शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

सोमबार, ०९ असार २०७६, ०८ : २९
सोमबार, ०९ असार २०७६

लियोनल मेस्सीको अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको अर्जेन्टिना समूह उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

अर्जेन्टिनाले चौथो मिनेटमा सुरुवाती अग्रता लिएको थियो । लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए । लौटारोले कतारका रक्षकको गल्तीमा पोस्ट नजिकबाट गोल गरे । ८२औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का बनाएका थिए । सर्जियोले पाउलो डिबालाको पासमा उत्कृष्ट गोल गरेका थिए । सन् २०२२ को विश्वकप आयोजक एसियाली टोली कतारलाई आमन्त्रण टोलीको रुपमा कोपामा सहभागी गराईएको हो । मैदानमा अर्जेन्टिनालाई कडा टक्कर दिएपनि कतारले गोल फर्काउन भने सकेन ।

यसैगरी सोमबार बिहानै भएको समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–०  गोलले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले ३१औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो । लगातार तेस्रो जित हात पारेको कोलम्बिया समूह विजेता बन्यो । कोलम्बियाले नौ अंक बनायो । उपविजेता अर्जेन्टिना चार अंक सहित दोस्रो स्थानमा रह्यो । दुई अंक बनाएको पाराग्वे तेस्रो स्थानमा रह्यो । एक अंकमा सिमित कतार पुछारमा रहँदै कोपाबाट बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप