शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप फाइनलमा इङ्गल्याण्डलाई जिताउने नियमको किन भयो आलोचना ?

सोमबार, ३० असार २०७६, ०८ : १७
सोमबार, ३० असार २०७६

आइसीसी विश्वकप २०१९ को उपाधी इङ्गल्याण्डले आफ्नो पोल्टोमा पारेको छ । फाइनलको अत्यधिक रोमाञ्चक स्पर्धामा इङ्गल्याण्डले न्यूजिल्याण्डलाई हरायो ।

टस जितेर पहिलो ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड टीमले आठ विकेट गुमाएर २४१ रन बनायो । त्यसपछि इङ्गल्याण्डले पनि पूरा ५० ओभरमा २४१ रन नै बनायो ।

त्यसपछि म्याच सुपर ओभरमा गयो र त्यसमा पनि दुई टीमको स्कोर बराबर भयो । तर बढी बाउन्ड्री हिर्काएको आधारमा कप इङ्गल्याण्डले उचाल्यो ।

जीतपछि इङ्गल्याण्डको कप्तान इयोन मोर्गनले भने, ‘केन र उनको टीमप्रति मेरो सहानुभूति छ । मलाई लाग्छ कि आजको प्रतिस्पर्धा निकै कडा रह्यो । यस्तो प्रकारको पिचमा खेल्नु हाम्रो लागि मुश्किल थियो । तर अन्त्यमा हामीले गरेरै देखायौं । हामीले यो ट्रफी उचाल्न पाएकोमा निकै खुसी छौं ।’

मोर्गनले आफ्ना साथी खेलाडीलाई यो जीतको श्रेय दिँदै कडा मेहनतले यस्तो सम्भव हुन सकेको बताए ।

यस्तै, हार्ने टिम न्यूजिल्याण्डका कप्तान केन विलियमसनले भने, ‘हामी टस जितेर पहिलो ब्याटिङ गर्न चाहन्थ्यौं । हामीलाई रन बनाउनु चुनौतीपूर्ण होला जस्तो लागेको थियो । हामी सोचिरहेका थियौं कि विश्वकप फाइनलका लागि २४०–२५० रन पर्याप्त हुनेछ । यो निकै उत्कृष्ट खेल रह्यो । यो खेल हाम्रो लागि पनि निकै सकारात्मक रह्यो ।’

उनले भने, ‘त्यो (स्टोक्सको दुर्घटनावश भएको बाउन्ड्री) अफसोसजनक रह्यो । कसैले पनि यस्तो स्थितीमा होस् भन्ने चाहँदैन ।’

खेल समाप्त भएपछि #CWC19Final ट्रेन्ड गर्न थाल्यो र मानिसहरुले आफ्नो प्रतिक्रिया दिए ।

जतिबेला विश्वकपको यो रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो त्यति नै बेला विंबलडनको उपाधिका लागि पनि प्रतिस्पर्धा भइरहेको थियो जसमा नोवाक जोकोविचले रोजर फेडररलाई हराए ।

दर्शकको नजर दुबै खेलमा टिकेको थियो । यसैबीच विंबलडनले आइसीसीलाई एउटा रोचक ट्वीट गर्यो ।

अन्तिम प्रतिस्पर्धा त इङ्गल्याण्डले जित्यो तर न्यूजिल्याण्डको खेलको पनि निकै तारिफ भयो ।

क्रिकेट विश्वकपले इङ्गल्याण्डलाई विश्व च्याम्पियन बताउँदै भन्यो, ‘एक विजेता तर दुई च्याम्पियन टिम ।’

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे ले ट्वीट गरेर इङ्गल्याण्डलाई बधाई दिइन् ।

यस्तै, भारतका पूर्व क्रिकेटर गौतम गम्भीरले भने, ‘खेलको बिजेता सबैभन्दा बढी बाउन्ड्री हिर्काएको आधारमा घोषणा गरियो । आइसीसीको यो तर्कहीन नियम हो । टाइ हुनुपर्दथ्यो । म दुबै टिमलाई बधाई दिन चाहन्छु जसले उत्कृष्ट फाइनल खेले । दुबै बिजेता हुन् । ’

पूर्व भारतीय क्रिकेटर युवराज सिंहले ट्वीट गरे, ‘म त्यो नियमसँग सहमत छैन । तर नियम त नियम हो । इङ्गल्याण्डलाई विश्वकप जितेकोमा बधाई । मेरो सहानुभूति किविहरुसँग छ जसले अन्तिमसम्म लडे । उत्कृष्ट खेल ।’

यस्तै, विरेन्द्र सेहवागले लेखे, ‘भारतमा न्यूजिल्याण्डका थुप्रै प्रशंसक छन् । आज उनीहरुले आफ्नो खेल भावनामार्फत् थप प्रशंसक बनाउन सफल भएका छन् ।’

इङ्गल्याण्डले पहिलो पटक विश्वकप जितेको हो । २३ वर्षपछि वनडे वर्ल्ड कपले नयाँ च्याम्पियन पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप