बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठगीको जालो : रक्तचन्दन तस्करीका ‘बादशाह’ घिसिङलाई छुटाउन चलखेल

शुक्रबार, १३ असार २०७६, ११ : ०६
शुक्रबार, १३ असार २०७६

काठमाडौँ । ०६०/६१ तिर चन्दन तस्करको बादशाहका रुपमा कहलिएका दोलखाका चन्द्र घिसिङ करोडौँ ठगीको आरोपमा पक्राउ परेका छन् । घिसिङलाई गत बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

घिसिङले कम्पनीमा पार्टनर तथा लगानीको फाईदा दिन्छु भन्दै करोडौं रुपैयाँ लिएको तर फिर्ता नगरेको भन्दै परिसरमा उजुरी परेपछि उनलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिसिङलाई परिसरले जिल्ला अदालत काठमाठौंबाट म्याद लिई थप अनुसन्धान सुरु गरेको छ ।

परिसरका अनुसार घिसिङविरुद्ध अहिलेसम्म २ जना व्यक्तिले उजुरी दिएका छन् । नेपाल प्रहरीका पूर्व प्रहरी नायब निरीक्षक (सई) मिन केसी र उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएका हुन् । सोही उजुरीको आधारमा प्रहरीले घिसिङलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

अवैध चन्दनको ओसारपसारबाट घिसिङले अकुत सम्पत्ति कमाएका थिए । चन्दन तस्करकै समयमा नेपाल प्रहरी र नेपाली सेनाका केही अधिकृतसँग हेलमेल हुन पुगेका घिसिङ पछिल्लो समय प्रहरीमा दलालीसमेत गर्दै आएको आरोप लाग्ने गरेको छ । सोही सिलसिलामा घिसिङ र केसीबीच चिनजान भएको थियो ।

नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका केसीले पछिल्लो समय नेपाल प्रहरीकै केही अधिकृतको पैसा मिटर व्याजमा लगानी गर्दै आएको बताइन्छ । एक पूर्व आईजीपी निकट मानिने केसीमाथि पनि प्रहरी अधिकृतको पैसा मिटर व्याजमा लगानी गर्ने धन्दा गर्दै आएको आरोप लाग्ने गरेको छ ।

मिटर ब्याजमा लगानी गर्ने पैसा असुल्ने केसीले एसपी भूपेन्द्र खत्रीलाई समेत प्रभावमा पारेर दुरुपयोग गर्ने गरेका समाचारहरु आएका छन् ।

पछिल्लो समय घिसिङ र केसीबीचको सम्बन्ध विग्रिएको र आक्रमण गर्ने तहसम्म पुगेको बुझिएको छ । अहिले सोही पैसा उठाउन केसीले प्रहरीमा जाहेरी दिएका हुन् ।

नेपाल प्रहरी, नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरुसँग राम्रो कनेक्सन रहेका घिसिङ पक्राउ परेलगत्तै उनलाई छुटाउन ठूलै चलखेल सुरु भएको प्रहरी स्रोतले जनाएको छ । सेनाको कालो सूचीमा परेका घिसिङले विभिन्न व्यक्तिबाट करिब एक अर्ब उठाएको प्रहरी बताउँछ ।

को हुन् घिसिङ ?

दोलखा पुख्र्यौली घर भएका घिसिङ काठमाडौँ छिरेपछि सामान्य ठेक्का पट्टा गर्दै आएका थिए । २०६०÷६१ तिर चन्दन तस्करीमा लागेपछि उनको आर्थिक हैसियत उकालो लागेको थियो ।

रक्त चन्दनको तस्करीकै क्रममा उनको भेट काभ्रेका गणेश लामा समुहसँग हुन गएपछि सोही समुहसँग मिलेर घिसिङले चन्दन तस्करीबाट अकुत कमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तत्कालिन समयमा महानगरीय आयुक्तको कार्यलयमा कार्यरत डिआईजी थरका गुरुङलाई चन्दनको कमिशन बुझाएर विश्वासपात्र बन्न पुगेका घिसिङपछि गुरुङ आईजीपी बनेपछि उनकै नाम भजाउँदै दलाली र ठेक्कापट्टा हत्याउन थालेको बताइन्छ । प्रहरीपछि घिसिङ सेनाका एक कर्णेललाई प्रभावमा पारेर जुत्ता, स्लिपिङ व्याग, चुस्तालगायतका सामानको ठेक्कापट्टामा समेत लागेका थिए । त्यसबेला घिसिङले बुझाएको चुस्ताको कपडा कम गुणस्तरको भएको समाचारहरु प्रकाशित भएका थिए । सेनाको सम्भार रथीमा पूर्ण सिलवाल रहेका बखत चुस्ताको कपडाको ठेक्का पाएका घिसिङले कस्तो कपडा बुझाए भन्ने कुरा धेरै पटक सार्वजनिक भइसकेको छ ।

त्यसै क्रममा घिसिङले सेनाका कर्णेल र जर्णेलदेखि प्रहरीका डीआईजी र पूर्व आईजीपीसम्मलाई पार्टनर बनाउने भन्दै करोडौँ रकम ठगी गरेका हुन् ।

सरकारी जग्गा हडप्ने तयारीमा थिए घिसिङ

एक प्रहरी अधिकृतका अनुसार पछिल्लो समय घिसिङ सरकारी जग्गा हडप्ने तयारीमा थिए । सरकारी जग्गासमेत कब्जा गरेर बिक्री गर्ने अभियानका क्रममा घिसिङले वैदेशिक रोजगारीमा रहेका एक व्यवसायीलाई झण्डै ३ करोड रकम ठगेको पाइएको छ ।

कहिले तत्कालीन प्रहरी प्रमुख त कहिले अन्य सैनिक उच्च अधिकृतहरूको नाम जोडेर उनले धेरै व्यक्तिलाई ठगी गरेपछि घिसिङको ठगीधन्दासँगै सरकारी जग्गा हडप्ने अभियानको पर्दाफास भएको हो ।

भाग्ने तयारीमा थिए घिसिङ

अवैध कारोबार गरेर अकुत सम्पत्ति आर्जन गरेका घिसिङ विदेश भाग्ने तयारीमा थिए । यसरी ठेक्कापट्टा, तस्करी र ऋण लिएको रकम घिसिङले हङकङमा अमेरिकी डलरमा खाता खोलेर जम्मा गरेको बताइएको छ ।

नेपालबाट उठाएको रकम हङकङमा जम्मा गरेपछि घिसिङलाई सबैले ताकेता गर्न थाले । ज–जसको पैसा सापटी लिएका थिए, तिनिहरुले कसैले मुद्दा हाल्ने, कसैले थुन्ने र कसैले इन्काउन्टर नै गर्नुपर्ने भन्दै धम्की दिन थालेपछि उनी हङकङ भाग्ने तयारीमा थिए ।

नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकृतहरुको नाम भजाउँदै ठेक्कापट्टा मिलाउँछु भन्दै पक्राउ परेका घिसिङका कर्तुतहरू एकपछि अर्को उजागर हुने क्रम जारी छ । विदेश भाग्ने तयारी गर्दागर्दै घिसिङ नेपाल प्रहरीको फन्दामा परे ।

प्रहरी प्रधान कार्यालयका अनुसार घिसिङ विदेश भागेर गएको भएपनि इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरेर उनलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएर कारबाही गर्ने सोचमा थियो ।

को हुन् मिन केसी ?

नेपाल प्रहरीका पूर्व प्रहरी नायब निरीक्षकबाट राजीनामा दिएका मिन केसी अहिले बजारमा दोस्रो विरेन्द्रलाल श्रेष्ठका रुपमा चिनिँदै आएका छन् । प्रहरी अधिकृतकै पैसा ब्याजमा लगानी गर्ने केसीलाई एक पूर्वआईजीपीको साथ समर्थन रहेको बताइन्छ ।

वीरेन्द्रलाल श्रेष्ठ यो धन्दाबाट पलायन भएपछि प्रहरीका घुस्याहा हाकिमहरुको पैसा मिन केसीको समुहले चलाउँदै आएको छ ।

स्रोतका अनुसार चन्द्र घिसिङलाई पनि केसीले मिटर ब्याजमा पैसा लगानी गदै आएका थिए । घिसिङको पैसा सेनाको ठेक्कामा डुबेपछि भनेजति ब्याज केसीलाई तिर्न नसकेपछि यी दुई बिचको सम्बन्धमा दरार उत्पन्न भएको हो । थोरै समय नेपाल प्रहरीमा जागिर खाएका केसी जागिर छाडेर ७ वर्ष जापान बसेर नेपाल फर्किएका हुन् । पोखराका स्थानीय बासिन्दा केसी अहिले धापासी हाइटमा बस्दै आएका छन् । जापानबाट फर्किएपछि नेपाल प्रहरीकै पैसा मिटर व्याजमा चलाउँदै आएका केसी अहिले मिटर व्याजीका नाइके बनेका छन् ।

घिसिङलाई चन्दन तस्करीका समयमा नेपाल प्रहरीका हाकिमसँग सेटिङ मिलाई दिनेपनि मिन केसी रहेको स्रोतको दाबी छ । मिटर व्याजीको धन्दासँगै केसीले प्रहरीमा बिचौलियाको धन्दासमेत सञ्चालन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप