बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुलुक साक्षर घोषणा चाँडै : शिक्षामन्त्री पोखरेल

शनिबार, २१ असार २०७६, १९ : ०१
शनिबार, २१ असार २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन् । 

साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त घोषणा समारोहमा उनले गरीबी घटाउन उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिए । 

मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीति भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको बताए । उनले सङ्घीय सरकारले यस वर्ष २१२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न बजेट छुट्टयाएको बताए । 

स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै उनले सङ्घीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय बनाई स्थानीय सरकारलाई सञ्चालनको जिम्मा दिने बताए । 

वर्तमान सरकार सामुदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियानअन्तर्गत आगामी आव २०८५÷८६ भित्र अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने उद्देश्यले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो । 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालयले प्राविधिक शिक्षा र अङ्ग्रेजीमा पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालय सुधारका लागि ऐन ल्याइने जानकारी दिए । 

महानगरपालिका भित्रका १० विद्यालयलाई नमूनाको रुपमा विकास गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने उनले बताए । 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, जिल्ला समन्वय समितिका संयोजक नरेशप्रसाद पोखरेल, शिक्षा विकास समन्वय एकाइका अध्यक्ष दीर्घ चापागाईं, सुधा श्रेष्ठलगायतले साक्षर र खुला दिशामुक्त घोषणा गर्न सबैको सहयोग आवश्यक भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप