बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मोस्ट वान्टेड’ बादशाहको राजनीतिक पावर : श्रीमतीलाई यसरी बनाए ‘माननीय’ !

आइतबार, २२ असार २०७६, ११ : ०२
आइतबार, २२ असार २०७६

काठमाडौं–आठ जनाको श्रृङ्खलाबद्ध हत्याको अभियोगमा राजधानीबाट पक्राउ परेका ‘मोस्ट वान्टेड’ जाबेद बादशाह भन्ने नसिम खाँ मुसलमानको राजनीतिक कनेक्सन पनि उत्तिकै प्रभावशाली रहेको पाइएको छ । उनले आफ्नो राजनीतिक पावर मार्फत श्रीमतीलाई प्रदेशसभा सदस्यनै बनाएका थिए ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीविरुद्ध २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा छ । तैपनि किसान पृष्ठभूमिका नसिमले मोस्ट वान्टेड सूचीमा रहेकै बखत श्रीमती फौजिय नसिमलाई प्रदेश नम्बर ५ को सांसद बनाउन सफल भएका हुन् । 

मोस्ट वान्टेडको श्रीमती कसरी सांसद ?
फौजिय तत्कालीन नेकपा एमालेको कोटामा प्रदेश नम्बर ५ को समानुपातिक सांसद भएकी हुन् । उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता होइनन् । ‘मोस्ट वान्टेड’ पतिकै चाहना र राजनीतिक सम्पर्कमा उनले स्थानीय तहमा पनि टिकट पाएकी थिइन् ।

फौजिय नसिमले स्थानीय तहको निर्वाचना कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट टिकट पाएकी हुन् तर चुनाव हारिन् । 

पत्नी स्थानीय तहको निर्वाचनमा पराजयपछि ‘मोस्ट वान्टेड’ पतिले फेरि अर्को राजनीतिक गोटी चाले । तत्कालीन एमालेका जिल्ला नेताहरूसँग संवाद बढाए ।

त्यसै स्वरूप फौजिय नसिमको नाम प्रदेश सांसदका लागि सिफारिस भयो । उनी प्रदेश समानुपातिकमा मुस्लिम महिला कोटामा १ नम्बरमा सिफारिस भएकी थिइन् र सोहीअनुसार श्रीमती फौजिया प्रदेश सभासद बनिन् । 

को हुन् नसिम ?
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीमाथि २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । किसान पृष्ठभूमिका नसिम यही अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।

अभियुक्त नसिम तत्कालिन एमालेका सक्रिय कार्यकर्ता समेत हुन् । तर, श्रृंखलाबद्ध हत्या र डकैती काण्डमा मुछिएका उनी पछि एमाले छाडेर भूमिगत संगठनतिर जोडिएका थिए ।

नसिमको अपराधको फेहरिस्त
प्रहरीका अनुसार ०६३ जेठ १९ मा नसिमले कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसको करिब २ महिनापछि मात्र नसिमविरुद्ध साउन १४ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भएको थियो । हाल उक्त मुद्दा पुनरावेदन अदालतमा मुलतबीमा रहेको जनाइएको छ ।
यस्तै २०६४ वैशाख १७ मा कपिलवस्तु नगरपालिका–१ बस्ने सन्दीप कुमार गुप्तालाई हतियार देखाई नसिमले नगद लुटपाट गरेका थिए । गुप्ताले चढ्दै आएको महेन्द्र जीपलाई रोकेर उनले बन्दुक देखाई २ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।


८ जनाको हत्या गरेर भारतमा ‘सेल्टर’ : समातिए भूमिगत सङ्गठनका नेता


 

घटना भएको एक हप्तापछि नसिमविरुद्ध डकैती मुद्दा अदालतमा दर्ता भएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा मुलतवीमा रहेको अदालतबाट जानकारी प्राप्त भएको सीआईबीले जनाएको छ । 
उनको अपराधको श्रृङ्खला अझैं रोकिएन।  २०६४ फागुन ६ मा कपिलवस्तु मोतिपुर–१ बस्ने भुवन भन्ने प्रेम परियारलाई नसिकले गोली हानेर हत्या गरेका थिए । तत्कालीन माओवादी डीसीएम सन्दीप कुमारले जाहेरी ०६५ पुस १ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए ।

सन्दीप कुमारले जाहेरी दिएको मितिदेखि अदलातमा पेश भएको उक्त मुद्दा हाल पुनरावेदन अदालत बुटवलमा मुलतवीमा रहेको जनाइएको छ ।

यस्तै २०६४ चैत ९ गते रामहर्ष प्रसाद कुर्मीको छोरा शिवपुजन कुर्मीलाई नसिकले गोली हानी हत्या गरेका थिए । कपिलवस्तु हथिहवा–३ का शिवपुजन कुर्मी बाटो हिँडिरहँदा नसिमले गोली प्रहार गरेका हुन् ।
गोली हानेलगत्तै नसिम फरार भएपनि प्रहरीमा दिएको जाहेरीको आधारमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ हथिहवाका ४९ वर्षीय धर्मेन्द्र सिंह क्षत्री तत्कालै पक्राउ परेका थिए । क्षत्रीले बयानका क्रममा नसिमको नाम पोलेका थिए । 

यस्तै २०६५ भदौ ३० मा नसिमले कपिलवस्तु नगरपालिका–१० बस्ने एक पुरुष र एक महिलाको गोली हानी हत्या गरेका थिए । नसिबुल्लाह मुसलमान र पारसनाथ कोहारको श्रीमती अकला कोहारलाई नसिमले गोली हानेका हुन् ।

अकला कोहारको श्रीमान पारसले २०६५ पुस २५ गते अदालतमा नसिकविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए । हाल उक्त मुद्दा पुनरावेदन अदालत बुटवलमा मुलतवीमा रहेको छ ।
यसैगरी २०६५ कात्तिक ९ मा नसिमले गाविस सचिवलाई गोली हानेर फरार भएका थिए । कपिलवस्तु नगरापालिका–७ बस्ने पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्तालाई उनले गोली हानेर हत्या गरेका थिए । 
सचिवका बाबु पारशनाथ गुप्ताले घटनाको एक महिनापछि प्रहरीमा जाहेरी दिए । हाल उक्त मुद्दा दर्ता भई पुनरावेदन अदालतमा रहेको छ ।

यस्तै नसिमले २०६७ वैशाख १३ गते कपिलवस्तुको पकडी–६ बस्ने राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको अभियोग छ । 

घटना भएको करिब एक महिनापछि जेठ ८ गते नसिमविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । हाल उक्त मुद्दा जिल्ला अदालत कपिलवस्तुमा विचाराधीन छ ।

यस्तै नसिमले २०७४ फागुन ३ गते मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरे । उनको शव प्रहरीले अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला पारेको थियो ।
आयमान मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । मोहम्मद आयमानको अपहरण गरी फरार रहेका खानविरुद्ध छोराको शव फेला परेकै दिन फत्ते मोहम्मदले प्रहरीमा जाहेरी दिए ।

प्रहरीका अनुसार नसिम मुसलमान समेतका केही व्यक्तिहरुसँग फत्ते महोम्मदबीच पहिलादेखि नै राजनीतिक, आर्थिक तथा पारवारिक रीसीईबी रहेको बताइएको छ ।

२०७४ सालको चुनावमा वडा नं ४ बाट फत्ते मोहम्मद मसुलमान अध्यक्ष पदमा निर्वाचित भएसँगै नसिमले अब आफ्नो हालीमुहाली गर्ने दिन सकिएको भन्दै पूर्व रीसीईबीको कारण छोराको हत्या गरेको परिवारको आरोप छ ।  

हत्या, फिरौती, अपहरण, लुटपाट, अवैध हतियार कारोबार र चन्दा आतङ्कलगायतका आपराधिक गतिविधिमा समेत ‘मोस्ट वान्टेड’ नसिम खाँनको नाम जोडिएको छ ।

‘मोस्ट वान्टेड’ सूचीका नसिमलाई लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसक्दा पटक–पटक उनी कपिलवस्तुको सुरक्षामा चुनौती र प्रहरीको टाउको दुखाइ बन्ने गर्थे । उनै नासिमलाई अहिले प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक पनि गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप