बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

बिहीबार, १२ असार २०७६, ०९ : २५
बिहीबार, १२ असार २०७६

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । 

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए ।
 
बाँध आज बेलुकासम्म खोलिने भएको भए पनि शुक्रबारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ । यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर  विष्टले बताए ।
  
बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।
  
धौलीगङ्गा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप