शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कारागारमा बुबा मरेको भन्दै लक्ष्मीको ठगीधन्दा : वडाअध्यक्ष कन्फ्युज भएपछि प्रहरीको फन्दामा

मङ्गलबार, १७ असार २०७६, १८ : ४९
मङ्गलबार, १७ असार २०७६

काठमाडौ । गृह मन्त्रालयको छाप, लेटरप्याड र सहसचिव तथा गृहका प्रवक्ता रामकृष्ण सुवेदीको दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–११ सिंहदरबारको दक्षिण गेट नजिकबाट बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र श्रीमान् राजन कुमार थापालाई सोमबार साँझ महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो ।

अधिकारीको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागजसमेत फेला परेको छ ।

उक्त कागजमा क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरि जम्मा १ अर्ब ८ करोड ९६ लाख ८ हजार दिने उल्लेख गरिएको छ ।

साथै प्रहरीले करोडौं रुपैयाँको विभिन्न बैंकका चेक, ५ थान राहदानी तथा नगद समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले आवश्यक सोधपुछको लागि भन्दै उनको श्रीमान् राजनकुमार थापालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु काभ्रेको बनेपामा बस्दै आएका थिए ।

जिउँदो बाबुलाई मरेको भन्दै...

करिब ६ महिना अघिदेखि लक्ष्मी अधिकारीले आफ्नो जिउँदो बाबुलाई मरेको भन्दै ठगी गर्ने गरेको पाइएको छ । लक्ष्मीले पीडितहरुलाई बुबाको सम्पत्ति अथाह भएको भन्दै ठग्ने गरेको पाइएको हो ।

पीडितहरुलाई यसरी झुक्याइन्

बहराइनमा बाबु छन् । भोला अधिकारी । भोला अधिकारी केही महिनाअघि नेपाल आए छुट्टीमा । नेपाल आउँदा सुन बढी बोकेर आए । बढी सुन बोकेर आएको भनेर एयरपोर्टबाट प्रहरीले पक्राउ गर्यो । लगत्तै उनलाई सुन्धारा कारागार पठाईयो ।

पछि भोला अधिकारीको कारागारमै मृत्यु भयो । उनको मृत्यु भएपछि क्षतीपूर्तिबापत बहराइनबाट ९५ करोड आयो । भोलाको पहिलाको सम्पत्ति पनि १०÷१२ करोड थियो ।

दुवै रकम गरेर १ अर्ब ८ करोड ९६ लाख चाहिँ भोला अधिकारीको नामको पैसा ।

यो सबै कुरा गृहमन्त्रालयले हेरिरहेको छ । गृहमन्त्रालयको सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदी सरले हेरिरहनुभएको छ ।

बुबा भोला अधिकारीको नाममा रहेको पैसा निकाल्न पर्यो भन्दै लक्ष्मीले विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ ।

गृहप्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर

लक्ष्मीले गृहमन्त्रालयको लेटर प्याडमा गृह प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षर गरेर गृहमन्त्रालयको स्ट्याम्प हानेर विभिन्न पत्रहरु बनाई ठगी गरेको परिसरका प्रवक्ता बोगटीले बताए । 

रोशी गाउँपालिका–७ का वडा अध्यक्ष पोष्टराज गौतमको नाममा गृहमन्त्रालयको लेटर प्याडमा भोला अधिकारीको पैसा निकाल्न पर्यो भन्दै लक्ष्मीले एउटा पत्र समेत लेखेको फेला समेत परेको छ ।  

पत्रको सुरुमै उनले श्री पोष्टराज गौतम ज्यू.... भनेर सम्बोधन गरेकी छन् । त्यसपछि उनले लक्ष्मी अधिकारीको बुबा भोला अधिकारीको ९५ करोड बहराइनबाट क्षतिपूर्ति आएको । यता प्रभु खातामा भएको १२ करोड गरेर १ अर्ब ८ करोड रुपैयाँ चाहिँ अहिले तत्काल लक्ष्मी अधिकारी बाबुको किरियामा बसेको हुनाले ऊ आएर बुझ्न नसेको हुँदा तपाई वडा अध्यक्ष गएर बुझ्दिनु हुन भनेर पत्रमा गृह प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर समेत गरिएको छ । 

त्यो पत्र लगेर उनले वडा अध्यक्षलाई समेत दिएकी छन् ।  वडा अध्यक्षलाई उनले म बाबुको किरिया गरेर भर्खर सकिएको यताउता काम छ तपाईंले चाहिँ यो १ अर्ब ८ करोड रुपैयाँ चाहिँ बुझ्दिनु पर्यो भनेको थिइन् ।

‘किरियाबाट भर्खर निस्किएर आएपनि मलाई पैसा डाइरेक्ट दिनु भएन । वडा अध्यक्षलाई दिनी भन्ने कुरा भयो,’ लक्ष्मीले वडा अध्यक्षलाई भनेकी थिइन् ।

वडा अध्यक्षलाई पत्र बुझाइ सकेपछि उनले लगभग २५ लाख रुपैयाँ अमेरिका पठाउँछु भन्दै ५ जनासँग उठाएको समेत पाइएको छ । जुन पैसा अहिले आफू बस्दै आएको घरबेटी दामोदर गौतम, वडा अध्यक्षका छोरा र आफ्नै श्रीमान्को भतिजोसँग उठाइन् । पाँच वटा पासपोर्ट पनि कलेक्ट गरिन् ।

पैसा उठाइसकेपछि लक्ष्मीले घरबेटी दामोदर गौतमकी छोरीलाई फेरी गृहको लेटर प्याडमा गृह प्रवक्ताको किर्ते हस्ताक्षर गरी अमेरिका जाने भीषा आयो भनेर तत्काल गृहमन्त्रालयमा सम्पर्क गर्न समेत जानकारी गराइ पत्र पनि दिइन् ।

गृह प्रवक्ताको पत्र देखेपछि उनलाई गाउँमा पनि सबैले विश्वास गर्न थालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

वडाअध्यक्ष कन्फ्युज भएपछि...

वडा अध्यक्ष गौतम चाहिँ लक्ष्मीको व्यवहार प्रति एकदमै कन्फ्युज भएका रहेछन् । नक्कली पो हो कि भन्ने उनलाई लागेछ । त्यसपछि उनले गृहमन्त्रालय आएर गृह प्रवक्तालाई सबै कुरा सुनाए । 

वडा अध्यक्षको कुरा सुनिसके पछि गृहप्रवक्ता आफैँ आश्चर्यमा परे । त्यसपछि त्यो कुरा फेक हो भन्ने पुष्टि भयो । १ अर्ब ८ करोडको हस्तलिखित गरेको पत्र छ । तत्कालै प्रहरी परिचालन भयो र सोमबार साँझ लक्ष्मी र उनका श्रीमान् सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे । 

सिंहदरबार एक चक्कर लगाएर गृहमन्त्री भेटेँ भन्ने

लक्ष्मीले सिंहदरबारमा लगेका मान्छेहरुलाई गृहमन्त्रीलाई भेट्न जान्छु भन्दै अरुलाई बाहिर राख्ने गरेको समेत पाइएको छ । सिंहदरबारभित्र एक चक्कर लगाउने अनि बाहिर आएर गृहमन्त्री भेटेर आएको भन्ने उनले धाक लगाउने गरेको पाइएको हो ।

करोडौंको चेकहरु बरामद

परिसरका प्रवक्ता बोगटीका अनुसार लक्ष्मीको साथबाट नबिल बैंक, इन्भेष्टमेन्ट बैंक र वाणिज्य बैंक गरेर ५ करोडदेखि १५ करोडसम्मको बाउन्स चेक फेला परेको छ ।

घरबेटी यसरी ठगिए

लक्ष्मीले चेक बैंकमा लगेर क्लिरियन्स डिपोजिट गर्ने । उक्त डिपोजितको म्यासेज आएपछि त्यो स्क्रिन सर्ट गरेर घरबेटी दामोदर गौतमलाई पठाइ दिने समेत पाइएको छ ।

त्यसपछि घरबेटी गौतक पनि मख्ख । दामोदर पक्कै पनि लक्ष्मीको बुबाको बहराइनको पैसा आयो भनेर विश्वस्त ।

घरबेटीलाई पनि यो मान्छे त ठूलै रहेछ भन्ने लाग्न थाल्यो । घरबेटी दामोदर पेशाले शिक्षक पनि हुन् ।

घरबेटीले पनि छोराछोरी अमेरिका पठाउनुपर्छ भन्दै धमाधम पैसा दिए । उनले लक्ष्मीलाई करिब ३० लाख दिएको पाइएको छ । 

पछि मात्र दामोदरलाई थाहा भयो लक्ष्मीको बुबा न मरेका छन् न बहराइन नै गएका थिए । बारामा एक सामान्य किसान हुन् लक्ष्मीका बुबा ।

प्रहरी अनुसन्धानबाट लक्ष्मीले अरु मान्छे पनि लुट्ने योजना बनाएको पाइएको छ ।

लक्ष्मी सन् २०१४ सालमा पनि दामोदरको घर गएर बसेको पाइएको छ । पछिल्लो समय उनी गतमंसिरदेखि त्यहाँ रहदै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप