शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई

सोमबार, ३० असार २०७६, १३ : ५०
सोमबार, ३० असार २०७६

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जितेका छन् । 
    
‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । 
        
शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडका उपाधि विजेता विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका थिए । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जितेका थिए । 
    
त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जितेकी छन् । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गरेका थिइन् । उपाधि उचालेसँगै रेखाले पनि रु एक लाख नगदबाट पुरस्कृत भएकी छिन् । 
    
त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता बने । उनले एक घण्टा २१ मिनेटमा दूरी पार गर्दै उपविजेता बनेका हुन् । उपविजेता भएसँगै सेनाका सुमनले रु ६० हजार नगदसहित पुरस्कृत भएका छन् । स्थानीय लक्ष्मण भण्डारी तेस्रो भएका छन् । उनले रु ४० हजारसहित पुरस्कृत भए भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै रु २० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत भए ।
    
महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बनेकी छन् ।  लक्ष्मीले म्याराथनको दूरी एक घण्टा ४३ मिनेटमा पार गरिन् । उपविजेता लक्ष्मी रु ६० हजारसहित पुरस्कृत भइन्  । 
    
त्यसैगरी नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो भए ।  तेस्रो हुने खेलाडीलाई रु ४० हजार र चौथोलाई रु २० हजार प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ भने महिला तथा पुरुष दुवैतर्फ पाँचौँ र छैठौँ हुने धावकलाई रु १०÷१० हजार प्रदान गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप