बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनमा नयाँ बहस : नेपालसँग नाता टुटिसकेका पनि एनआरएन !

आइतबार, २२ असार २०७६, २० : ४७
आइतबार, २२ असार २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालसँग पुस्तौदेखि सम्पर्कमा नरहेकालाई पनि गैरआवासीय नेपालीको रुपमा समेट्ने प्रस्ताव गरेको छ ।    

नेपालको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने भन्दै डायस्पोरालाई १÷२ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट आई पुस्तौदेखि विदेशमा बसोबास गरिरहेका व्यक्तिका सन्ततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न एनआरएनले प्रस्ताव गरेको हो । 

म्यान्मारमा आइतबार सम्पन्न एनआरएन एसिया प्यासिफिक क्षेत्रीय बैठकले यस्तो प्रस्ताव गरेको हो । एनआरएनले संस्थागत रुपमै एनआरएनको दायरा फराकिलो बनाउने गरी कानुनी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

म्यान्मार लगायत कतिपय देशमा नेपाली मूलका विदेशी नागरिक रहेको तर उनीहरुको नेपालसँग नाता टुटिसकेको अवस्थामा उनीहरुलाई एनआरएनको दायरामा ल्याउने भन्दै नयाँ बहस सतहमा ल्याइएको हो । 

बैठकपछि जारी गरिएको १२ बुँदे निर्णयको बुँदा नम्बर ३ मा भनिएको छ, ‘मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई १÷२ पुस्तामा मात्र सीमित नगरी गैरआवासीय नेपालीको परिभाषा भित्र नेपालबाट विदेशमा आइ बसोबास गरेका व्यक्तिका सन्ततिलाई समेट्न सक्ने गरी कानुनी व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ ।’

बैठकमा सहभागी एक एनआरएन नेताले यसबारे पर्याप्त छलफल जरुरी रहेको बताए । ‘म्यान्मारमा बैठक बसेको र म्यान्मारमा रहेका नेपालीलाई समेट्ने उद्देश्यका साथ यो निर्णय लिइएको हो’ उनले भने , ‘तर यसमा पर्याप्त छलफल तथा बहस आवश्यक छ ।’ एनआरएन स्थापना भएको १५ वर्षमात्रै भएको अवस्थामा धेरैको नेपालसँग नाता समेत कायमै रहेकाले आगामी पुस्तालाई पनि कसरी समेट्ने भन्नेबारे पनि यसमा छुट्टै बहस आवश्यक रहने उनको भनाई छ ।  

सँगसँगै बैठकले नेपाली मुलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय  गरेको छ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपाली  गोरखा समुदायको सफलताको बैठकले उच्च संमान गरेको छ । 

यस्तै नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जित गरेको साधन श्रोत प्रयोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास गर्ने प्रण बैठकले गरेको छ । यस्तै नेपालमा १० अर्बको कोष भएको सामुहिक लगानी कम्पनी सफल पार्न पनि बैठकले प्रतिबद्धता जनाएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्रियतापूर्वक लागिपर्ने, नेपालले डायस्पोरा कुटनीति अपनाउनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ।  

बैठकले आगामी एशिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा गर्ने समेत निर्णय गरेको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप