शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं. १: विनियोजन विधेयक पारित

शुक्रबार, २० असार २०७६, २२ : ४५
शुक्रबार, २० असार २०७६

विराटनगर- प्रदेशसभा आजको बैठकले विनियोजन विधेयक, २०७६ पारित गरेको छ । प्रदेश नं. १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(१२) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो विधेयक पारित गरियोस् भनि प्रस्ताव पेश गर्नुभयो ।

    प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२१ बमोजिम विनियोजन विधेयक, २०७६ माथि नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य शिवनारायण गनगाँईले दर्ता गराउनुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार भयो । उहाँले अर्थ विविध भैपरी आउनेमा रु दुई करोडमा रु एक करोड कटौती हुनुपर्ने र अर्थ विविध भैपरी आउनेमा विनियोजन भएको रु एक अर्बमा सबै हटाउनुपर्ने प्रस्ताव दर्ता गराउनुभएको थियो ।

    आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन गरेको बजेटमा चालूतर्फ  ४३.९ प्रतिशत, पूँजीगततर्फ ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ  ०.२ प्रतिशत व्यवस्था गरेको जानकारी दिनुभयो । प्रदेशसभाको बैठकमा सदस्यले उठाउनु भएको प्रश्नको जवाफमा उहाँले संविधानबाट अधिकार प्राप्त प्रदेश सरकारले कुनै भवितव्य समस्या समाधान गर्न अर्थ विविधमा बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

    आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारले यही महिनाको असार १ गते रु ४२ अर्ब २० करोड चार लाख १२ हजारको बजेट सार्वजनिक गरेको थियो । जसमा चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार, पूँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार, वित्तीय व्यवस्थातर्फ रु आठ करोड र अन्तरसरकारी हस्तान्तरणका लागि रु ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको छ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान मातहत बन्ने कतिपय कानून सङ्घीय सरकारले बनाई नसकेकाले कानूनको अभावमा प्रदेश सरकारले कानून बनाउन नसकेको जानकारी दिनुभयो । प्रदेशसभा सो मन्त्रालयसँग सम्बन्धित रहेर सदस्यले उठाउनु भएका प्रश्नका जवाफमा उहाँले प्रदेशस्तरीय शिक्षा आयोग, लोकसेवा आयोग र प्रहरी ऐन पनि सङ्घीय सरकारका कारण ढिलो भएको प्रष्ट पार्नुभयो । 

    मन्त्री कार्कीले लागुऔषध ओसारपसार हुने क्षेत्रमा प्रहरी निगरानी बढाएको र सचेतनाको कार्य पनि थालनी गरिसकेको जानकारी दिँदै आगामी एक वर्षभित्रमा प्रदेशमा दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लागुऔषधविरुद्धको कार्यक्रम लैजाने धारणा राख्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप