बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्यमोदीको सुरुङ निर्माण पुनःसञ्चालन गर्ने सहमति

बुधबार, ०४ असार २०७६, २२ : ४४
बुधबार, ०४ असार २०७६

काठमाडौं-पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन १४.५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य एक महीनापछि शुरु भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजना र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका बीचमा क्षतिपूर्ति रकम थप गर्ने सहमति भएपछि अवरुद्ध निर्माण पुनःसञ्चालन भएको हो ।

क्षतिपूर्तिको रकम बढाउनुपर्ने माग गर्दै सुरुङ निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माण कार्य ठप्प परेका थिए । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बीचमा आज भएको छलफलमा प्राविधिक समितिले सिफारिश गरेको क्षतिपूर्ति रकममा २५ प्रतिशत वृद्धि गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिए ।

“प्राविधिक समितिले सिफारिश गरेको क्षतिपूर्ति रकममा २५ प्रतिशत वृद्धि गरी प्रभावित स्थानीयवासीलाई रकम दिने सहमति भएको छ”, प्रजिअ नेपालले भने, “क्षतिपूर्ति रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्नेछ, क्षतिपूर्ति रकम लिएपछि स्थानीयले अनिवार्यरुपमा आफ्ना घर मर्मत गर्नुपर्ने र निर्माणका क्रममा थप क्षति भएमा आयोजनाले क्षतिपूर्ति दिनुपर्ने सहमति पनि भएको छ ।”
 
आयोेजनाको दुई हजार ७०० मिटर लामो सुरुङ निर्माणका क्रममा बम विष्फोटन गर्दा घर संरचनामा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति मागेर स्थानीयवासीले सुरुङ निर्माण कार्यमा अवरोध पु¥याउँदै आएका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का ३० घरमा क्षति पुगेको प्रतिवेदन प्राविधिक समितिले दिएको थियो । यसअघि प्राविधिक समितिले क्षतिपूर्ति सिफारिश गरेको थियो तर प्रभावित क्षेत्रका बासिन्दाले प्राविधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका थिए । आयोजनाले भने घर निर्माणका क्रममा विष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानीय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिपोर्ट भूर्गभविद्ले दिएको दाबी गर्दै आएका थिए । 

पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ५०० मिटरभन्दा बढी सुरुङ निर्माण कार्य सकिएको छ । स्थानीयको पटकपटकको अवरोधले गएको मङ्सिरपछि निर्माण कार्य अघि बढ्न सकेको छैन ।  आयोजनाको  निर्माण कार्य  २०७१ मङ्सिरदेखि शुरु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप