शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आउँछु भनी निष्ठुरीले भर किन पार्नु...

सङ्गीतकार सन्तोष श्रेष्ठका दश गीत, दश किस्सा
शुक्रबार, १३ असार २०७६, १४ : ४७
शुक्रबार, १३ असार २०७६

काम नभएर धेरै सङ्गीतकार फुर्सदिला बनेका छन् । तर सन्तोष श्रेष्ठलाई भने भ्याइनभ्याइ छ । त्यसैले त नेपाली सुगम सङ्गीतमा सन्तोष श्रेष्ठको अलग्गै पहिचान छ । श्रेष्ठको सङ्गीत रहेको दुई दर्जनभन्दा बढी गीतले नेपाली साङ्गीतिक आकाशमा विभिन्न रेकर्ड कायम गरेका छन् । उनकै सङ्गीतमा गीत गाएर थुप्रै गायक गायिका हिट भएका छन् । तर उनी भने सधैँ लो प्रोफाइलमा बस्न रुचाउँछन् ।

घोराही उपमहानगरपालिका–१२, दाङ स्थायी घर भएका श्रेष्ठ  हाल साधनाकुञ्ज काठमाडौँ निवासी हुन् । सङ्गीत र गायनमा स्नातकोत्तर गरेका श्रेष्ठले साङ्गीतिक यात्राको औपचारिक सुरुआत २०५६ बाट गरेका हुन् । २०६२ मा रेडियो नेपालबाट स्वरपरीक्षा उत्तीर्णसमेत गरेका उनले त्यसपछि पछि फर्किएर हेर्नुुपरेन ।

‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो’ र नयाँ डिजिटल प्रविधिको युगमा नेपाली गीत सङ्गीतको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी मोबाइल रिङब्याकटोनमा डाउनलोड भएको गीतदेखि ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु...’ सम्म उनका सङ्गीत रहेका एकसे एक गीत छन् ।

करिब दुई दर्जन एकल एल्बम, थुप्रै फुटकर र सुरक्षा र राष्ट्रिय भावका  गीतदेखि गजल गीतसम्म सङ्गीतमा माहिर श्रेष्ठले नरङ्गीएको सिउँदो, अकिञ्चन, लालजोडी, कुइनेटो, जुवेनाइल, हैरान, लखपति माग्ने जस्ता दर्जन चलचित्रमा सङ्गीत दिएका छन् । थुप्रै एकल साँझ, देश विदेशी कार्यक्रमका अनुभवी श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कार सम्मानसमेत हात पारेका छन् । यिनै सङ्गीतकार श्रेष्ठको उत्कृष्ट दस गीतबारे उनकै शब्द ।

आउँछु भनी निष्ठुरीले भर किन पार्नु...

०५८ मा रेकर्ड भएको यो गीत ०६२ मा मात्र रिलिज भएको हो । आधुनिक प्याटर्नमा तयार भएको यो गीतले प्रेमीकाको पर्खाइमा रहेको प्रेमीले व्यक्त गर्ने भावना बोलेको छ ।

यो मेरो सङ्गीतिक जीवनको पहिलो सङ्गीतबद्ध गीत हो । नेपाली आधुनिक सुगमसङ्गीत प्रतिको आकर्षणले म सङ्गीत यात्रामा ढल्किएको महसुस गर्छु । म दाङमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत एउटा विद्यार्थी सो समय गीत रेकर्डिङका लागि काठमाडौँ आउनु, गीत रेकर्डिङ गर्न त्यति सजिलो भने थिएन ।

यो गीत मेरो पहिलो एल्बम ‘चिनारी’मा समावेश छ । गीत बजारमा ल्याउन झन्डै ४ वर्ष लाग्यो । त्यतिबेला म नयाँ सङ्गीतकार थिए । नयाँलाई कसैले विश्वास गर्दैन थिए ।

४७ वटा म्युजिक कम्पनी धाउँदा पनि बाहिर ल्याउन नसकेपछि यो एल्बम मैले सगरमाथा डिजिटलबाट रिलिज गर्न सफल भए । दामु मर्सिफुलको शब्द, मेरो सङ्गीत रहेको यो गीतमा रामकृष्ण ढकालको स्वर रहेको छ । यो गीत अहिले दस वर्षपछि पुनः अञ्जु पन्त र शिशिर योगीले गाएका छन् ।

तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र...

०६५ मा बाहिर आएको गीत हो यो । गीत मेरो साङ्गीतिक जीवनको एक महत्त्वपूर्ण अङ्ग बन्यो । नेपाली आधुनिक सुगम सङ्गीतमा पनि यो गीतले एउटा उचाइ थप्ने काम गर्यो ।

डिजिटल प्रविधिअन्तर्गत सीआरबीटीमा यो गीतले अहिलेसम्मकै सबैभन्दा बढी डाउनलोड भएको रेकर्डसमेत बनाएको छ । यस अर्थमा यो गीत एक ऐतिहासिक गीत मान्न सकिन्छ ।

यो गीतको शब्द मेरो हातमा परेको झण्डै साढे तीन वर्षपछि बाहिर आएको हो । एक समय म साङ्गीतिक यात्राको क्रममा विदेश भ्रमण जाँदा जहाजभित्र यसको सङ्गीत फुरेको थियो । लोकराज अधिकारीको शब्द र अञ्जु पन्त र शिशिर योगीको स्वर रहेको यो गीत ‘साधना’ एल्बममा समावेश छ ।

किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै...

गीतमा शोभाराम घर्तीको शब्द रहेको छ । ०६६ तिर यो गीत सार्वजनिक भएको थियो । यो गीत वियोगान्त भावमा तयार गरिएको हो ।  कसैको सम्झनामा तड्पिएको भावना गीतले व्यक्त गर्छ ।

यो गीतको चर्चा पनि धेरै भयो । त्यतिबेला म काठमाडौँको न्युरोडतिर घुमघामको सिलसिलामा जाँदा यसका गीतकार शोभरामसँग अप्रत्याशित ढङ्गबाट भेटघाट भएको थियो । सो अवसरमा हामीबीच एक एल्बम निकाल्ने कुरा चल्यो । चिया पिउँदै कुराकानी गर्दैगर्दा मेरो हातमा परेको यो गीत जगदीश समालको स्वर रहेको छ । त्यतिबेला जगदीश समालले गाएका गीतमध्ये यो सबैभन्दा हिट मानिन्छ ।

तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ...

सगरमाथा डिजिटलमार्फत ०६६ मा बजार आएको यो गीत ‘साधना’ एल्बममा समावेश छ । यो गीतमा सञ्चारकर्मी सरोज केसीको शब्द रहेको छ । ‘साधना’ एल्बम सार्वजनिक गर्ने सिलसिलामा सरोजसँग भेट भएको थियो । उहाँले ‘एल्बम’मा एउटा गीत मेरो पनि समावेश गरौँ भन्ने सल्लाह अनुसार ‘साधना’ एल्बममा छिटो रेकर्ड गरेर राखिएको गीत हो यो । नरेन्द्र प्यासीको स्वर रहेको यो गीत दर्शकको रोजाइमा पर्न सफल भयो । यो गीतले मेरो सङ्गीतिक जीवनमा झन् उचाइ दियो । गीत रेकर्ड गराएर गायक प्यासी केही दिनका लागि विदेश भ्रमणमा जानु भएको थियो । उहाँ फर्कंदा गीत हिट भएको थियो । गीत छोटो समयमा हिट भएको देख्दा उहाँले विश्वास नै गर्न सक्नुभएन । यो गीत गायक प्यासीको पनि मनपर्ने गीत हो । उहाँले आफ्नो एकल साँझमा कहिल्यै पनि यो गीत छुटाउनु हुन्न ।

तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो..

०६८ तिरको गीत हो यो । मेरो साङ्गीतिक यात्राको सुरुवातदेखि नै सदैव प्रोत्साहित गर्ने प्रकाश केसीको शब्द रहेको गीतमा कन्हैया सिंहको स्वर रहेको छ । यो गीत केही वर्षपछि यही शब्द र सङ्गीतमा अञ्जु पन्तले पुनः गाउनु भएको थियो । ट्रेजेडी बेसमा वियोगान्त भाव समेटिएको यो गीतले माया भुल्न नसकेको प्रेमी प्रेमिकाको भावना व्यक्त गरेको छ । गायिका अञ्जुले देश विदेशका कार्यक्रममा धेरै गाउने गीत हो यो ।

तिमीले हाँसो लुटी लग्यौ रुँदैरुँदै बाँचेको छु...

०६७ तिर आएको गीत हो यो । सगरमाथा डिजिटलले बजार व्यवस्थापन गरिएको ‘गरिमा’ एल्बमभित्र गीत समावेश छ । गीत निकै हिट मानिन्छ । मुम्बईमा रेकर्ड भएको यो गीतमा भारतीय गायिका सञ्जीवनीले स्वर दिएकी छन् । या गीतको रेकर्डको क्रममा मैले भारतीय गायक गायिका, उनीहरुले दिने समयलाई महत्त्व र सङ्गीतकार तथा कामप्रतिको सम्मान बुझ्ने मौका पाए । १० दिन मुम्बईमा बसेर रेकर्डिङ गर्दा मैले साङ्गीतिक यात्राको धेरै अनुभव र अनुभूति सँगाल्ने अवसर पाएँ । प्रकाश केसीको शब्द गीतमा छ ।

तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले...

०६९ मा बाहिर आएको गीत हो यो । रियालिटी सोबाट गायन यात्रा थालेका दीपक लिम्बु यो समय फिल्मी गीतहरु गायनमा निकै व्यस्त थिए । सोही समय दीपकले सबैले फिल्मी गायक मात्र भन्ने गरेका छन् । आधुनिक गीत पनि गाउनु पर्यो लौन भनेर मलाई भनेको भनेकै गदर्थे ।

त्यसैले यो गीत मैले दीपकलाई दिएको थिए । गीत रेकर्ड भएको दुई वर्षसम्म स्टुडियोमा राखियो । दुई वर्ष पनि दीपकले पुनः गाएर गीत बाहिर ल्याइएको हो । ‘तिम्रो दिलमा चोट लाग्दा’ यो गीतको सफलता सरोज केसी र मैले सल्लाह गरेर यो गीत तयार गरेका थियौ ।

परेलीको वर्षातले छातीभित्र पहिरो गयो...

नेपाली आधुनिक गीत लेखनका एक प्रसिद्ध गीतकार रमेश क्षितिजको एकल शब्द र मेरो एकल सङ्गीतमा आधुनिक गीत गजल एल्बम ‘क्षितिज’ एल्बमभित्र समावेश गरिएको गीत हो ।

०६८ मा बाहिर आएको यो गीत निकै चर्चित मान्निछ । प्रसिद्ध गीतकार रमेशले एकल एल्बमका लागि मलाई महिलो पटक विश्वास गर्नुभएको थियो । यो मेरा लागि चुनौती थियो ।

अन्जु पन्त र मनोजराज सिवाकोटीको स्वर समावेश यो गीतले देशका राम्रा कवि, गतिकार माझ मलाई चर्चा दिलाउने काम गर्यो । वियोगान्तक भावमा तयार गरिएको यो सबैको प्रिय हुन सफल भयो ।

तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेको छु...

०६८ मा बाहिर आएको यो गजल गीत हो । यसमा सङ्गीत गर्दागर्दै मैले गजल गीतहरुमा पनि सङ्गीत गर्न थाले । यो गजल रेकर्डको समयमा अञ्जु पन्तको स्वरमा विचलन थियो । उनी डिभोर्स जस्तो पारिवारिक तनावमा थिइन् । एक टेकमा गीत गाउनले उनलाई यो गति गाउन तेस्रो पटकसम्म लाग्यो ।

नेपालमा सङ्गीतको औपचारिक सुरुवात पनि गजल सङ्गीतबाट भएको छ । मैले यस अगाडि राष्ट्रिय गजल प्रतियोगिता गराइसकेको थिएँ । त्यसैले गजल सङ्गीत गर्न मलाई कठिनाइ भएन । शशी शर्मा मजगैँयाको एकल शब्द र मेरो सङ्गीत रहेको ‘परिभाषा’ एल्बममा समावेश यो गजल गीतले अञ्जुको करियर फेरि माथि उठायो ।

कोपिलामा सुन हुन्छ फक्रेपछि फूल हुन्छ....

यो गीत क्लासिकल बेसमा तयार भएको छ । यसको सङ्गीत गर्नु भनेको मेरा लागि चुनौती थियो । नेपालमा शास्त्रीय सङ्गीतमा आधारित गीत कम छन् । नेपाल आधुनिक सुगम सङ्गीतमा काम गरिरहेको बेला शास्त्रीय सङ्गीतमा काम गर्ने सल्लाहसहित गीतकार नृपध्वज खड्कासँगको सहकार्यमा यो गीत तयार भयो ।

‘पल्लवी’ एल्बम बनाउने सल्लाहअनुसार यो गीत तयार गरियो । यस गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर छ । सञ्जीवनीले मेरो सङ्गीतको साधना भनेको गीत गाउनका लागि हो भन्दै यो गीत उत्कृष्ट तवरले उनको भएको थियो ।

उनले नेपालका धेरै सङ्गीतकारसँग काम गरेँ तर यो गीत र तपाईंको सङ्गीतले मेरो मन चोर्यो भनेर सञ्जीवनीले भन्नुभएको थियो । गीत बाहिर आएपछि स्वदेशसहित भारतीय सञ्चार माध्यमबाट पनि गीतका विषयमा सकारात्मक समाचार आयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप