बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोजपुर गोलीकाण्ड : सँगै चिया पिउन होटल पसेका दुई साथीबीच कसरी भयो गोली हानाहान ?

भोजपुर घटनाबारे प्रत्यक्षदर्शी के भन्छन् ?
शुक्रबार, २७ असार २०७६, १० : ५१
शुक्रबार, २७ असार २०७६

भोजपुर । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट करिव ६ सय मिटरको दुरीमा पर्छ हटिया । हटिया नजिकै भोजपुर नगरपालिकाको कार्यालय पनि छ ।

हप्तामा दुई दिन लाग्ने यो हटियामा तरकारीको व्यापार बढी हुन्छ । असार २५ गते बुधबार पनि त्यहाँ हटिया लाग्ने पालो थियो ।

तर, विहानैदेखि झरी परेको कारण बुधबारे हटियामा सागसब्वी बेच्नको लागि अन्य दिनभन्दा मानिसहरुको पातालो उपस्थिति थियो । बजार क्षेत्रमा रहेका साना छाप्राहरुमा सब्जी बेच्न आएका व्यापारीहरु मात्रै ओत लागेर बसिरहेका थिए ।

बजार लाग्ने ठाउँ साँघुरो पनि छ । त्यसकारण बजार वरपर धेरै बाक्लो बस्ती छैन ।

बजारको बीचमा देउराली–एयरपोर्ट जाने सडक छ । सडकमा टेम्पो, टाटासुमो र ट्याक्टर गुडिरहन्छन् ।

सडक नजिकै देव्रे साइडमा पाँचधारे होटल छ । बुधबारका दिन हटिया लाग्ने भए पनि २५ गते होटलमा खासै मान्छेको उपस्थिति थिएन ।

बिहानै नेपाल प्रहरीका प्रहरी जवान सञ्जिव राई होटल अगाडि आइपुग्छन् । प्रहरी जवान सञ्जिवको पछि–पछि प्रतिबन्धित विप्लप नेतृत्वको नेकपाका सगरमाथा व्युरो सदस्य तथा ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ पनि त्यहाँ पुग्छन् ।

त्यसपछि विकसित घटनाक्रमले पूरै देशलाई स्तब्ध तुल्याउँछ ।

स्थानीय के भन्छन् त ?

प्रत्यक्षदर्शी सीता विकका अनुसार निरकुमार राई र सञ्जिव राईबीच जम्काभेट हुनअघि निरकुमारको सशस्त्र प्रहरी बल टक्सार गुल्मका एक जवानसँग भेट भएको थियो ।

‘सञ्जिव राई भोजपुर नगरपालिकाको कार्यालय जाने गेट नजिकै रहेका थिए,’ विक भन्छिन्, ‘निरकुमार राईले त्यहिँ सशस्त्र प्रहरी वल टक्सार गुल्मका जवान भेटाए । ती जवानसँग गफ गर्दै मेरो पनि दाजु सशस्त्र प्रहरीमा नै छ मलाई नी नम्बर दिनु भनेर फोन नम्बर एक आपसमा साटासाट गरे र छुटे ।’

त्यसपछि मात्र निरकुमारको प्रहरी जवान सञ्जिव राईसँग भेट भएको थियो ।

पुरानै चिनजान भएको कारण दुवैजना हात मिलाएर गफ गर्दै पाँचधारे होटलभित्र चिया खाना पस्छन् । होटलको काउन्टर नजिकै दुवै जना बस्छन् ।

सञ्जिव राईले दुई कप चिया माग्छन् ।

निरकुमारले भने शुरुमा चिया पिउन इन्कार गरेको होटल सञ्चालकको भनाइ छ ।

चिया आएपछि सञ्जिव र निरकुमार चिया बोकेर होटलको दाहिने पट्टी रहेका टेबलमा पर्दा लगाएर गफिन थाल्छन् ।

होटल सञ्चालकले दुवैको गफ सुनिरहेका थिए ।

निरकुमारको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘सञ्जिव, मेरो कति पिछा गर्छस् ? अब मेरो पिछा गर्न छाडी दे ।’

यता, निरकुमार र सञ्जिव चिया गफमा भुलिरहेका हुन्छन् ।

उता, बिहान करीब ८ः१५ बजेतिर जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको फोनमा सूचना आउँछ – पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बसिरहेका छन् । पाँचधारे होटलमा नीरकुमार मात्र होइन विप्लवका अन्य कार्यकर्ताहरु पनि थिए ।

यो खबर गर्ने अरु कोही नभएर भोजपुरमा विप्लव समूहको गतिविधि बारेमा जानकार घुमुवा प्रहरी जवान सञ्जिव राई नै थिए ।

विप्लवका कार्यकर्ताहरु होटलमा रहेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा प्रहरीहरु जिल्ला प्रहरी कार्यालयले खटाउँछ । प्रहरीहरु खेमनाथ भट्टराई, सुरेन्द्र माझीलगायतका प्रहरी टोली पाँचधारे होटलतिर निस्क्नछन् ।

यता, निरकुमार र सञ्जिव चिया गफमै हुन्छन् । दुवै जना परिचित मात्रै होइन साथी पनि थिए । प्रहरीमा भर्ना हुन अघिसम्म सञ्जिव पनि माओवादी आन्दोलनसँग सामिप्य राख्ने मान्छे थिए । प्रशान्त त माओवादी जनयुद्धका कम्पनी कमाण्डर ।

निरकुमार राई केहि दिन अघिबाट नै सदरमुकाम आसपासमा नै बसोबास गर्दै आएको स्रोतले बताएको छ । निरकुमार श्रीमति र छोरासहित भोजपुर नगरपालिकाको कोदार भन्ने ठाउँमा बस्दै आएको स्रोतको भनाइ छ ।

लामो समयसम्म नभेटेका साथीहरुलार्ई विदेशबाट ३–४ दिन भयो नेपाल आएको भन्दै हिँड्ने गरेको स्थानीय बताउँछन् ।


प्रहरीसँग प्रतिरोध गर्दा भोजपुर घटना भएको विप्लव समूहद्वारा स्वीकार

प्रतिबन्धपछि आक्रामक प्रहरी : विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए

भोजपुर घटना :  विवादपछि लछारपछार, त्यसपछि गोली हानाहान


स्थानीय र प्रत्यक्षदर्शीहरुका अनुसार बुधबार प्रहरी जवान सञ्जिव ‘मर्निङ्ग वाक’मा निस्किएका थिए । ‘मर्निङ्ग वाक’मा निस्किएका राईलाई विप्लव समूहका इञ्चार्ज ‘प्रशान्त’ले भोजपुर बजारदेखि नै पिछा गरेका थिए ।

‘उनीहरु मिल्ने साथी जसरी कुरा गरिरहेका थिए,’ दुवैको गफ सुनेका होटल सञ्चालक बताउँछन् ।

कुराकानीकै बीचमा विप्लव समूहका इञ्चार्ज निरकुमारलाई शंका लाग्छ । उनी पिसाव फेर्न जान्छु भन्दै भाग्न खोज्छन् । तर प्रहरी जवान राईले भने ‘तपाईं नजानोस् मैले साथीहरु

बोलाएको छु’ भनेर रोक्न खोज्छन् ।

प्रहरी जवान राईले त्यसबेलासम्म निरकुमारलाई पक्राउ गर्ने योजना अनुसार जिल्ला प्रहरी कार्यालयबाट टोली झिकाउन भ्याइसकेका थिए ।

प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि निरकुमार भाग्ने प्रयास गर्छन् । प्रहरी जवान राईले तत्कालै झम्टिएर उनलाई पक्रन्छन् । नियन्त्रणमा लिन खोज्दा दोहोरो भनाभन र तानातान हुन्छ ।

यही बीचमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोली पाँचधारेमा आइपुग्छ । त्यसपछि घटनाले हिंसक मोड लिन्छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट आएका सादा पोशाकका प्रहरी आएको देखे लगत्तै आत्तिएका प्रशान्तले प्रहरी जवान राईमाथि गोली प्रहार गर्छन् ।

गोली लागेका प्रहरी जवान राई होटलको ¥याकमा ठोक्किएपछि ढलपलिँदै सडकमा गएर ढल्छन् ।

प्रत्यक्षदर्शीका अनुसार करिब  बिहान ८ बजेर ४५ मिनेटमा गोली चलेको थियो ।

विप्लव नेता प्रशान्तले गोली प्रहरी जवान राईलाई गोली प्रहार गरेपछि भाग्न खोज्छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जवाफी फायरमा गर्छ । प्रशान्तलाई पनि गोली लाग्छ । उनी पनि ढल्छन् । त्यसपछि प्रहरीले उनलाई पक्रन्छ ।

प्रत्यक्षदर्शी भन्छन्, गोली लागेर ढलेर टेम्पोमा लैजादा समेत ‘मलाई गाह्रो भयो छोडी दे भन्दै संघर्ष गर्दै थिए ।’

जिल्ला अस्पताल भोजपुरले लैजान साथ मृत घोषणा गरेको थियो । स्रोतका अनुसार अत्याधिक रक्तस्राब भएर उनको बाटैमा ज्यान गएको हो ।

जिल्ला अस्पताल र घटनास्थल २ किलोमिटरको दूरीमा छ ।

के भन्छन् सिडिओ ?

विप्वलका कार्यकर्ताहरुले प्रहरी जवानमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको बताएका छन् ।

भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले विप्लवका कार्यकर्ताहरुले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

नीरकुमार राईको साथबाट एक थान चिनियाँ पेस्तोल, गोली र सोही पेस्तोलको म्याग्जिन बरामद गरेको गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खतिवडा र प्रहरीेको भने एउटै जवाफ छ, विप्वलका नेता प्रशान्तले पहिले गोली फायर गरका हुन् ।

प्रहरी जवान र विप्लव कार्यकर्ताको ज्यान गएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

होटल, जिल्लाका प्रमुख नाकाहरु तथा यातयातको साधानहरुमा समेत कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘सुरक्षा व्यवस्था कडा बनाए सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत गस्ती गर्न थालेको छ ।’

नेकपाको विज्ञप्ति

घटनापछि नेकपाको सगरमाथा ब्युरो इन्चार्ज अधिकारले विज्ञप्ति जारी गर्दै प्रहरी सञ्जिव राई यसअघि भोजपुरको टेम्के मयुम गाउँपालिका वार्ड नम्बर दुईमा मारिएका तिर्थराज घिमिरेको हत्यामा संलग्न भएको र प्रशान्तले प्रतिरोध गर्ने क्रममा मारिएको उल्लेख गरेको छ । प्रशान्तले पनि सोही क्रममा शहादत प्राप्त गरेको विज्ञप्तिमा बताइएको छ ।

राजनीतिज्ञ के भन्छन् ?

देश द्वन्द्व तिर फर्कन लागे भन्दै स्थानीय राजनीतिक दलहरु यतिबेला चिन्तित छन् । विकासको क्रान्ति गर्ने वेलामा देशलाई द्वन्द्वमा लैजान नहुने बताएका छन् । ‘यसको समाधन भनेको सरकारले वार्तामा ल्याउनुपर्छ र विप्लव पनि वार्ताको टेवलमा बस्नुपर्छ । दुवै पक्षले वार्ताबाट समास्या समाधान गर्नुपर्छ,’ नेकपाका प्रदेश कमिटी सदस्य सुरेन्द्र उदासले बताए ।

भोजपुरमा विप्लव गतिविधीको पछिल्लो घटनाक्रम

पछिल्लो भोजपुरमा विप्लव नेतृत्वको नेकपाको गतिविधि बढिरहेको थियो । गत महिना पहिलो पटक टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.–२ स्थित मैयुङ्ग क्षेत्रको धोत्रेमा सुरक्षाकर्मीसँगको गोली लागेर घाइते भएका तीर्थराज घिमिरेको ज्यान गएपछि जिल्लामा नेकपाको गतिविधि ह्वात्तै बढेको जिल्लाको सुरक्षा स्रोत बताउँछ ।

प्रहरीका अनुसार गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि रिफर गरिएका उनलाई हिजै धरान घोपा क्याम्प लगिएको थियो ।

हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसक्ने भएपछि उनलाई समयमा उपचारमा पु¥याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । बुधबार विहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको मृत्यु भएको थियो ।

विप्लव समूहले भने सो घटना मुठभेड नभएर गैरन्याययीक हत्या भएको बताउँदै आएको छ ।

त्यस्तै, असार १८ गते टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा अज्ञात समुहले तोडफोड तथा आगजनी गरे थियो, वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको थियो ।

अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको इन्सपेक्टर पाण्डव राजवंशीले बताए । सोहि वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।

समुहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

गत असार १८ गते भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको बम फेला फेला परेको थियो । उक्त बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप