दुई बुँदे सहमतिपछि मेलम्ची आयोजनाको काम सुचारु गर्ने सहमति
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काममा अवरोध गर्दै आएका स्थानीय ठेकेदारले २ बुँदे सहमतिपछि काम सुचारु गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकपछि सो सहमति जुटेको हो ।
छलफलमा अगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भूक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजना स्थलमा स्थानीयले अवरोध नगर्ने सहमति जुटेको हो ।
मेलम्ची खानेपानी आयोजनाको काम छोडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले रकम भूक्तानी गर्न बाँकी स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए ।
सोमबारको छलफलबाट सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले उनीहरुले पाउनुपर्ने भुक्तानीका बारेमा प्रतिवेदन तयार गर्नेछ ।
पछिल्लो पटक श्रेष्ठ कन्ट्रक्सनले काम गर्न गएपछि उनीहरुले काम गर्न नदिई फिर्ता पठाएका थिए । छलफल कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका निर्देशक सूर्यराज कँडेलले स्थानीयले उठाएका जायज मागको सम्बोधन गर्ने बताएका छन् । स्थानीय ठेकेदार तथा सप्लायर्सले आयोजनाबाट भूक्तानी पाउनुपर्ने रकम छिटो उपलब्ध गराउन आग्रह गरेको पत्रकार रामचन्द्र दुलालले जानकारी दिएका छन् ।
असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाई नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय ठेकेदार, कामदार तथा सप्लार्यसले चेतावनी दिएका छन् ।
मेलम्ची आयोजनामा देखिएको समस्या हटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, स्थानीय राजनीतिक दलका कार्यकर्ता, पत्रकार महासंघ सिन्धुपाल्चोकका प्रतिनिधि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी