शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘काँग्रेसले गुठी विधेयकबारे भ्रम फैलाउन खोजेको आरोप’

बिहीबार, ०५ असार २०७६, १३ : ३८
बिहीबार, ०५ असार २०७६

काठमाडौँ– सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरी सद्गौवाले नेपाली काँग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन् । 
प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर काँग्रेसले किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी पनि गरिन् । 
‘सामन्तवादी सोच भएका र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन । गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो’ उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठुलो ठेस पुगेको दावी समेत गरिन् ।
‘गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै खुल्ला मैदानबाट लाखौ गुठी पीडित भूमिहिन किसान भन्दै थिए ‘‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।’’
उनले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भईरहेको भन्दै रोष प्रकट गरिन् । सामन्तहरुको आँखा आफ्ना पुर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप चौधरीको छ । 
‘मानौ यो देश मालिकहरुको हो । यहाँ मालिकहरुको आदेशको पालना हुन्छ । यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ । किन कि यो देश मालिकहरुले नै चलाउने गर्छन । मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई विक्रि केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन् ?’ चौधरीको प्रश्न छ । 
बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारले लोकतान्त्रिक मुल्य र मान्यता कुल्चिदै गएको आरोप लगाए । 
सरकारले प्रतिनिधिसभामा आउनुपर्ने विधेयकलाई राष्ट्रियसभामा लगेको तथा सदनबाट नै फिर्ता लिनुपर्नेमा पत्रकार सम्मेलन गरिएकाले विश्वसनियतामा शंका उत्पन्न भएको बताए । 
स्वस्फुर्त रुपमा धर्म संस्कृति र परम्पराको रक्षाका लागि एकजुट भएको जनसभालाई सरकारले प्रतिगामीहरुको खेल देख्नु खेदपुर्ण भएको भन्दै जनताको भावनामा ठेस पुर्याउने काम नगर्न सरकारलाई सचेत गराए । 
गुठी विधेयक, सुचना विधेयक, मिडिया काउन्सिल , मानवअधिकार आयोग सम्बन्धी र राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक चरम विवादमा रहेको भन्दै उनले समयमै विवादित विधेयकबारे निकास खोज्न गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।सरकारले भ्रष्ट्राचारलाई मलजल गरेको गौतमको दाबी छ । 
राजपाका सांसद राजकिशोर यादवले संसद आफनो कर्तव्यबाट च्यूत भएको आरोप लगाए । 
 संविधान अनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उलंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारवाही गर्न नसकेको भन्दै उनले संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराए । जनप्रतिनिधिले दैनिक विभिन्न सरोकारका विषय उठाउने गरेको र जनप्रतिनिधिको आवाजको सम्बोधन नभईरहदा पनि सदनले त्यस तर्फ सरकारलाई जिम्मेवार बनाउन नसकेको यादवको भनाई छ ।
‘सदनमा सत्तापक्षकै जिम्मेवार नेताले अन्तराष्ट्रिय कारणले गर्दा यो मुलुकको भुगोल बदलिन सक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन । प्रधानमन्त्रीसंग प्रश्न सोध्दा प्रधानमन्त्रीले मुर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुदैन’ यादवको भनाई छ । 
बुधबार माईतीघर मण्डलाको जनसभाले मतादेश माथि जनादेशको बिजयी भएको देखाएकाले जनताले दिएको संकेतलाई समयमै बुझ्न सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप