केन्द्रीय संस्करण
मेरो जीवन

जनवादी गायक तथा सङ्गीतकार रामेश श्रेष्ठको जीवन : कम्युनिस्ट नेताहरूले बाहिर बोलेका कुरा आफू र घरमा लागू गरेनन्

person explore access_timeअसार २१, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

करिब ५६ वर्षदेखि जनताको दुःख र अधिकार गीतमा गुन्जाउँदै आएका जनवादी गायक तथा सङ्गीतकार हुन् रामेश श्रेष्ठ । देशको अवस्था, जनताको अवस्था बुझेर गीत बनाउने, गाउने उनको गीतले जनताको दुःख र अधिकारका बुलन्द गर्ने काम गर्दै आएको छ ।

सार्वजनिक मञ्चमा गीत गुन्जाउँदा उनी कुनै माया, प्रेम तथा राजनीति दल विशेषभन्दा पनि जनताको सरोकारका कुरा राख्ने गर्छन् ।

पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाविरुद्ध ‘गाउँगाउँबाट उठ...’ भन्दै जनतालाई जगाउने युवाहरूको समूह राल्फाका सदस्यसमेत रहेका उनका ‘सङ्घर्ष हो जीवन’, ‘आऊ मिलाऔँ हाम्रा हातहरू’ जस्ता कैयौँ गीतले सर्वसाधारणलाई सङ्घर्षका लागि ऊर्जा थप्ने काम गथ्र्यो ।

२०२३ सालदेखि हालसम्म पनि जनताको गीत गाउँदै आएका उनी अहिले वर्षाैं पुराना राल्फाकालीन गीत रेकर्डिङ गरेर ल्याउनमा व्यस्त छन् । पञ्चायत ढल्यो, बहुदल आयो । लोकतन्त्र र गणतन्त्र पनि घोषणा भइसकेको छ । तर जनताको दुःख जनतामै रहेकाले सन्तोषको सास फेर्न अझै नसकेको बताउने गायक सङ्गीतकार रामेश श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

सामान्य नेपाली खाना दाल, भात र तरकारी नै मनपर्छ । यही खाएपछि पूर्ण भएको जस्तो लाग्छ । म एक सामन्ती परिवारमा हुर्किएको मानिस हुँ । मिठो भन्ने पनि मैले बुझेको छु ।

मन नपर्ने खाना केही छैन । म जनताको घरदैलोमा वर्षाैं गीत गाएर हिँडे । यो मनपर्ने, यो नपर्ने, यो चाहिन्छ भन्ने कुरो गरिब, दुःखी जनताको घरदैलोमा भन्न मिल्दैन । फोहोर र सडेगलेको खानु हुँदैन भन्ने मेरो बुझाइ हो ।

पहिला पहिला हामी बिहानदेखि गीत गाउँदै हिँड्थ्यौँ । एक गाउँमा गीत गाउँदै गर्दा ९ बजेतिर अर्काे गाउँका मानिस लिन आउँथे । लिन आउनेले खाना खाइसक्यो होला भन्ने सम्झन्थे । बिहान गीत गाएको ठाउँका लिन आउने गाउँका मानिसले सुनाउँछन् भन्ठान्थेँ । यो क्रममा धेरैजसो समय भोकै भइन्थ्यो ।

मञ्जुलको नाममा बाहिर आएको मञ्जुल र मैले लेखेको सम्झनाको पाइला भन्ने एक पुस्तक निस्किएको छ । यो किताबमा यसको विषयवस्तु  उल्लेख गरेका छाँै । मैले जस्तो गीत गाए त्यस्तै चरित्र देखाएको छु । पकाउन सबैथोक आउँछ । मीठोे पनि पकाउँछु ।

मेरो पोसाक

सामान्य कमिज र पाइन्ट नै मनपर्छ । रङले केही फरक पर्दैन । सजिलो जे छ, जनताले जे लगाउन सकेका छन्, मलाई पनि त्यही मनपर्छ । पहिले पहिले हाम्रो पार्टीले धेरै राम्रो, आइरन गरेको लुगा लगाउनुहुन्न भन्थ्यो ।

कम्युनिस्ट नेताहरूले राम्रो लुगा, सफा लुगाभन्दा पनि गरिब दुःखीले जस्तो लगाएका छन् त्यस्तै लगाउनुपर्छ भन्ने आदर्श छाँट्थ्यो तर त्यो गलत थियो । आज नेताहरूले लगाएको पोसाक हेर्नुस् ? ।

म भने जे छ त्यही लगाएर हिँड्नुपर्छ भन्थेँ । हामी सधैँ फोहोरी, निमुखा, माग्ने, दरिद्र भएर बस्यौँ भने हीनता बोधले किचिएर कहिल्यै उँभो लाग्न सक्दैनौँ भन्ने मेरो मान्यता हो ।

अहिले मसँग धेरै पैसा भए राष्ट्रका, जनहितका लागि धेरै राम्रो काम गर्थें । हामी सम्पन्न भएर अगाडि बढ्न सक्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । दुःखी, गरिबको उद्धार गर्न त्यस्तै भएर बस्नुपर्छ भन्ने मानसिकता गलत हो । म वार्षिक तीन जोर नयाँ पहिरन किन्छु ।

मेरो फिट्नेस

प्रणायाम, कपालभाँतीलगायतका एक्सरसाइज गर्छु, जसले स्वस्थलाई बलियो बनाउने गरेको छ । घरको काम पनि गर्छु । हिँडडुल पनि धेरै गर्छु । यो नै हो फिटनेस हो ।

मेरो अध्ययन

म दैनिक बिहान ३ वटा पत्रिका पूरै पढ्छु । एफएम पनि सुन्छु । विशेष गरे अन्तर्वार्ता सुन्ने गरेको छु । केही गरेर भ्याइन भने युट्युवबाट सुन्छु, हेर्छु ।

हाम्रो युग बनाउने, इमानदार, प्रतिभाशाली, अध्ययनशील, विद्वान व्यक्तिहरूको अन्तर्वार्ता पढ्छु ।

विश्वमा के भाइरहेको छ, अमेरिका के गर्दैछ, रुस कहाँ छ सबैको विषयमा अपडेट राख्ने काम गर्छु ।

हिन्दुहरूको ज्यादतीका कारण आज क्रिस्चियन नेपालमा बढेका छन् । तल्लो जाति, गरिब भनेका छन्, हेपेका छन्, अपमान गरेका छन् । आफू हिँड्ने बाटोमा हिँड्न दिएको छैन । आफूले पानी खाने धारोमा छुन दिएको छैन ।

कम्युनिस्टका नेताहरूले बाहिर बोलेको आफूमा र घरमा लागू गरेका छैनन् । म बच्चादेखि नै धेरै अध्ययन गर्थें । हिन्दी साहित्यहरू, रसियन साहित्यहरू, नेपाली साहित्यहरू, विश्वका उत्कृष्ट रचनाहरू केके छन्, के भन्दा रहेछन्, विश्वका ठूला मानिस कसरी बनिदो रहेछ । ती वास्तविक ठूला थिएकी साना सबै कुरा अध्ययन गरेको छु । अहिले पनि निरन्तर अध्ययन गर्ने बानी छ ।

मेरो फुर्सद

अहिले फुर्सद छँदैछैन । पहिले युवा अवस्थामा धेरै फुर्सद हुन्थ्यो । धेरै पढिन्थ्यो । अहिले फुर्सद भयो भने पढ्छु । अहिले म २३, २४ सालमा गाएको गीतहरू, त्यसपछि सङ्कल्प गीति अभियानमा गाएको प्रगतिशील गीतहरू पुनः रेकर्ड गर्न लागि परेको छु ।

धेरै मानिसले मलगायत मेरा साथीहरूलाई तिमीहरूको जीवन पछि हराएर जान्छ । त्यसैले अहिले री रेकर्डिङ गर भन्ने गर्थे । त्यो अहिले र पछिका पिढीका लागि नेपालका इतिहासमा यस्तो गीतहरू गाइएको रहेछ भनेर बुझ्न सजिलो हुन्छ भन्थे । राम्रो भए गौरव गर्छन् । नराम्रो भए समीक्षा गर्लान् भन्ने हिसाबले राल्फाका पुराना गीतहरू पुनः रेकर्डमा लागेको छु । त्यसैले पनि फुर्सद छैन । अहिले ११ वटा रेकर्ड पनि भएको छ । त्यसमा सामन्ती व्यवस्था फाल्ने गीत पनि पर्छ ।

मेरो खेलकुद

क्रिकेट बुझ्दिन । फुटबल र क्रिकेट खेलाडीले अहिले देशको नाम केही हदसम्म विदेशमा चिनाएका छन् । समय मिल्यो भने खेल हेर्न मनपर्छ । स्कुले जीवनमा धेरे खेल खेल्थेँ ।

मेरो मोबाइल

म नोट भन्ने एउटा मात्र मोबाइल बोक्छु । मैले धेरै मोबाइल हराइसकेको छु । फोन गर्न, फेसबुक हेर्न, युट्युब हेर्न, अनलाइन समाचार पढ्न मेरो मोबाइल प्रयोग हुन्छ ।

मेरो टीभी

टीभीमा समाचार हेर्छु । अन्तर्वार्ता हेर्छु । विदेशी समाचार र जानकारीमूलक विषयवस्तु हेर्छु ।

मेरो चलचित्र

चलचित्र हेर्ने ठूलो इच्छा हुन्छ तर चलचित्र हेर्न समय नै मिल्दैन । अहिले ‘जात्रै जात्रा’ भन्ने चलचित्र आएको छ रे । त्यो हेर्न पाएको छैन । केही अगाडि ‘पशुपति प्रसाद’ हेरेको थिएँ । धेरै राम्रो चलचित्र रहेछ ।

चलचित्र त हेर्छु, अहिले पनि चलचित्र हेर्थें तर अहिले तीन घण्टा एउटा चलचित्रलाई दिने समय मसँग छैन । जुन चलचित्र हेर्दा सन्देश मिल्छ, जीवन राम्रो बन्छ, ठीक कुरो के हो भन्ने बुझाउँछ त्यस्ता चलचित्र मनपर्छ । ‘बलिदान’ चलचित्र पनि हामीले बनाएका हाँै ।

मेरो प्रेम

देशको, साहित्यको, सङ्गीतको प्रेम गरियो । नयाँ नयाँ कुरा बुझ्न प्रकृतिको माझमा जाने, प्रकृतिलाई बुझ्ने प्रेम गरियो । किताब पढ्ने प्रेम गरियो । प्रेम कति छन् कति ।

अहिले केटा र केटीको वा विपरीत लिङ्गीप्रतिको प्रेम मात्र प्रेम हो भन्ने बुझाइ छ । प्रेम भनेको महासागर हो । हामी केटा र केटीको प्रेममा मात्र केन्द्रित छौँ । त्यस्तो हुनु हँुदैन ।

मेरो मापसे

पहिलेदेखि नै मापसे गर्दिनँ । एक दुई पटक खाएको थिए । त्योभन्दा नमीठो कुरो केही लागेन । यसमा भुल्न थालियो भने डरलाग्दो प्रभाव पार्छ भनेर बुझेर मैले प्रयोग नगरेको हो ।

मेरो सङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । अहिले संसारमा प्रसिद्ध गीतसङ्गीत खोजी खोजी सुन्ने गरेको छु । प्रगतिशील गीत सङ्गीत गाउन मात्र होइन सुन्न पनि मनपर्छ ।

मेरो भूल

मानिसले गल्तीबाट सिक्ने हो । ‘गल्तीबाट ज्ञान भन्ने उखान’ त्यसै चलेको होइन । त्यही गल्ती बारम्बार गर्ने हो भने त्यो मानिस पतन भएर जान्छ  र कहिले उँभो लाग्दैन पनि ।

भर्खरको उमेरमा खराब केटाहरूको सङ्गतमा लागेर चुरोट पनि खाइयो । त्यो मेरो भुल थियो । मेरो विचारमा बुझीबुझी गल्ती गर्नु खराब कुरो हो । अज्ञानता बस र कस्तो हुन्छ भनेर मानिसले प्रयोग गरेर पनि भुल गर्ने गर्छन् ।

सानैदेखि मैले राम्रो किताब पढेकाले खराब के हो सानैमा सिकेको, जानेको थिए । जानी नजानी गल्ती गरेभने राति निद्रा नै नलाग्ने, मनभित्र उकुसमुकुस हुने गर्छ । त्यस्ता काम फेरिन गर्न मनले दिँदैन । परिवारबाट पनि मैले राम्रो संस्कार सिकेकाले अहिलेसम्म नराम्रो परेको छैन ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । रोग भए अहिले धेरै काम गर्न पनि सक्दैन थिए । अहिले जताततै विषादी प्रयोग भएका खानेकुरा छन् । त्यही खाएर हामी बाँचिरहेका छौँ । त्यसैले कतिबेला के हुने हो रोगको के भर भयो र ?

मेरो सपना

हाम्रो सपना के हो, मलाई केले पाल्यो । यस्तो कसले बनायो, कुनकुन ढङ्गको सहयोग मैले पाएँ । सारा नेपाली बुबा, आमा, दिदी, बहिनी, दाजुभाइमध्ये कोहीले लुगा सिलाएर दिए होलान् । कोहीले जुत्ता दिए होला, कोहीले ज्ञान दिए होला, कोहीले उपचार गरे होला । मैले लाखौँ करोडौँको नेपालीको सेवा पाएको छु, थिए । उनीहरूको जीवन असल होस् । उत्कृष्ट होस् । उन्नत होस् । आर्थिक रूपले पनि धनी हुन्् भन्ने एउटा सपना हो ।

संसारमा हाम्रो नेपालको पनि पहिचान होस्, नेपालीले राम्रो काम गरेको चर्चा होस् । हाम्रा नेताहरूको कारणले देशको बेइजत नहोस् ।

हाम्रो सरकार र सरकारले फैलाउने संस्कृति खराब छ । सरकार र राजनीतिक पार्टीहरू जनताले सच्याउनु अहिलेको आवश्यकता हो । जनताले अब उनीहरूलाई ठीक लगाउनुपर्छ ।

मेरो राशि              

राशिको विश्वास गर्ने काम छैन । मेरो बुबा यस्तो कुरामा धेरै विश्वास गर्नुहुन्थ्यो । बुबाले ज्योतिष देखाएको, जोखाना हेराएको, पण्डित बोलाएको मैले सानैदेखि २०, २१ वर्षको उमेरसम्म भोगँे, अध्ययन गरेँ । बाबा रामदेवले यो केही होइन, एउटा पेसा मात्र भन्नुभएको छ । मलाई पनि त्यही लाग्छ ।

राजदरबारमा हत्याकान्ड भयो । त्यहाँ धेरै राशिका मानिस थिए होलान् । हत्याकान्ड भएको दिन उनीहरूमध्ये केहीको लाभ लेखेको थियो होला, कोहीको सुखद लेखेको थियो होला । तर एकै पटक मरेर गए । यो एक अज्ञानता हो । यो मन अस्थिर हुँदा भुलाउने बाटो पनि हो । हामीले ग्रह राशिमा विश्वास गर्नु ठूलो भूल हुनेछ ।

मेरो मृत्यु

रातभरि सुत्नु भनेको पनि मरेर उठ्नु हो । मृत्यु भनेको फेरि नउठ्ने गरेर जानु हो । यसमा आतिनुपर्ने कुरो केही छैन । यातना पाएर मरियो भने शरीरलाई पीडा होला । हैन भने मृत्यु स्वाभाविक हो ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...