बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ अन्त्य गरे वापत मैले सजाय पाएँ : जनार्दन शर्मा

‘रुकुमको बजेट रकमान्तर गरेर झापा लगियोस्’
बुधबार, ०४ असार २०७६, १६ : १५
बुधबार, ०४ असार २०७६

काठमाडौँ- सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले योजना पूर्व प्रि–बजेट भन्दा विस्तृत बजेटबारे सांसदको धारणा माग्नुपर्ने बताएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा सांसद शर्माले यस्तो धारणा राखेका हुन् ।

‘हामीले व्यर्थमा समय फालिरहेका छौँ । हामीले समयको दुरुपयोग गरिरहेका छौँ । संसदमा यत्रो समयको दुरुपयोग गर्नु जरुरी छैन । यो सिस्टम बदलौँ,’ उनले भने, ‘योजना पूर्व आउने प्रिबजेट भन्ने शीर्षकमा यसो दुइ–चार कुरा राख्यो । योजना पूर्व प्रिबजेट होइनकी विस्तृत बजेटबारे माननीयहरुका धारणा लिने, त्यसपछि बजेट बनाउने सिस्टमको विकास गरौँ । छलफल पछि नगरौं,बजेट प्रस्तुत हुन्छ, त्यही दिन पास गरौँ । यसो नगर्दा वाईयतमा समय खेर जाने हुनाले मैले यो सुझाव राखेको छु ।’

यस्तै सांसद शर्माले युवाहरुलाई विदेश पठाउने कुरा मात्र भएको भन्दै देशको शिर निहुरिएको बताए । ‘मैले भन्नै पर्छ । देशभर श्रम सहकारी गठन होला, तिनलाई तालिम दिइएला, साधन स्रोत दिइएला, अनि हजारौँ युवाहरुलाई काम दिइएला भन्ने सोचेको थिएँ । यस्तै हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेको थिएँ । अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था छ । देशको शिर निहुरिएको छ, म दुःखी छु । युवाहरुलाई विदेश पठाएर मात्र हुँदैन ।’

पूर्व उर्जामन्त्रीसमेत रहेका सांसद शर्माले उर्जा मन्त्रालयको बजेटप्रति पनि असन्तुष्टि जनाए । उनले भने, ‘आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य गरेँ  । त्यो गरेवापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भूल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अँध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’

झण्डै २ करोड बजेट रहेको तर यसले नपुग्ने भन्दै अर्को २ करोड थपिदिन उनले आग्रह गरे ।

मन्त्रालयगत रुपमा बजेटबारे धारणा राखेका सांसद शर्माले भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति पनि चर्को असन्तुष्टि जनाउँदै नेतामुखी बजेट बनेको बताए । सांसद शर्माले व्यंग्य गर्दै  भने, ‘२४० लेखेको छ । करोड हो कि लाख हो ?  २ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु । यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजान मेरो सुझाव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप