शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी राजकुमारीविरुद्ध मुद्दा दर्ता, युवकलाई कुटपिटपछि खुट्टा चुम्न बाध्य बनाएको आरोप

शुक्रबार, २७ असार २०७६, १० : ४४
शुक्रबार, २७ असार २०७६

साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदविरुद्ध फ्रान्सको एब्सेन्शियमा एक युवकमाथि कुटपिटको विषयमा नयाँ मुद्दा दर्ता गरिएको छ । यो घटना सन् २०१६ को हो । फर्निचरको काम गर्ने फ्रान्सका पीडित अशरफ ईदले हासाविरुद्ध मुद्दा दर्ता गराएका थिए । राजकुमारीले आफ्नो अंगरक्षकलाई उनीमाथि कुटपिट गर्न लगाएको र आफ्नो खुट्टा चुम्न बाध्य बनाएको अशरफको आरोप छ । अदालतले मंगलबार सुनुवाइपछि घटनाको नयाँ ढङ्गले अनुसन्धानको  निर्देशन दिएको छ ।  

सन् २०१७ मा राजकुमारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियोः

कथित रुपमा यो घटना सन् २०१६ को सेप्टेम्बरमा एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्टको हो । पीडितका अनुसार उनी फर्निचरको काम गर्नका लागि पेरिसस्थित उनको विलासी अपार्टमेन्टमा आएका थिए । काम सिद्धाएपछि उनले मोबाइलबाट फर्निचरको फोटो खिचे ।

उनले पुलिसलाई टिपाएको जानकारीमा भनिएको छ,‘राजकुमारीले काँचमा क्यामराको फ्ल्याश देखिन् । उनले आफ्नो तस्बिर खिचिएको ठानिन् । यस्तै भ्रमका कारण उनले अंगरक्षकमार्फत् मलाई कुट्न लगाइन् । कुटपिटका कारण हातको नाडी नै भाँच्चिएको थियो ।’

पीडितले घटना भएकै दिन पुलिस थानामा मुद्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो  र उनी साउदी फर्किएकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबार बडीगार्ड पनि अदालतमा उपस्थित भएका थिए र सबै आरोपलाई गलत बताए । यस्तै, राजकुमारीकी प्रतिनिधी समूहले पनि आरोपलाई गलत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप