बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न : प्रचण्ड

सोमबार, ०९ असार २०७६, २० : ०८
सोमबार, ०९ असार २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । 

नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए । 
 
निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए । 
 
पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ । उनले भने, ‘गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।’

जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ । उनले भने, ‘पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको हो ।’ 
 
पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उनले जानकारी गराए । 

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताए । 
 
सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो । 

अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उनले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको आवश्यकता औँल्याए । 
 
यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ । पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो । शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप