मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिस्काएको निहुँमा २ जनामाथि छुरा प्रहार,  चारजना पक्राउ

शनिबार, २१ असार २०७६, १७ : ५९
शनिबार, २१ असार २०७६

काठमाडौं । छुरा प्रहार गरी २ जनालाई गम्भीर घाइते बनाई फरार रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने उदयपुर गाईघाटका २४ वर्षीय असिम लामा, कपन बस्ने उदयपुर गाईघाटका २४ वर्षीय सरोज श्रेष्ठ, काठमाडौं धुम्बाराही बस्ने भारत दार्जलिङका २१ वर्षीय सरोज राई र काठमाडौं नार्गाजुन बस्ने कास्की रामनगरका २१ वर्षीय निश्चल आले मगर रहेका छन् ।

गत असार १६ गते बेलुकी काठमाडौं महानगरपालिका–७ चावहिलमा भक्तपुर जगाती बस्ने ओखलढुंगाका २८ वर्षीय ज्याक भन्ने विजय बानियाँ र रातोपुल वस्ने २१ वर्षीय सुदिप घिमिरे छुरा प्रहारबाट गम्भीर घाइते भएका थिए । 

घटना भएको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घाइते दुवैजनालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएको थियो ।

घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग गरेको छुरासहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीसमक्ष पक्राउ परेका चारै जनाले जिस्काएको निहुँमा छुरा प्रहार गरेको बयान दिएको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप