शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न नपाउने: मन्त्री पण्डित

बिहीबार, ०५ असार २०७६, १३ : ३७
बिहीबार, ०५ असार २०७६

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताएका छन् ।  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले भने, ‘दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।’

मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गरे ।

उनले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले यहाँका स्थानीय तह र विदेशका स्थानीय तहको सेवा सञ्चालनको अभ्यासबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको जानकारी दिए । 

उनले सम्मेलनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भएको नीतिगत व्यवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल हुने बताए । सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ । 

सम्मेलनमा जापान, भारतबाट आएका स्थानीय तहका विज्ञले समेत आफ्नो अनुभव साटसाट गर्ने प्रतिष्ठानका व्यवस्थापक अधिकृत योगमाया सापकोटाले जानकारी दिइन् । सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप