बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लवको छापामार शैली असफल पार्न प्रहरीको ‘भरपर्दो सुरक्षा रणनीति’

सोमबार, ०९ असार २०७६, २१ : १४
सोमबार, ०९ असार २०७६

काठमाडौं । गत जेठ १२ गते राजधानीको सुकेधारा र सिंहदरबारबाट केही किलोमिटर दूरीको घट्टेकुलामा बम विस्फोट हुँदा विप्लवकै ५ कार्यकर्ताको ज्यान गयो । 

त्यसको भोलिपल्ट आह्वान गरिएको बन्दका क्रममा ‘आतंक’ सिर्जना गर्ने उद्देश्यका साथ बम बनाउँदै गर्दा विस्फोट हुँदा सो घटना हुन पुगेको थियो । 

राजधानीमै विस्फोट गराएर आतंक सिर्जना गराउने गरी विप्लवका कार्यकर्ताले योजना बनाउँदै गर्दा प्रहरीले सुईँको समेत पाउन नसक्दा प्रहरीको अपराध अनुसन्धान र गुप्तचरी निकायमाथि नै प्रश्नचिन्ह समेत खडा भयो । 

यद्यपि अहिले प्रहरीले विप्लव समूहको गतिविधिमाथि निगरानीका साथै देशभरका प्रहरी युनिटलाई ‘हाइअलर्ट’मा राखेको जनाएको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युको बदलमा विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको अवस्थामा हुनसक्ने सम्भावित घटनालाई रोक्न देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै देशभरका प्रहरी युनिट हाइअलर्टमा रहेका हुन् । 

बन्दका क्रममा हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले रातोपाटीलाई बताए । 

नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी समेत गरेको छ । सँगसँगै आपराधिक घटना नियन्त्रणका लागि उपत्यकाको सुरक्षा रणनीति परिवर्तन गरिएको बताइएको छ । 

विप्लव समूहको बन्द असफल पार्न सरकारले ‘सुरक्षा रणनीति मार्गदर्शन’ समेत तयार पारेको बुझिएको छ । 

विप्लव समूहले आह्वान गरेको बन्दलाई मध्यनजर गर्दै उपत्यका केन्द्रीत भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । 

विप्लव समूहले छापामार शैलीमा आपराधिक गतिविधि सञ्चालन गर्न थालेपछि त्यसलाई रोक्न प्रहरीले भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरेको उनको भनाई छ । 

यस्तै उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहने बताइएको छ । सादा पोसाकमा खटिएका सुरक्षा अधिकारीले शंस्कास्पद स्थान र गतिविधिमाथि निगरानी बढाउनेछ । 

यसैगरी केन्द्रको समन्वयमा सातवटै प्रदेशको सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ । 

प्रदेश १ 
प्रदेश १ मा सादा पोसाकका सुरक्षाकर्मी बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरीका अनुसार बन्द असफल पार्न अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई ‘अन दि स्पट’ पक्राउ गर्न आदेश छ । 

बन्द गर्न खोज्नेलाई तुरुन्त पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रदेश २ 
विप्लव नेतृत्व नेकपाले आह्वान गरेको अहिलको बन्द असफल पार्न प्रहरीले जुनसुकै कदम चाल्न सक्ने प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रदेश २ मा अपराधिकि गतिविधि गर्न खोज्नेहरूप्रति नेपाल प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताइएको छ । 

प्रदेश ३ 
प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको निर्देशनअनुसार ३ नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले जानकारी दिए ।

डीआईजी बस्नेतले भने, ‘जनतालाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति दिन्छौ । कहीँकतै मसाल जुलुस निकाल्न पनि दिन्नौं ।’

प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको बैठक बसेर कानुनी प्रहरी परिचालन गरिएको उनले बताए ।

स्रोतका अनुसार उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहने बताइएको छ । 

गण्डकी प्रदेश 
अपराधिक विरोधी गतिविधिलाई नियन्त्रण गर्न गण्डकी प्रदेशको सुरक्षा निकाय ‘हाइ अलर्ट’ अवस्थामारहेको गण्डकी प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । 

सुरक्षा निकायले गण्डकी प्रदेशका अतिसंवेदनशील रसंवेदनशील जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको डीआईजी घिमिरेको भनाई छ । 

उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर अघि बढ्ने बताए । हिंसात्मक गतिविधि नियन्त्रण गर्न ति पार्टीका चिनिएका नेता र कार्यकर्तालाई नियन्त्रणमा लिन आजै रातीबाट सुरु गरिने डीआईजी घिमिरेले बताए । 

प्रदेश ५ 
५ नम्बर प्रदेशको १२ वटै जिल्लामा प्रहरी एग्रेसिभ भएर सुरक्षामा खटिने प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले रातोपाटीलाई बताए । 

‘सुरक्षाको लागि व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं,’ डीआईजी शाहले भने, ‘मुख्यतः हाइवे क्षेत्रमा प्रहरीको निगरानी बढ्छ ।’

सो पार्टीका कार्यकर्ता÷नेताले हिंसात्मक र तोडफोडका कार्यलाई निरन्तरता राखे आजैदेखि नियन्त्रणमा लिन सुरु गरिने पनि उनले बताए ।

कर्णाली प्रदेश 
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी महेश विक्रम शाहले सबै हिसाबले कर्णाली प्रदेश मातहतका जिल्लामा प्रहरी परिचान गरिने जानकारी दिए । 

‘सम्भावित ठाउँहरुमा मुख्य निगरानी हुन्छ,’ डीआईजी शाहले भने, ‘जस्तै गाउँपालिका, वडा कार्यालय, ठूला–ठूला उद्योगहरुमा प्रहरीको विशेष निगरानी हुन्छ ।’

आज राती १२ बजेबाट नै मुभेन्ट बढ्ने उनले बताए । 

सुदूरपश्चिम प्रदेश 
सुरक्षाको पूर्ण ग्यारेन्टीका साथ यातायात र पसल खुलाउने प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

बन्द असफल बनाउन स्कर्टिङ गरी यातायात सञ्चालन गर्नुका साथै राजमार्गमा हतियारसहित सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

तीन घेरामा सुरक्षा रणनीतिअन्तर्गतसशस्त्र प्रहरी र सेनाको गस्ती बढाइनेछ ।

विप्लव समूहको गतिविधि आपराधिक बनेको भन्दै सरकारले उक्त समूहलाई गत चैतमा आपराधिक समूह घोषणा गर्दै राजनीतिक गतिविधिमा रोक लगाएको थियो । 

त्यसयता विप्लव समूहका दुई कार्यकर्ताको प्रहरी भिडन्तामा मृत्यु भएको छ भने ५०० को हाराहारीमा पक्राउ परिसकेका छन् । यद्यपि विप्लव समूहले आफ्ना दुई कार्यकर्ता भिडन्तमा मारिएको नभई हत्या भएको दाबी गर्दै आएको छ । 

यही विषयलाई लिएर सत्तारुढ दलका केही नेता र प्रतिपक्षी दलले प्रश्न उठाइरहेको बेला विप्लव समूहले घटनाको विरोधमा मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । 

विप्लव समूह र सुरक्षा निकालको बढ्दो तनावलाई लिएर सर्वसाधारणमा त्रास उत्पन्न भइरहेको आह्वान गरिएको बन्दमा दुबै पक्षले उत्तिकै संयमता अपनाउन जरुरी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप