शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएई एनआरएन–एनसीसी : विवाद र चुनौतीहरु !

बिहीबार, १२ असार २०७६, १८ : ३६
बिहीबार, १२ असार २०७६

एनआरएन, आईसीसीको आसन्न अधिवेशनसँगै हरेक देशमा रहेका एनसीसीहरुमा पनि चुनावी सरगर्मी बढेको छ । त्यही क्रममा युएईमा पनि अधिवेशनको माहोल बन्ने क्रममा छ । अहिलेसम्मको क्रियाकलाप हेर्दाखेरी एनसीसी युएईको अधिवेशन सहज भने नहुने प्रस्ट देखिएको छ ।

युएईको २०१७÷२०१९ को कार्यकाल आधिकारिक रुपमा समाप्तिको संघारमा छ । अधिवेशन गरेर नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्ने दायित्व उ सँग छ । अहिलेसम्मको स्थिति हेर्दा वर्तमान कार्यसमिति नेतृत्वले विभिन्न बहाना बनाएर अधिवेशन नै नगराई कार्यकाल दोर्होयाउने पक्षमा देखिन्छन् ।

एनसीसी युएईका केही सदस्य र पदाधिकारीहरु मिलेर दुबईको कम्युनिटी डेभलेपमेन्ट अथोरिटी (सिडीए) मा नेपाली एसोसिएसन नामक संस्था दर्ता गराएपछि अहिले त्यही संस्थालाई देखाएर यहि नै एनआरएनए हो र सिडिएले अधिवेशन गरेर नयाँ पदाधिकारी छान्न दिँदैन ।

यदि अधिवेशन गरे सिडिएको विधान विपरित हुने बताइरहेका छन् । जबकी सिडिएले नेपाल एसोसिएसनलाई दिएको विधानमा ६ महिनाभित्र साधारणसभा बोलाएर विश्वास लिनुपर्ने प्रावधान छ र त्यसको समेत अनुशरण गरिएको छैन ।

वर्तमान कार्यसमितीले सिडिएको विधान लुकाउनु र स्थानीय प्रसाशनको डर र धम्की दिनुले अर्को कार्यकाल लम्ब्याउने खेल रहेको स्पष्ट देख्न देखिन्छ ।

स्थानीय कानुनले नेपाल एसोशिएसन कुनै पनि अन्तर्राष्ट्रिय संस्थाको शाखाको रुपमा काम गर्न नपाउने प्रस्ट रुपमा व्यवस्था गरेको छ । जसले एनआरएन आईसीसीको नेपाल सरकारले पारित गरेर दिएको विधानअनुसार एनसीसीको दर्जा नेपाल एसोशिएसनलाई दिन विधान सम्मत देखिँदैन भने युएईमा नेपाल एसोशिएसनले एनआरएनएको पञ्जीकृत सदस्यता बनाउन सिडिएको विधानले दिँदैन ।

नेपाल एसोशिएसन केवल दुबईको सिडिएमा दर्ता भएको हो । त्यसले युएईको अन्य राज्यहरुमा शाखा विस्तार गर्नसम्म पाउँदैन । तर अहिले एनआरएन युएईले क्षेत्रीय समिती (आरसिसी) को अधिवेशनको मितिहरु भने तोकिसकेकाले आरसीसीहरुमा नयाँ समिती बनाउने तर एनसीसीमा भने उहीँ नेपाली एसोसिएसनको बोर्ड मेम्वरहरु मात्र बस्ने मनसाय रहेको प्रस्ट बुझिन्छ ।

एनआरएन युएईका सदस्यहरुले नै आरसीसीमा आफ्ना विश्वासपात्रहरुलाई अधिवेशन होइन कार्यक्रम मात्र हो भनेर आश्वासन दिइरहेका छन् । नेपाली एसोशिएसनले गतबर्ष २ हजा ६४० जना सदस्य बनाएको भनेर भ्रामक तथ्यांक समेत देखाएको छ जबकी त्यो सदस्य संख्या एनआरएन एएनसीसीले बनाएको हो ।

त्यतिबेला नेपाल एसोसिएसन संस्था अस्तित्वमा समेत थिएन । हिजो एनआरएन एनएनसीसी युएईको लागि सदस्य बनेका पञ्जीकृत सदस्यहरुको अनुमति बिना नै उनीहरुलाई नेपाली एसोशिएसनको सदस्य बनाइएको अधिंकाशको बुझाइ छ । जसले गर्दा बोर्ड मेम्बरहरु अफ्ठ्यारोमा समेत पर्न सक्नेछन् ।

युएईमा एनआरएन एनसिसीको विकल्प वा पर्यायवाची नेपाली एसोशियसन होइन । जसको आफ्नै अनुमति डिसेम्बर २०१९ मा सकिँदैछ । त्यसपपछि त्यसलाई कसले नविकरण गर्ने ? नविकरण नै नभई खारेज हुनसक्ने प्रवल सम्भावना रहेको संस्थाप्रति युएईमा क्रियाशिल विभिन्न नेपाली संघ–संस्थाहरु लगायत एनआरएनए अभियानमा लागेका प्रायः सबैको चासो रहेको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय संघ–सस्थाको शाखाको रुपमा वा सहकार्य समेत गर्न नपाउने नेपाली एसोशिएसनलाई आईसीसीले एनसिसी युएईको मान्यता दिन आईसीसीको विधानले समेत नमिल्ने हो । तर आईसीसीले किन र कसरी अनुमती दियो रहस्यमय छ । यस बिषयमा बेलैमा आईसीसीको ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ । अन्यथा दुर्घटना घट्ने सक्ने प्रवल सम्भावना देखिन्छ ।

खाडीमा रहेको लाखौं श्रमजीवी नेपालीहरु संख्या आधारमा ठूलो देखिएको संस्थाले खाडीमा रहेका नेपाली कामदारहरु समस्यालाई प्रभावकारी रुपमा उठाउन नसकेको कसैबाट लुकेको छैन । खाडीमै पनि एनआरएन, एनसीसीहरु नेतृत्वहरु विभिन्न काण्डमा मुछिएकाहरुको इतिहास ताजै छ ।

सदैव राजनीतिक हालीमुहाली रहि आएको हुँदा युएई यसपाली नेतृत्व परिवर्तन चाहन्छ ।

युएईको वर्तमान समितीले सिन्डिकेट लागु गर्न खोजिरहेको वर्तमान अवस्थामा आईसीसीले हस्तक्षेप गरी श्रमिक र मजदूरमैत्री बनाउन जरुरी छ । विगतमा पनि म्यानपावर व्यवसायीहरुको गोजीबाट एनआरएन युएईलाई मुक्त गरी मजदुरको संस्थामा रुपान्तरित गरिएको ईतिहास छ ।

त्यसैले युएईमा रहेका विभिन्न संघसंस्थाका व्यक्तिहरु, समाजसेवी तथा एनआरएनए अभियान्ताहरुले बेलैमा उपयुक्त निर्णय लिने बेला भएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप