शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जागरणले जगायो त काँग्रेस ?

बुधबार, ०४ असार २०७६, १५ : ३९
बुधबार, ०४ असार २०७६

–रविनचन्द्र कोइराला

नेपाली काँग्रेसले सात दशक पूरा गर्ने क्रममा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको छ । पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापनपश्चात अहिले लामो सास फेरेको छ । नेपाली काँग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्धान्त लोकतन्त्र र समाजवादका बाटोमा आमजनता र कार्यकर्तालाई अभिपे्ररित गर्न आवश्यक नै थियो ।

साथसाथै पछिल्लो महासमितिबाट पारित भएका नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहका कार्यकर्ता एवं शुभचिन्तकलाई जानकारी गराउनु जरुरी थियो । पार्टीमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता वृद्वि गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापी रूपमा जागरण गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु अत्यावश्क थियो । यस गरिमामय पार्टीको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा पुर्याउने र वर्तमान सरकारका भ्रष्टाचार लगायत कैयौँ जनविरोधी क्रियाकलापबारे जनस्तरमा लान पनि काँग्रेस गाउँसम्म पुग्नुपर्ने अवस्था थियो । 

तर नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान सुविधा सम्पन्न सहरहरूमा पार्टी प्यालेसमा सीमित रह्यो भने गाउँ घर विशेषगरी तराई मधेसका जिल्लामा प्रचुर गर्मीको कारणले न्यून कार्यक्रम र न्यून अपस्थिति रह्यो । अधिकांश केन्द्रीय नेताले जागरण अभियानको औचित्य बारे प्रश्न उठाए भने कार्यकर्ता माझमा जागरण नेताका लागि कि कार्यकर्तालाई आवश्यक भन्ने विषयले व्यापकता पायो । यस्ता कारणले राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम लक्ष्यअनुसार प्रभावकारी हुन सकेन ।

धरै जिल्लामा त केन्द्रबाट खटिएका प्रतिनिधिहरूलाई गुट र उपगुटका कारण विभाजित नेता तथा कार्यकर्तालाई एकै ठाउँमा राखी विवाद मिलाउन नै हम्मेहम्मे पर्यो । केही जिल्लामा त जागरण अभियान नभएर गुटको कार्यक्रम जसरी अभियान सन्पन्न भयो । आन्तरिक द्वन्द्व मिलाउन र सबैलाई खुशी पार्नुपर्ने बाध्यताले गर्दा पनि केन्द्रीय निर्देशन बमोजिम तोकिएको ढाँचा र वक्ताको मात्र सम्बोधन गर्नेगरी अभियान सञ्चालन गर्न सम्भव भएन । पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्ने बेलामा केन्द्रबाट पनि वक्ता र आसन ग्रहणसमेत तोकिएकाले कतिपय जिल्लामा पूर्वसभापति र पूर्वकेन्द्रीय सदस्यले समेत मञ्चासन नपाइएको अवस्था देखियो । 

साथै खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरू पनि निर्देशन बमोजिम पूरै समय जिल्लामा नबसी समुद्घाटन, जिल्ला समिति बैठक र समापनमा उपस्थित भएर निर्देशन दिएकाले पनि स्थानीय तहसम्म अभियानलाई प्रभावकारी रूपले सञ्चालन गर्न नसकिएको हो । अभियानको दौरान पनि तीन तहको निर्वाचनमा भएको घात अन्तरघातको तुसले अझैसम्म पनि काँग्रेसजनलाई नछाडेको देखियो भने कतै कतै त वादविवाद र गुटबीच मुठभेडसम्म पनि भयो । सकारात्मक सन्देश दिन सुरुवात गरिएको उक्त अभियानमा यस्ता घटनाले कार्यकर्ताको मनोबल बढाउन सकेन । मध्य गर्मीमा आयोजित अभियान अधिकांश जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिहरूलाई फलामको चिउरा नै  बन्न पुग्यो । जनताको मनमनमा पुग्ने लक्ष्यले अभिप्रेरित राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम सोचेअनुसार  सफल भने हुन सकेकोे देखिएन ।

मुलुक सङ्घीयतामा गइसकेको र सङ्घीय प्रणालीअनुसार तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । तर सङ्घीय संरचनाअनुसार पार्टी संरचना बनाउन नसक्दा पुरानै अवस्थामा पार्टी सङ्गठन रहेकाले पनि कायकर्ताहरूमा निराशा देखिन्छ । यसले गर्दा पनि राष्ट्रिय जागरण अभियान लक्षित वर्गसम्म पुग्न सकेन । महासमितिको निर्णयलाई आत्मसात गरी, केन्द्रीय कार्यसमिति बैठकबाट विधिसम्मत ढङ्गले अनुमोदन गरेर अभियान सञ्चालन गरेको भए जागरण अभियान अझै सफल हुनेमा दुई मत थिएन । प्रथम चरणको राष्ट्रिय जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने केन्द्रीय प्रतिनिधिहरू तथा जिल्ला सभापतिहरूको प्रशंसा गर्न पनि पार्टी नेर्तत्व पछि हट्नु हुन्न भने अभियान राम्रोसँग नभएका जिल्लाहरूलाई स्पष्टीकरण पनि सोधिनुपर्छ । 

पहिलो चरणको जागरण अभियानको बीचमै आएको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा प्रदेशलाई ६ र स्थानीय सरकारलाई १४ प्रतिशत बजेट छुट्याइनुले पनि वर्तमान सरकार सङ्घीयताप्रति इमानदार नभएको पुष्टि गर्छ । नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको यो सरकार संसदमा दुई तिहाई मत हासिल गर्न सफल भए पनि समग्रमा सङ्घीयता र गणतन्त्रप्रति प्रतिबद्व भने देखिएको छैन । यस्तो अवस्थामा काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।

नेपाली काँग्रेसलाई गतिशील बनाउन र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि ९ महिनाभित्र १४औँ महाधिवेशनको जरुरी छ । चार वर्षको कार्यकालमा तीन वर्ष तीन महिना समाप्त भइसकेको छ । महाधिवेशनको समयमै गरेर त्यस पछि हुने निर्वाचनका लागि चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैन । तीन वर्षमो गाउँ, नगरपालिकाको निर्वाचन आउन  भएकाले आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अघि केन्द्रीय कायसमितिमा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको सफलता र त्रुटिको घनिभूतरूपमा छलफल गर्नुपर्छ । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको  मिति तोकी अघि बढेमा काँग्रेसले गति लिन्छ, यदि यो भएन भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कर्मकाण्डमा मात्र सीमित रहन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप