शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्यः मन्त्री पोखरेल

मङ्गलबार, १० असार २०७६, १२ : ४४
मङ्गलबार, १० असार २०७६

बर्दिबास– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
 
आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, शिक्षक र विद्यार्थीलाई मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । सो माविमा कृषि विषयको पठनपाठनका लागि मन्त्री पोखरेलकै सिफारिसमा संसदीय विकास कोषबाट रु ७० लाखको लागतमा नयाँ भवन बन्दैछ ।

स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीसँगको कुराकानीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार नगरिएसम्म आम जनताका छोराछोरीले रोजगारमूलक गुणस्तरीय शिक्षा पाउन नसक्ने बताए । अहिले १० वर्षे विद्यालय सुधारको कार्यक्रम नै बनाएर सरकार अघि बढेको मन्त्री पोखरेलले जानकारी दिए ।
 
मन्त्री पोखरेलले नयाँ भवनमा कृषि शिक्षासम्बन्धी प्रयोगशाला रहने बताए । विद्यालय सुधार कार्यक्रमअनुसार नै अब कक्षा ८ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाउन लागिएको उनको भनाइ थियो । आठ कोठे दुईतले भवन निर्माण भएपछि आउने शैक्षिक सत्र २०७७ को पठनपाठन नयाँ भवनमा शुरु गरिने विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप