शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेको दुई वर्ष नबित्दै प्रहरीको गोलीले रङ्गिलाको सिउँदो पुछिएपछि...

शुक्रबार, २७ असार २०७६, १५ : ००
शुक्रबार, २७ असार २०७६

जनकपुर– १९ वर्षीया रङ्गिला सिंहको दुई वर्ष पहिला सर्लाही ईश्वरपुर वडानम्बर १३ बस्ने सरोज नारायण सिंहसँग धुमधामका साथ विवाह भएको थियो । उनीहरुबीचको माया पनि एकदमै गहिरो थियो । बिहे भएको १६ महिनापछि उनीहरुका एक छोरा भए । रंगिलाको छोरा अहिले ७ महिनाका छन् । तर, बुवाको माया र स्नेह नपाउँदै ७ महिने अवोध बालकका बुवा सरोज प्रहरीको गोली लागेर ज्यान गुमाइसकेका छन् । रंगिलालाई जीवनभर साथ दिने सरोजको वाचाको सामू प्रहरीको गोली शक्तिशाली सावित बन्यो । 

रंगिला अहिले एक्ली भएकी छिन्् । उनीसामू ७ महिने अवोध बालकको लालनपालनको समस्या त छदैछ श्रीमानसँगको सुनौलो भविष्यको सपना बुनेकी रंगिला घट्ना सम्झेर अझैपनि भक्कानिन्छिन् । उनी अहिले धेरै बोल्न सक्ने स्थितिमा समेत छैनन् । उनको अनुहारले उनीभित्रको पीडा झल्किन्छ । 

सर्लाही र महोत्तरी जिल्लाको सीमा भएर बग्ने बाके खोलाको बालुवा गिट्टी निकाल्न क्रसर उद्योगले खनेको खाल्डोमा ईश्वरपुर वडानम्बर १३ का १२ वर्षीया किशोर अमितकुमार रायको डुबेर मृत्यु भयो । अवैध रुपमा खोलामा खनिएको खाल्डोमा अमितको मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भए । स्थानीयले क्षतिपूर्ती तथा न्यायको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारे । अवरुद्ध राजमार्ग खुलाउन पुगेको प्रहरीसँग झडप भयो, अवरोध खुलाउन प्रहरीले गोली चलाउँदा सरोजको मृत्यु भयो । त्यस घटनापछाडि तर्सिएको गाउँ अझै शोकाकुल छ ।

यसरी चलायो प्रहरीले गोली 
स्थानीय १२ वर्षीय अमितको खाल्डोमा झरेर मृत्यु भएपछि ईश्वरपुर वडानम्बर १३ का सयौँ गाउँवासी राजमार्ग अवरुद्ध गर्न पुगे । त्यसक्रममा युवा, महिला, वृद्ध, वृद्धा सबै राजमार्गमा भेला भए । स्थानीयवासीका अनुसार बालक अमित डुबेको ३६ घण्टा पछाडि मात्रै उनको शव खाल्डोबाट निकाल्न सकियो । यसअगाडि उनीहरुले ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी सबैलाई शव पत्ता लगाईदिनका लागि गुहार लगाए । तर कहिँ कतैबाट उपाय नलागेपछि उनीहरु आफैले खाल्डोको पानी बगाएर शव पत्ता लगाए ।

‘आउने दिनमा यस्ता घटनाहरु नहोस्, अवैध उत्खनन् रोकियोस् र क्षतिपूर्तिको माग गर्दै शान्तिपूर्ण रुपमा मात्रै आन्दोलन गरेको’ स्थानीयहरु बताउँछन् । घटनाबारे स्थानीय नन्द किशोरसिंह शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै बाटो अवरुद्ध पारेको बताउँछन् । उनले भने, ‘हामीले बाटो अवरुद्ध पारेकै थियौँ कि एक हुल प्रहरी आएर हामीले लगाएको टेन्ट तोडेर फालिदियो, त्यसपछि एकाएक लाठीचार्ज गर्न शुरु गर्यो, हाम्रो ५ सय जनाको भीड तितरवितर भईसकेको थियो तर प्रहरीले ताकेर पछाडीबाट टाउकोमा गोली हान्यो’ । 

‘कही कतैबाट हाम्रो माग पूरा गर्न पहल नभएपछि शान्तिपूर्ण आन्दोलनका लागि बाटो अवरुद्ध पार्नका लागि पुगेका थियौँ । तर त्यहाँ पुगेको आधा घण्टा नबित्दै प्रहरीले घेरा हाली बिना कुनै चेतावनी हामी माथि दमन गर्यो’ स्थानीय भरत खडका भन्छन् ।

सरोजको घरमा नेताको लर्को

प्रहरीको गोली लागी मृत्यु भएका सरोज नारायण सिंहको बिहीबार १३औँ पुण्य तिथिको काम सकिएको छ । घटनापछि उनको घरमा नेताहरुको घुइँचो लाग्दै आएको छ । बिहीबारमात्रै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि सरोजको परिवारलाई सान्त्वना दिनका सर्लाही आए ।

उनले शोकाकुल परिवारलाई सान्त्वना दिदै दोषीलाई कारबाहीका लागि नेपाली आवाज उठाइरहने आश्वसन दिए । यसका लागि काँग्रेसले सदनसमेत अवरुद्ध गरेको र घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको निधीले जानकारी दिए ।

निधिमात्रै होइन, सिंह परिवारलाई सान्त्वना दिन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो, प्रमोद साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, प्रदेशसभा सदस्य उपेन्द्र महतो लगायतका नेताहरु समेत पुगे । नेताहरु सान्त्वनाका लागि पुगेपनि उनीहरुमाथि स्थानीयहरुको विश्वास छैन । स्थानीय भन्छन्, ‘नेताहरु आउँछन्, आश्वासन दिन्छन् अनि फर्केर गएपछि खोजखबरसम्म गर्दैैनन् ।’

न्यायको आशमा पीडित परिवार 

सरोजका बुवा जीवछनारायण सिंह ६६ वसन्त पार गरिसकेका छन् । उनको दुईवटा छोरामध्ये जेठा छोरा मनोज २८ वर्षका छन् । कान्छा सरोजनारायण सिंह प्रहरीको गोलीको शिकार भइसकेका छन् । परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण जीवछले कान्छो छोरो सरोजलाई वैदेशिक रोजगारका लागि मलेसिया पठाएका थिए ।

छोरोको बिहे गर्ने उमेर भएपछि उनले दुईवर्ष अगाडी मात्रै बिहेका लागि घर बोलाएका थिए । तर, जीवछलाई के थाहा उनको छोरोको लागि यो बुलावा कालको बुलावा सावित हुनेछ ? घटनापछि पनि सरोजका बाबुलाई न्याय पाउने आश बाँकी नै छ । ‘हामी त जनता हौँ । नेताले जता जोत्छ, त्यता नै हामी जोतिने हौँ’ उनले आफ्नो दुखेसो पोख्दै भने । यसैवीच सरकारले मृतकका परिवारलाई १० लाख दिने घोषणा गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप