शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सङ्गीत दिवसमा शास्त्रीय सङ्गीत उत्सव

बुधबार, ०४ असार २०७६, १५ : २३
बुधबार, ०४ असार २०७६

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर दुई दिने कार्यक्रमका साथ शास्त्रीय सङ्गीत उत्सव– २०७६ मनाउन लागेको छ ।

उत्सवअन्तर्गत असार ५ गते बिहीबार रूसी सांस्कृतिक केन्द्रको सभाकक्षमा ख्यातिप्राप्त सङ्गीतज्ञहरूद्वारा शास्त्रीय गायन, वाद्यवादन तथा नृत्यको प्रस्तुति गरिने छ । यस अवसरमा विश्वप्रसिद्ध स्त्रोत्र गायक पं. विपिन मिश्रले शङ्ख, डमरू र पखाबज वादनका साथ स्त्रोत्र गायन प्रस्तुत गर्नेछन् । शङ्ख र डमरू फगत धार्मिक आयोजनाहरूमा बजाइने वाद्य मान्ने गरिएको परिप्रेक्ष्यमा यस्ता वाद्ययन्त्रको सुर-तालबाट सुन्दर सङ्गीत सिर्जना गरी सङ्गीतप्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै आएका छन् ।

कार्यक्रममा शास्त्रीय सङ्गीतको क्षेत्रमा यथेष्ट ख्याति आर्जन गरेका बरिष्ठदेखि युवा कलाकारहरूसम्मको प्रतिनिधमूलक सहभागिता रहने छ । बरिष्ठ शास्त्रीय सङ्गीतज्ञ धनबहादुर गोपाली, गुरुदेव कामत, सङ्गीता प्रधान, डा. ध्रुवेशचन्द्र रेग्मी, ज्ञानुराधा गोर्खाली, डङ्कन चौधरी, जीवन आले, विकासनाथ योगी, रविनदास श्रेष्ठ, श्री केसी, सुरेश बज्राचार्य,सन्तोषभक्त श्रेष्ठ, मिलन-मिलेश, सुजाता वर्मा, जोनिशा पौडेल, नवराज सापकोटा, धनराज गुरुङ, परशुराम पौडेललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।

युवा नृत्याङ्गना सुजाता बरालको कत्थक नृत्यसमेत रहने उक्त कार्यक्रमको सञ्चालन शास्त्रीय सङ्गीतका निष्णात साधक डा. सीता थापाले गर्नेछिन् ।

उत्सवको दोस्रो दिन असार ६ गते शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाकक्षमा शास्त्रीय सङ्गीत सम्बन्धी विचारगोष्ठीको आयोजना गरिने छ । विचारगोष्ठीमा नेपालमा शास्त्रीय सङ्गीतको सम्भावना र चुनौती तथा शास्त्रीय सङ्गीतका गायनशैलीहरू विषयक कार्यपत्रहरू प्रस्तुत गरिने छन् ।

समग्र सङ्गीतको विकासमा शास्त्रीय सङ्गीतको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गरी शास्त्रीय सङ्गीतको प्रवर्द्धन तथा युवा पुस्तामा समेत यसलाई लोकप्रिय बनाउँदै लैजाने ध्येयका साथ शास्त्रीय सङ्गीत उत्सवको आयोजना गर्न लागिएको जनाइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप