मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरमा कोट र टाइ नलगाउँदा प्रिन्सिपलबाट कुटिए शिक्षक

सोमबार, ३० असार २०७६, १९ : ५८
सोमबार, ३० असार २०७६

भोजपुर– सदरमुकामस्थित सगरमाथा इङ्लिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन् । आइतबार विद्यालयमा टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए । 

आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । ‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थे भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाएकोे खबर आयो, आलेको चेम्बरमा गएँ खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो । म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासि बाहिर कार्यालयको प्यासेजमा ल्याएर कुट्नुभयो ।’ पीडित अतित अधिकारीले बताए । योभन्दा अघि पनि पटक–पटक धम्की दिने गरेको भन्दै उनले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको बताए । 

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहेका छन् । अधिकारीले शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत लिखित निवेदन दिएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आफू कहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरि समाधान गरिदिन लेखि पठाएको बताए । 

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे । आफ्नो साथमा विद्यालयको नियुक्तिपत्र पनि नभएको अधिकारीले बताए । आफ्नो एक महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र विदा गरेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरि समस्याको समाधान खोजिने बताए ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनका भोजपुर अध्यक्षसमेत रहेका प्रिन्सिपल रमेश आलेले अधिकारीलाई सम्झाएको, उसले पाउने तलवको चेक समेत बनाएको बताए ।  ‘शिक्षक अधिकारीले अनौठो व्यवहार गरेको साथै अभिभावकहरुको बेला–बेलामा आएको जिज्ञासको कारण पनि मैले सम्झाउन बाध्य भएकोे हो’ प्रिन्सिपल आलेले बताए ।

नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राईले एउटा श्रमजीविमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन् । उनले घटनाको यथार्थ खोजी सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप