बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाको बार्षिक बजेट ५ अर्ब १७ करोड

मङ्गलबार, १० असार २०७६, १६ : ४७
मङ्गलबार, १० असार २०७६

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्व १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।  मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गरेका हुन् ।

नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढि पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासका लागि २ अरव ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो ।  मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिए । 

त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अरव १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत हो । सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ ।  मेयर महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको स्पष्ट पारे ।

उनले बजेटमा पर्यटन विकासको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको पनि बताउन भयो । त्यसैगरी दीगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्यूनिकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरिएको छ । 

बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्यूनिकरणलाई पनि प्राथमिकतामा राखिएको पनि मेयर महर्जनले बताए ।  ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’  निर्माण गर्ने घोषणा पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप