शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माइतीघरमा गुठी विधेयक विरुद्ध आन्दोलन: नेवा राज्यदेखि मेलम्चीको पानी सम्मको माग (भिडियो–रिपोर्ट)

बुधबार, ०४ असार २०७६, १७ : ५८
बुधबार, ०४ असार २०७६

काठमाडौं– आफ्नो मागबारे ध्यानाकर्षण गराउन अघिपछि हातमा प्ले कार्ड बोकेका सिमित संख्याका व्यक्तिहरु माइतीघर मण्डलाको किनारमा उभिन्थे । केहीबेर प्रदर्शन गर्थे र फर्किन्थे । तर बुधबार दिउँसोको दृश्य भने निकै फरक थियो । सरकारले राष्ट्रियसभामा दर्ता गरेको र हिजो मात्रै फिर्ता लिएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदायले माइतिघरमा सबैभन्दा ठूलो प्रदर्शन गरे । जसलाई कुनै राजनीतिक दलको नेर्तत्वविना स्वतस्फूर्त रुपमा आएको नेवार समुदायको सबैभन्दा ठूलो जुलुस थियो । 

केही साताअघि सोही स्थानमा सानो समूहले गुठी विधेयक फिर्ताको माग गर्दा प्रहरीले पानीको फोहोरा र लाठी बर्साएर दमन गरेको थियो । त्यही ठाउँमा बुधबार उनीहरुले सो विधेयक फिर्ता मात्र नभई पूर्ण रुपमा खारेजीको माग गर्दै आफ्नो शक्ति प्रर्दशन गरे । 

काठमाडौंको केन्द्रमा बस्ने नेवार समुदायदेखि काठमाडौंको छेउछाउ थानकोट, टोखा, साँखु, दक्षिणकाली, ललितपुरका पाटन, खोकना, बुङमति, बज्रबराही, कीर्तिपूर, भक्तपुरदेखि काभ्रेसम्मका नेवार समुदाय बृहत जुलुस प्रदर्शनका लागि माइतीघर आइपुगेका थिए । 

जुलुसमा सहभागीहरुले गुठी विधेयकको खारेजी माग गरिएको प्ले कार्ड मात्र बोकेका थिएनन्, उनीहरुले आफ्नो क्षेत्रको साँस्कृतिक झाँकी र परम्परालाई समेत ल्याएका थिए । कीर्तिपुर र ललितपुरको बज्रबाराहीबाट आएको समूहले लाखे नाचसहित विरोध गरेका थिए भने अन्य विभिन्न स्थानबाट आएका समूहले धिमे बाजा लगायतका साँस्कृतिक कलाको प्रयोगबाट विरोध गरेका थिए । 

गुठी विधेयकविरुद्ध बिशाल खबरदारी सभामा आन्दोलनको नेतृत्व गरेका विभिन्न नेवार समुदायका संस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले नेवार समुदायको सम्पदा, संस्कृतिलाई चलाउनुअघि ३ पटक सोच्नुपर्ने भन्दै गुठी बिधेयकलाई फिर्ता मात्र नभई खारेज गर्न माग गरे ।  आन्दोलनमा सहभागीहरुले गुठी विधेयकको साथै अन्य विभिन्न खालका माग पनि गरेका थिए ।   

नेवा राज्यको माग 

आन्दोलनमा सहभागी एक समूहले नेवा राज्यको समेत माग गरेको थियो । उनीहरुले सरकारको राजीनामा माग गर्दै नेवा राज्य कायम गर भन्ने नारा लगाएका थिए । साथै सोही किसिमको ब्यानर र प्ले कार्ड समेत बोकेका थिए । धिमे बाजासहित नेवा राज्य माग्नेले कुनै राजनीतिक दलको नारा भने लगाएका थिएनन् । 

मेलम्ची पानी छिटो दे
गुठी बिधेयक विरुद्धको खबरदारी सभामा सहभागीले मेलम्चीको पानी छिटो ल्याउन समेत माग गरेका थिए । जुलुसमा सहभागी समयबजी टिसर्ट लगाएको एक समूह गुठी बिधेयक खारेज गरी मेलम्चीको पानी दे भन्ने नारा लगाइरहेका थिए । उनीहरुको निरन्तर रुपमा सोही नारा घन्काइरहेका थिए ।  

प्रदर्शनकारीलाई करुवामा पानी 

चर्को घामको परवाह नगरी जुलुसमा सहभागीहरुको तिर्खा मेटाउन ठाँउ–ठाँउमा गाडीबाट जारको पानी वितरण भइरहेको थियो । थापाथली चोकदेखि माइतीघर मण्डलासम्म मिनि ट्रकबाट पानी वितरण भइरहेको थियो । एक ठाँउमा भने ढलौटको करुवाबाट पानी वितरण भइरहेको थियो । नारा लगाएर मुख सुकेकाहरु र तिर्खाएकाहरुले सजिलै तिर्खा मेटाउन पाएका थिए । 

धिमे र लाखे नाँच 

काठमाडौं शहरभित्र बसोबास गर्ने र शहरको आसपासका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले जुलुसमा सहभागी हुँदा आफ्नो सांस्कृतिक झाँकी पनि प्रस्तुत गरेका थिए । कीर्तिपूर, बज्रबाराही लगायतका नेवार समुदायले धिमे बाजासहित लाखे नाचका साथमा बिरोध प्रर्दशन गरेका थिए । अन्य विभिन्न स्थानबाट जुलुसमा सहभागीहरुले धिमे बाजा सहित सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

सडक विस्तार रोक्न माग 

गुठी विधेयक विरुद्धको आन्दोलन भएपनि काठमाडौं उपत्यकामा सडक विस्तारको क्रममा सडक छेउमा घर परेकाहरु पनि आन्दोलनमा सहभागी भएका थिए । उनीहरुले सडक विस्तारको नाममा सम्पदा मास्न पाँइदैन, सम्पदा बस्तिमा सडक विस्तार रोक्न माग गरिएको ब्यानर तथा प्ले कार्ड बोकेका थिए । 

प्रर्दशनपछि माइतीघर मण्डला सफाई 

प्रदर्शन सकिएर माइतिघर मण्डलामा जुलुस पातलो भएपछि एक समूह सरसफाईमा जुटेको थियो । हातमा सेतो पञ्जा लगाएका उनीहरुले प्रदर्शन स्थलमा जथाभावी छरिएका पानीका बोतल र कागज संकलन गरेका थिए । माइतिघरलाई फोहोरमुक्त पारेर उनीहरुले आफ्नो जुलुस सम्पन्न गरे । 
हेर्नुहोस भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप