ओली–प्रचण्डबीच छलफल, के भयो कुराकानी ?
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटमा पार्टी एकताका बाँकी कार्यभार तथा नेताहरुको कार्यविभाजनको बारेमा छलफलमा भएको हो ।
यसै विषयमा थप निर्णय लिन आजको बैठकले शनिबार पार्टीको सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै, लामो समयदेखि प्रकाशित हुन नसकेको राजनीति प्रतिवेदनलाई पनि प्रकाशित गर्ने सहमति दुई अध्यक्षबीच भएको छ ।
माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका थिए ।
प्रधानमन्त्री विदेश भ्रमण तथा व्यस्त कार्यतालिकाका कारण लामो समयदेखि पार्टीको बैठक बस्न सकिरहेको थिएन ।
दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो ।