बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी पूर्णता पाए नेकपाका जिल्ला कमिटीले, कुन जिल्लामा कति सदस्यीय कमिटी बन्यो ?

केही जिल्ला अध्यक्षको जिम्मेवारी हेरफेर हुँदै
बुधबार, ११ असार २०७६, ०९ : ३८
बुधबार, ११ असार २०७६

काठमाडौं– तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको ११ महिनापछि वैशाख १० मा  जिल्ला नेतृत्वको टुङ्गो लागेको थियो । जिल्ला नेतृत्वको टुङ्गोपछि नेकपाका अधिकांश जिल्ला कमिटीले पनि पूर्णता पाएका छन् । केही जिल्ला कमिटीका सदस्यले शपथ पनि लिइसकेका छन् भने केही जिल्ला कमिटीले अझै पूर्णता पाएका छैनन् ।

वैशाख ९ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको थियो । जिल्ला नेतृत्व बाँडफाँटमा तत्कालीन एमालेबाट ४३ र तत्कालीन माओवादीबाट ३४ जनाले जिल्ला अध्यक्ष पाएका थिए । यसमा तत्कालीन एमालेले नेतृत्व पाएको ठाउँमा तत्कालीन माओवादीले सचिव र तत्कालीन माओवादीले नेतृत्व पाएको ठाउँमा तत्कालीन एमालेले सचिवको जिम्मेवारी पाएका थिए ।

एकीकरण प्रक्रियामा सबै पक्षको भावना समेट्ने उद्देश्यले जिल्ला तहमा एकीकरणका मापदण्ड बनेको थियो । जनप्रतिनिधिको जिम्मेवारीमा रहेका व्यक्ति पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारी रहन सक्ने, साविक एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका प्रमुख सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहन सक्ने गरी मापदण्ड तय गरिएको थियो । यही मापदण्डअनुसार जिल्ला कमिटीलाई पूर्णता दिइएको हो ।

नेकपाले एकता प्रक्रियामा विलम्ब भए पनि सर्वसम्मतिका साथ पदाधिकारीसहित जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको थियो । यसै निर्णयअनुसार ६ वटा प्रदेशका अधिकांश जिल्ला कमिटीले पूर्णता पाएका हुन् । तर प्रदेश २ मा भने कुनै पनि जिल्ला कमिटीले पूर्णता पाएका छैनन् ।

जिल्ला कमिटीलाई पूर्णता दिनेक्रममा साविक जिल्ला कमिटीका सदस्य रहने, कमिटीमा सदस्य सङ्ख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम सदस्यमध्येबाट थप्ने मापदण्डअनुसार जिल्ला कमिटीका सदस्य चयन भएका छन् । साविक जिल्ला कमिटीको सदस्य सङ्ख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम सदस्यलाई जिल्ला कमिटीमा सङ्गठित गरेका छन् ।

नेकपाको जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिश गरेबमोजिमको सदस्य सङ्ख्या नै रहेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १३५ सदस्यीय जिल्ला कमिटी बनेको छ । दुई वा सोभन्दा माथि निर्वाचन क्षेत्र रहेको जिल्लामा सो सङ्ख्यामा दस जनाको सङ्ख्या बढ्दै जाने मापदण्डका आधारमा जिल्ला कमिटीले पूर्णता पाएका हुन् ।

कुन जिल्लामा कसको नेतृत्वमा कति सदस्य छन् ?

प्रदेश नं. १– एक जिल्ला टुङ्गिन बाँकी

ताप्लेजुङ जिल्ला कमिटीको अध्यक्षमा विजय बनेम र सचिवमा बलबहादुर साम्सोहाङको नेतृत्वको १३५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको छ । त्यस्तै पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी र सचिवमा होमप्रसाद जवेगुको नेतृत्वमा १३५ सदस्यीय जिल्ला कमिटी, इलाम अध्यक्षमा राम राना र सचिवमा सोममाया राईको नेतृत्वमा १४५ सदस्यीय, झापा अध्यक्षमा चिन्तन पाठक र सचिवमा मणिकुमार साङपाङको नेतृत्वमा १७५ सदस्यीय, मोरङ अध्यक्षमा विनोद ढकाल र सचिवमा गोपीबहादुर अछाम १८५, सुनसरी अध्यक्षमा योगेन्द्र मण्डल र सचिवमा रमेश बस्नेत १६५, धनकुटा, अध्यक्षमा राजेन्द्र राई र सचिवमा ऋषिराम ढुङ्गाना १३५, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सविचमा इन्द्रबहादुर इमसुङ १३५, सङ्खुवासभा अध्यक्षमा हेमराज अधिकारी र कृष्ण याख्या १३५, भोजपुर अध्यक्षमा प्रेमकुमार राई र सचिवमा विमल खड्का १३५, खोटाङ अध्यक्षमा देवान चामलिङ र सचिवमा बबी चामलिङ १३५, सोलुखुम्बु अध्यक्षमा मानवीर राई र सचिवमा गोम्बु शेर्पा १३५, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा मोहन श्रेष्ठको नेतृत्वको १३५ सदस्यीय जिल्ला कमिटी टुङ्गिएको छ ।

तर उदयपुर जिल्ला भने अझै टुङ्गिएको छैन । यो जिल्लाको अध्यक्षमा विनोद कटुवाल र सचिवमा ईश्वरमणि राउतको नेतृत्वमा १४५ सङ्ख्याको जिल्ला कमिटी बन्नेछ । अन्य जिल्ला टुङ्ग्याएको र यो जिल्ला पनि केही दिनमा टुङ्ग्याउने प्रदेश सहइन्चार्ज सावित्री कुमार काफ्लेले बताए ।

प्रदेश नं. २ 

यो प्रदेशको भने कुनै पनि जिल्ला कमिटीले पूर्णता पाएको छैन । प्रदेश सहइन्चार्ज विश्वनाथ शाहका अनुसार यो प्रदेशका सबै जिल्ला कमिटीले केही दिनमा पूर्णता पाउने बताए । ‘हामी छलफलमै छौँ । अब एक वा दुई दिनमा सबै जिल्ला कमिटीलाई पूर्णता दिने गरी काम गरेका छौँ’, उनले भने । यो प्रदेशअन्तर्गत सप्तरी जिल्ला अध्यक्षमा अशोक मण्डल र सचिवमा गोविन्द न्यौपाने, सिरहा अध्यक्षमा रामकुमार यादव र सचिवमा प्रमोदनारायण यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव र सचिवमा श्रवण यादव, महोत्तरी अध्यक्षमा राजु खड्का र सचिवमा सौकिलाल यादव, सर्लाही अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्ले, रौतहट अध्यक्षमा कमल यादव र सचिवमा युवराज भट्टराई, बारा अध्यक्षमा छत्रबहादुर श्रेष्ठ र सचिवमा सुन्दर विश्वकर्मा, पर्सा जिल्ला कमिटीको अध्यक्षमा प्रभु हजारा र सचिवमा विजय महतोको नेतृत्वमा जिल्ला कमिटी रहने छ । 

प्रदेश नं. ३ – दुई जिल्ला टुङ्गिन बाँकी

यो प्रदेशअन्तर्गत चितवन जिल्ला कमिटी अध्यक्षमा यमबहादुर परियार र सचिवमा कृष्णभक्त पोखरेलको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको छ । यस्तै मकवानपुर जिल्ला अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम पुलामीको नेतृत्वमा १५५, धादिङ अध्यक्षमा भूमि त्रिपाठी र सचिवमा शालिकराज जम्कट्टेलको नेतृत्वमा १४५, नुवाकोट अध्यक्षमा, हीरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा नेतृत्वमा १४५, रसुवा जिल्ला कमिटीको अध्यक्षमा कन्र्याल तामाङ र सचिवमा इन्द्र गोतामे नेतृत्वको १३५, सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा झमक नेपाल र सचिवमा दावा तामाङ नेतृत्वको १४५, दोलखा, अध्यक्षमा ईश्वरचन्द्र पोखरेल र सचिवमा गोपाल पाण्डेको नेतृत्वमा १३५, रामेछाप अध्यक्षमा मदनकुमार तामाङ र सचिवमा शान्तिप्रसाद पौडेलको नेतृत्वमा १३५, सिन्धुली जिल्ला अध्यक्षमा राजन दाहाल र सचिवमा प्रदीप कटुवालको नेतृत्वमा १४५, भक्तपुर अध्यक्षमा वचनबहादुर देउवा र सचिवमा डीपी ढकालको नेतृत्वमा १४५, काठमाडौँ अध्यक्षमा कृष्ण राई र सचिवमा हिमाल शर्माको नेतृत्वको २२५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको छ ।

तर ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाले भने अझै पूर्णता पाएका छैनन् । प्रदेश सह–इन्चार्ज नारायण दाहालका अनुसार यी दुई जिल्लाले छिट्टै पूर्णता पाउने बताए । उनका अनुसार ललितपुर जिल्लामा लगभग टुङ्गिएको भए पनि प्रदेश पदाधिकारीको व्यस्तताका कारण औपचारिक रूपमा टुङ्ग्याउन नपाएको बताए । तर काभ्रे जिल्ला कमिटीमा भने विवाद पैदा भएको छ । केनद्रले टुङ्ग्याएबमोजिम ललितपुर जिल्ला अध्यक्षमा हरिकृष्ण व्यञ्जनकार र सचिवमा राजकाजी महर्जनको नेतृत्वमा १५५ सदस्यीय र काभ्रेपलाञ्चोक अध्यक्षमा रुकु चौलागाईं र सचिवमा टोकबहादुर वाइबाको नेतृत्वमा १४५ सदस्यीय जिल्ला कमिटी बन्ने छ ।

गण्डकी प्रदेश

यो प्रदेशअन्तर्गत कास्की जिल्ला कमिटीको अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमुको नेतृत्वको १५५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको छ । त्यस्तै तनहुँ जिल्ला अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकिशरी न्यौपानेको नेतृत्वमा १४५, लमजुङमा मधु अधिकारी र धनञ्जय दवाडीको नेतृत्वमा १२५, गोरखा अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङको नेतृत्वमा १४५, म्याग्दीमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठको नेतृत्वमा १३५, मुस्ताङ जिल्ला अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्यनारायण शेरचनको नेतृत्वमा १३५, मनाङ अध्यक्षमा पाल्तेन छोयान गुरुङ र सचिवमा बेदबहादुर गुरुङको नेतृत्वमा १३५, बाग्लुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गैरेको नेतृत्वमा १४५, पर्वत अध्यक्षमा पदम गिरी र सचिवमा सुदीप कुँवरको नेतृत्वमा १३५, स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे र सचिवमा मीनबहादुर गुरुङको नेतृत्वमा १४५, नवलपरासी (पूर्व)को अध्यक्षमा रोशन गाहा र सचिवमा मित्रशरण शर्माको नेतृत्वमा १४५ सङ्ख्याको जिल्ला कमिटीले पूर्णता पाएको प्रदेश अध्यक्ष हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार यो प्रदेशका सवै जिल्ला कमिटीका सदस्यहरुले शपथसमेत लिइसकेका छन् ।

प्रदेश नं ५

रोल्पा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र घर्ती र सचिवमा हरिप्रसाद घर्तीको नेतृत्वमा १३५, रुकुम (पूर्व) अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा सतमान पुनको नेतृत्वमा १३५, प्यूठान अध्यक्षमा तुलसीराम शर्मा र सचिवमा नारायण अधिकारी नेतृत्वको १३५, अर्घाखाँची अध्यक्षमा चेतनाराण आचार्य र सचिवमा ठाकुर विश्वकर्मा नेतृत्वमा १३५, गुल्मी, अध्यक्षमा मधुकृष्ण पन्त र सचिवमा वीरबहादुर कार्कीको नेतृत्वमा १४५, पाल्पा अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापाको नेतृत्वमा १४५, नवलपरासी (पश्चिम) अध्यक्षमा भविश्वर तिवारी र तुलसी पासीको नेतृत्वको १४५, रूपन्देही जिल्ला अध्यक्षमा शिवराज सुवेदी र सचिवमा दधिराम न्यौपानेको नेतृत्वमा १७५, कपिलवस्तु अध्यक्षमा झविलाल पोख्रेल र सचिवमा रामचन्द्र शाहको नेतृत्वमा १५५, दाङ अध्यक्षमा टीकाराम खड्का र सचिवमा तुलसीराम पुनको नेतृत्वमा १५५, बाँके अध्यक्षमा आईपी खरेल र सचिवमा अशोक कोइरालाको नेतृत्वमा १५५ र बर्दिया जिल्ला कमिटी अध्यक्षमा भवनकुमार थारु र सचिवमा हरि ज्ञवालीको नेतृत्वको १४५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको प्रदेश अध्यक्ष ओनसरी घर्तीमगरले जानकारी दिइन् ।

कर्णाली प्रदेश

यो प्रदेशअन्तर्गत सुर्खेत जिल्ला कमिटी अध्यक्षमा ध्रुव शाही र सचिवमा कृष्णबहादुर जिसी नेतृत्वमा १४५, दैलेख अध्यक्षमा रवीन्द्र शर्मा र सचिवमा प्रेम कटुवाल नेतृत्वमा १४५, जाजरकोट अध्यक्षमा ढकवीर राना र सचिवका करवीर शाही नेतृत्वमा १३५, रुकुम (पश्चिम) अध्यक्षमा गोपाल शर्मा र सचिवमा विलम पुनको नेतृत्वमा १३५, सल्यान अध्यक्षमा गोविन्द पुन र सचिवमा कर्णबहादुर बुढा नेतृत्वमा १३५, जुम्ला अध्यक्षमा वीरबहादुर कुँवर र सचिवमा तीर्थबहादुर बुढा नेतृत्वको १३५, कालीकोट अध्यक्षमा धनजित शाही र सचिवमा नागिन्द्र शाही नेतृत्वको १३५, हुम्ला अध्यक्षमा लालकेश जैसी र सचिवमा दल रावल नेतृत्वको १३५, डोल्पा अध्यक्षमा दत्तबहादुर रोकाया र सचिवमा मालबहादुर रोकाया नेतृत्वको १३५, मुगु जिल्ला कमिटीको अध्यक्षमा सुरवीर बुढा र सचिवमा धर्मबहादुर शाहीको नेतृत्वमा १३५ सदस्यीय जिल्ला कमिटी रहेको प्रदेश सहइन्चार्ज यामलाल कँडेलले बताए । उनका अनुसार यो प्रदेशमा ३ जिल्ला कमिटीका सदस्यहरुले शपथ लिइसकेका छन् । बाँकी जिल्लाहरुको शपथ कार्यक्रम केही दिनमा हुने उनले बताए ।

सुदूरपश्चिम प्रदेश

यो प्रदेशअन्तर्गत दार्चुला जिल्ला कमिटीको अध्यक्षमा गणेशसिंह खत्री र सचिवमा रामदत्त जोशीको नेतृत्वमा १३५ सदस्यीय जिल्ला कमिटीले पूर्णता पाएको छ । यस्तै बैतडी जिल्ला अध्यक्षमा सुरेन्द्र पाल र सचिवमा प्रेम भट्टको नेतत्वको १३५, डडेल्धुरा अध्यक्षमा मानसिंह माल र सचिवमा तारा जोशीको नेतृत्वको १३५, बाजुरा अध्यक्षमा कालुबहादुर शाही र सचिवमा भरतबहादुर बुढाको नेतृत्वको १३५, बझाङ अध्यक्षमा मीनबहादुर कुँवर र सचिवमा दिलबहादुर सिंह नेतृत्वको १३५, अछाम अध्यक्षमा शेरबहादुर कुँवार र सचिवमा झपट साउँद नेतृत्वको १४५, डोटी अध्यक्षमा चक्रबहादुर मल्ल र सचिवमा शैलेन्द्र विश्वकर्माको नेतृत्वको १३५, कैलाली अध्यक्षमा रतन थापा र सचिवमा लालबहादुर सोडारीको नेतृत्वको १७५, कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा वीरबहादुर थापा र सचिवमा तारा लामाको नेतृत्वमा १५५ सङ्ख्याको जिल्ला कमिटीले पूर्णता पाएको प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

तर केही जिल्ला अध्यक्षको जिम्मेवारी हेरफेर हुँदै

जिल्ला कमिटीको एकता प्रक्रिया मिलाउँदा जिल्ला सचिवमा घटुवामा परेका केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गर्ने तयारी नेतृत्वले गरेको छ । जिल्ला कमिटीको एकता गर्दा अपनाइएको नयाँ मापदण्डका कारण नौ केन्द्रीय सदस्य जिल्ला कमिटीको सचिव पदमा झरेका थिए, जसमा तत्कालीन माओवादीका आठ र तत्कालीन एमालेका एक जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका थिए । ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाउँदा केन्द्रीय कमिटीका ६ जना जिल्ला अध्यक्ष र ९ जनालाई जिल्ला सचिवको भूमिका दिएको थियो । त्यसमध्ये मोरङ र काठमाडौँका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका थिए । रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ र रूपन्देही गरी ६ जिल्लाका अध्यक्ष केन्द्रीय समितिमा छैनन् तर सचिव केन्द्रीय समितिमा छन् ।

केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेमा तत्कालीन माओवादीतर्फका युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौँ), दधिराम न्यौपाने (रूपन्देही) र शालिकराम जम्मकट्टेल (धादिङ) ले जिल्ला सचिवको जिम्मेवारी पाएका थिए ।

तत्कालीन एमालेका तर्फबाट प्रमोदनारायण यादव (सिरहा) सचिवमा घटुवा भएका थिए । यी नेताहरुले (काठमाडौँ र मोरङबाहेक) आफूभन्दा कनिष्ठ अध्यक्षको मातहत रहेर काम गर्नुपर्ने अवस्था आएपछि अफ्ठ्यारो फुकाउन भन्दै नेताहरुलाई माग गरेका थिए । सोहीअनुसार केन्द्रीय सदस्य नभएको जिल्ला अध्यक्षको मातहतमा सचिव बन्न अफ्ठ्यारो भएका केन्द्रीय सदस्यलाई नयाँ जिम्मेवारी दिने गरी सचिवालयका शीर्ष नेता सहमत भएका हुन् । स्रोतका अनुसार केन्द्रीय कमिटीबाट सचिव पदमा घटुवा भएका नेताको ठाउँमा नयाँ व्यक्तिले जिम्मेवारी पाउँदैछन् । अर्थात जिल्ला तहकै नेताले सचिवको जिम्मेवारी पाउनेछन् । ती केन्द्रीय सदस्यलाई अन्य केन्द्रीय सदस्यसरह जिम्मेवारी दिने तयारी नेताहरूले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप