बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी अन्त्य भयो सांसदका श्रीमानको एक दशक लामो ‘गुण्डाराज’

‘राजनीतिक मान्छे’ भन्दै माक्ससमेत लगाउन मानेनन्
आइतबार, २२ असार २०७६, १२ : ५०
आइतबार, २२ असार २०७६

बुटवल । प्रदेश नम्बर ५ मा तत्कालीन एमालेले समानुपातिकतर्फबाट संसद बनाएको फौजिय नसिमका श्रीमान् जाबेद बादशाह भनिने नसिम खाँ मुसलमानले कपिलवस्तु जिल्लामा एक दशक गुण्डाराज चलाए ।

उनको अपराध सामान्य होइन, डरलाग्दो छ । २०६३ यता  उनीमाथि आठ जनाको हत्या गरेको अभियोग छ । केही मुद्दामा अदालतले दोषी ठहर गर्दै जेल सजायसमेत तोकिसकेको छ ।

राजनीतिक आडमा अपराधकर्ममा हेलिएका नसिम खाँलाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौंको सिनामङ्गलबाट पक्राउ परेका उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनलाई शनिबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को टोलीले पक्राउ परेर कपिलवस्तु पठाएको थियो ।

नमिसमाथि ८ वटा कर्तव्य ज्यान तथा अपहरण, डकैती र लुटपाटसम्बन्धि मुद्दा रहेको प्रहरीको रेकर्डमा उल्लेख छ । प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सूचीमा रहेको नसिमलाई एक महिना अघिदेखि निगरानीमा राखिएकोमा सीआईबीको सक्रियतामा शनिबार पक्राउ गर्न सफल भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिए ।  पक्राउ परेसँगै नसिमको एक दशक लामो अपराधिक यात्रामा पूर्णविराम लागेको छ ।

कसरी समातिए ?

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका खाँलाई पक्राउ गर्न प्रहरीले पहिला सक्रियता देखाएको थिएन । देखाउन् पनि कसरी ? नसिमकी श्रीमती प्रदेशसभा सदस्य छिन् । नसिम पनि बेलाबेला ठूला नेताहरुसँगै देखिन्थे । तर, कपिलवस्तुमा हालै नयाँ प्रहरी प्रमुखको रुपमा राणा र प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ आएपछि उनलाई पक्राउ गर्न सक्रियता बढाएका थिए । एक दशकसम्म हत्या गरेर फरार रहेका खाँलाई प्रहरीले एक माहिनादेखि निगरानीमा राखेको थियो ।


‘मोस्ट वान्टेड’ बादशाहको राजनीतिक पावर : श्रीमतीलाई यसरी बनाए ‘माननीय’ !

८ जनाको हत्या गरेर भारतमा ‘सेल्टर’ : समातिए भूमिगत सङ्गठनका नेता 


यस्तैमा सीआईबीका प्रहरी नायब उपरीक्षक हरि बस्नेत नेतृत्वमा गएको टोलीले  काठमाडौँको सिनामंगलबाट खाँलाई पक्राउ गर्यो ।

भूमिगत संगठन जनतान्त्रिक मुक्ति मोर्चाका केन्द्रीय सदस्यसमेत रहेका नसिम सरकारी टोलीसँग वार्ता गर्ने नाममा बेलाबेला जिल्ला तथा नेपालका विभिन्न स्थानमा निर्वाध आउजाउ गर्नेगर्थे । प्रहरी उपरीक्षक राणाले भने, ‘हामीले नसिमलार्ई पक्राउ गर्न तयारी गरेका थियौँ, काठमाडौँमा रहेको खबर सिआईबीलाई दिएका थियौँ, अनि नियन्त्रणमा लिन सहज भयो ।’

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि उनी वर्षौँदेखि प्रहरीको फरार सूचीमा थिए । स्रोतका अनुसार आफ्नो संरक्षणका लागि उनले नेकपाका केन्द्रदेखि जिल्लास्तरको नेतासँग समेत उनले सम्बन्ध बढाएका थिए ।

राजनीतिक संरक्षणका बीच नेकपाका नेताहरुसँगको हिमचिमका कारण उनले आफ्नी श्रीमती फौजिया नसिमलाई नेकपाको कोटाबाट समानुपितकतर्फ प्रदेश सदस्य बनाउन सफल भए । उनी नेताहरुकै आडमा बेलाबेला सार्वजनिक हुने गरेका थिए ।

पछिल्लो पटक उनी गत पुस ३ गते मायादेवी गाउँपालिका–२ अभिरावमा  कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल बलदेब र तत्कालीन प्रजिअ अर्जुन पोख्रेल समेत सहभागी रहेको मुस्लिमहरुको कार्यक्रममा सहभागी थिए ।

त्यसअघि २०७३ मंसिर २६ गते तत्कालीन पिपरा गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरुसँगै देखिएका थिए ।

तत्कालीन प्रअिज विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजङ्ग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ, सांसद अतहर कमाल, पूर्वमन्त्री दान बहादुर चौधरी सहभागी भएको कार्यक्रममा उनी पनि अतिथि बने ।

१ घण्टा बढी मञ्चमा बसेका उनलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर त्यसको सुईँको पाएपछि एक घन्टापछि भारततर्फ फरार भएका थिए । अहिले उनी पक्राउ परेसँगै कपिलवस्तुबासी खुसी रहेको मायादेवी गाउँपालिका–४ का वडा अध्यक्ष फत्ते माहोम्मदले बताए ।

हत्याको शृङ्खला

अपराध नम्बर १–  तत्कालीन माओवादी जिल्ला सदस्य प्र्रेम परियारको २०६३ साल फागुनमा गोली हानी हत्या ।

अपराध नम्बर २–   गाविस सचिव राममिलन गुप्तालाई २०६५ साल भदौमा हत्या ।

अपराध नम्बर ३–  २०६६ सालमा तिर्तिखी गाविस रजवापुरकी सर्वसाधारण अकाली कोहारको हत्या ।

अपराध नम्बर ४–  पुरुषोत्तमपुर–५ मा रहेको शिवम क्रसरका मजदुर ज्ञान बहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या  ।

अपराध नम्बर ५–  मायादेवी गाउँपालिका– ४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मदका कान्छा छोरा ऐमाम मुसलमानको अपहरणपछि हत्या  ।

अपराध नम्बर ६– २०६३ जेठ १९ मा कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बराईका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या ।

अपराध नम्बर ७ – २०६४ मंसिर २५ गते जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण ।

अपराध नम्बर ८  तत्कालीन माओवादी अवध राज्यका नेता तथा प्रभावशाली व्यक्ति राजेन्द्र तिवारीलाई २०६७ वैशाख १३ गते पिपरामा उनको समूहले हत्या गरेको थियो ।

यस्तै चोरी मुद्दामा जिल्ला अदालतले २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजायँ समेत तोकेको थियो । सर्वाधिक खोजीको सूचीमा रहेका उनको घर मायादेवी गाउँपालिका– ४ पिपरामा छ ।

अदालतले सजायको फैसला गरेपछि उनी पिपरासँग जोडिएको भारतको अलीगढवामा बस्दै आएका थिए । नसिमले कपिलबस्तुको दक्षिणी भेगलाई आधार बनाएर ‘गुण्डागर्दी’गर्ने गरेको  कपिलवस्तुका  प्रहरी  नायव उपरीक्षक देवेन्द्र पाण्डेले रातोपाटीलाई बताए ।

राजनीतिको आडमा अपराध !

कपिलवस्तु  स्थायी घर भएका उनको भारतमा समेत घर रहेको बताइन्छ । सामान्य परिवारमा जन्मिएका नसिमले २०५० सालपछि आफ्नो आपराधिक यात्रा सुरु गरेको प्रहरीले जनाएको छ ।

२०५५ देखि २०६० सम्म उनी डाकाचोरी तथा अपहरण मुद्दामा संलग्न रहे । त्यसपछिको एक दशक भने उनले आफ्नो आपराधिक यात्रालाई थप मजबुत बनाउँदै हत्या र अपहरणमा संलग्न रहेर आतंक मच्चाए ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि उनी भूमिगत समूहमा लागे । उनी कौटिल्य समूहको संयुक्त तराई मधेसी मुक्ति मोर्चाको सैन्य कमान्डर बनेर काम गरे । त्यतिबेला उनले माओवादी नेताहरुको हत्या गर्ने जिम्मेवारी पाएका थिए । २०६४ देखि उनले जिल्लाको दक्षिण क्षेत्रमा प्रभाव बढाएका थिए । उनलाई जुन पार्टीमा लागे पनि आफ्नो अपराधलाई  संरक्षण गर्नु नै थियो ।

सोही आधारमा  नेताहरुलाई  आर्थिक प्रलोभनमा पार्दै श्रीमतीलाई कपिलवस्तुको मायादेवी गाउँपालिको अध्यक्षमा तत्कालीन नेकपा एमालेबाट टिकट दिलाए । तर, उनले चुनाव हारिन् । फेरि समानुपातिकमा प्रदेश सभा सदस्यमा सिफारिस गराएर उनले अन्ततः श्रीमतीलाई प्रदेश नम्बर ५ को सांसद बनाउन सफल भए ।

पछिल्लो समय फेरि भूमिगत संगठन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य बनेका उनी सांसद श्रीमतीको  आड र आफ्नै पहुँच प्रयोग गरेर बेलाबेला बेलाबेलामा सार्वजनिक कार्यक्रममा देखिएपनि पक्राउ भने पर्न सकेका थिएनन् ।

उनले तत्कालीन समयमा गाविस सचिव, कार्यालय प्रमुख, ठेकेदारलगायसँग  व्यापक चन्दा असुली गरे । बाहिर हेर्दा निकै सोझो देखिए पनि निकै चलाख स्वभावका उनले मोर्चाका आफ्नै नेताहरुलाई समेत पक्राउ गराएका थिए । मोर्चाका तत्कालीन सैन्य कमान्डर श्रमण कुमार मुराउ गुड्डुलाई नसिमले नै सुराकी लगाएर पक्राउ गर्न  लगाएको कपिलबस्तुमा चर्चा हुने गर्छ । गड्डु अहिले जेलमा छन ।

मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मदले ढिलै भए पनि कुख्यात अपराधी नसिमलाई पक्रेर प्रहरीले राम्रो काम गरेको बताए । उनले छोराको हत्यारालाई कडा सजाय हुनुपर्ने माग गरका छन् । नसिमले उनका कान्छा छोरा ऐमाम मुसलमानको अपहरणपछि हत्या गरेका थिए । वडा अध्यक्ष मुसलमान अनुसार नसिमले आफ्नो वडासहित जिल्लाको आधा दर्जन दक्षिणी वडाहरुमा गुन्डाराज चलाएका थिए । भारतको अलीगढवा बसेर नसिमले आफ्नो आपाराधिक जालो फैलाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप