माग जायज भएको बताए ।

अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा देवकोटाले कर्मचारीले पाइरहेका सेवासुविधा नकाटेको यो सबै माथिको निर्णय हो । उनले भने, “अस्पतालमा कार्यरत सबैले स्थायी कर्मचारीले पाउने सेवा सुविधा सबै पाइरहेका छन् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप