बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी हुन्छ नक्कली भ्याट बिलबाट कर छली

नक्कली भ्याटबिलबाट कर छली गर्ने ३२ कम्पनीविरुद्ध मुद्दा
मङ्गलबार, १० असार २०७६, ११ : ४५
मङ्गलबार, १० असार २०७६

काठमाडौं–हालसम्म नक्कली भ्याट बिल बनाएर कर छली गर्ने करिब एक सय कम्पनी रहेको राजस्व अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ  । अनुसन्धान गरेका मध्ये ३२ वटा कम्पनी दोषी ठहरिएरका छन् । उनीहरुविरुद्ध अदालतमा मुद्दासमेत दर्ता भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जनाए । 

यद्यपि, मैनाली पछिल्लो समय नक्कली भ्याट बिल ठगी गर्ने क्रम रोकिएको उनको दाबी छ ।

 एक सय कम्पनीमा गरिएको अनुसन्धानबाट साढे सात अर्ब छली भएको विभागले जनाएको छ । 

अहिलेसम्म जेजति मुद्दा दर्ता भए वा अनुसन्धान चलिरहेका छन्, ती सबै पुराना केस रहेको महानिर्देशक मैनाली  बताउँछन् । 

विभागले हालै मात्र भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम बनाएकाले अब यस्ता छली रोकिने बताइएको छ  ।  यो नयाँ सफ्टवेयर प्रणाली हो । 

पहिला कारोबार गरेको भन्दै बिल तथा कागज बनाएर फाइलमा राखिन्थ्यो भने यो प्रणाली सुरु भएसँगै अब अनलाइनमा कारोबार प्रविष्ट गरेर मात्र कारोबारको विवरण राख्न सकिन्छ । हाल परीक्षणको रूपमा रहेको यो सफ्टवेयर आगामी साउनदेखि कार्यान्वयनमा आउने छ । 

उदाहरणका लागि  यदि कुनै व्यवसायीले ५० लाख बराबरको सामान बिक्री गरेको छ भने त्यो समान कहिले किनेको, कुन गाडीबाट ल्याएको भनेर त्यसको विस्तृत विवरण अनलाइन सिस्टममा राखिन्छ । यसले नक्कली भ्याट बिल बनाएर राजस्व छली गर्नेक्रम रोकिने विभागको विश्वास छ । 

यसरी हुन्छ नक्कली भ्याट बिल बनाएर कर छली 
नक्कली भ्याट बिल बनाउने गिरोहले सोझा र केही थाहा नभएका व्यक्तिको नागरिकता लिएर कम्पनी र बैङ्क खाता खोल्ने गरेको अनुसन्धानले देखाएको छ । 

महानिर्देशक मैनाली भन्छन्, ‘केही नजानेको मानिसको नाममा कम्पनी दर्ता हुन्छ । त्यसपछि भ्याटमा दर्ता हुन्छ, बैङ्कको खाता पनि खोलिन्छ तर बैङ्कको चेकमा हस्ताक्षर गर्ने अधिकार त्यो सोझो मान्छेमा नभई आफैले राख्छ । जस्तै ए भन्ने कम्पनीले १० लाख रूपैयाँ भ्याट तिर्नुपर्ने छ । तर उसले १० लाख नतिर्नको लागि एक करोडको कारोबार भएको खरिद बिलबाट देखाउँछ । 

एक करोडको खरिद गरेर १३ लाख तिरेँ भनेर देखाउँछ, यसले १० लाख भ्याट तिर्नुपर्नेले १३ लाख तिरेको देखाएर उल्टो ३ लाख सरकारसँग फिर्ता माग्छ ।’  

कुनै पनि सामान बिक्री गर्नका लागि खरिद गरेको हुनुपर्छ तर वास्तविक खरिद बिक्री भएकै हुँदैन बिलमार्फत खरिद बिक्री देखाइन्छ भने त्यो भ्याट विलबाट कर छल्ने प्रवृत्ति हो ।

निकै सामान्य व्यक्तिलाई प्रयोग गरेर उनीहरूलाई केही प्रतिशत दिने लोभमा पारेर यस्ता छलीहरु हुने गरेको देखिन्छ । 

नक्कली भ्याट बिल बनाएर किनेको ५०० जति हुनसक्ने विभागको अनुमान थियो तर अहिले साढे सात सय पुगेको छ ।

 मैनालीका अनुसार हरेक दिन जसो २, ३ वटा जति नक्कली भ्याट बिलबाट कर छली गरेको पुराना  केस आउने गरेका छ । 

नक्कली भ्याट बिलबाट कर छली गरेको यसरी थाहा हुन्छ 
नक्कली भ्याट बिल बनाएर कर छली गरेको तत्काल थाहा पाउन कठिन छ । तर शङ्का लाग्नेले सोही बेला उसलाई छानबिन गर्दै जान सक्थ्यो । पूर्णतया प्रमाण फेला नपारी

शङ्का लाग्नेवित्तिकै कुनै पनि व्यक्ति वा कम्पनीमाथि तैँले कर छली गरिस् भनेर भन्न सक्ने अवस्था रहँदैन ।

 यसले गर्दा प्रक्रिया निकै लामो हुन्छ । खरिद बिक्री गरेको छैन भन्ने शङ्का लाग्यो भने त्यस्ता फर्म वा कम्पनीलाई ट्र्याकिङ गर्दै जानुपर्ने हुन्छ । 

उसको बैङ्क अकाउन्ट ट्र्याक गर्न समय लाग्छ । त्यसपछि बल्ल एउटा बिल फेला पर्छ । कसले कारोबार गर्दो रहेछ भनेर चेक साइन गर्ने मान्छे खोजिन्छ । सो व्यक्तिलाई समाएर कोसँग कारोबार गरिस् भनेर

सोधेपछि बल्ल थाहा हुन्छ र नक्कली भ्याटबिल जारी गरेर ठगेको प्रमाण भेटिएपछि विभागले अदालतमा मुद्दा दायर गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप