बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खाजामा आलु, खानामा आलु, आलु नै आलु !

आलुचाः शैली नयाँ, स्वाद नयाँ
मङ्गलबार, ३१ असार २०७६, १३ : ५९
मङ्गलबार, ३१ असार २०७६

काठमाडौँ उपत्यकाको पर्यटकीय गन्तव्यहरुमा भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र निकै चर्चित छन् । नेपाली तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेका यी क्षेत्र धार्मिक, साँस्कृतिक तथा पुरातात्विक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छन् ।

आकर्र्षक कला र संस्कृतिले शृङ्गारिएका यी क्षेत्रको प्रसिद्धि कला, संस्कृति, मठ मन्दिरमा मात्रै सिमित छैन स्थानीय खानाको लागि पनि यी क्षेत्र चर्चित छन् ।

भक्तपुर र पाटनमा नेवारी परिकारहरुको स्वाद लिनकै लागि मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । परम्परागत परिकारहरुको लागि प्रख्यात यी क्षेत्रमा आजभोलि नयाँ स्वादका परिकारहरुको चर्चा सुरु भएको छ ।

नेपालमा नयाँ परिकारहरुको माग बढ्दै जाँदा यी पर्यटकीय क्षेत्रमा चर्चामा छ ‘आलुचाः’ ।

विश्वमै खानामा सवैभन्दा धेरै प्रयोग हुने मध्ये एक हो ‘आलु’ । जुन नेपालमा पनि सवैभन्दा धेरै खपत हुने गर्छ ।

नेपालमा तरकारीको रुपमा बढी प्रयोग गरिने आलुका अनेकौँ परिकारहरु बन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर, आलुका परिकार यति धेरै बन्छन् कि सिंगो आलुले एउटा व्यवसाय स्थापित गरिदिन सक्छ ।

‘चाः’, अथवा प्रिय, नेवार समुदायमा कसैलाई माया गरेर बोलाउनु पर्दा ‘चाः’ थप्ने गरिन्छ । जस्तोः नानीचाः, दिदिचाः, मैचा आदि आदि ।

‘आलुचाः’ को जन्म

दुई वर्ष अगाडि भक्तपुर दरवार क्षेत्रमा आलुका परिकार मात्रै पाक्ने सानो एउटा खाजाघर (रेष्टुरेन्ट) खुल्यो । साँघुरो ठाउँ तर सस्तोमा खाजा पाइने भएपछि मानिसहरुको आवतजावत सुरु भयो ।

खाजाघरको नाम पनि पृथक थियो ‘आलुचाः’ । स्कूल कलेजका युवा युवतीहरुको लागि सस्तो अनि स्वादिलो आलुका परिकारले आकर्षित नगर्ने कुरै भएन ।

आलुचाःका सञ्चालकहरु हुन् दुर्गेश हाडा, आयुष्मा श्रेष्ठ र पंकज श्रेष्ठ । यी तीन युवा चार वर्षसँगै पढेका मिल्ने साथीहरु हुन् ।

सिल्भर माउन्टेल कलेजबाट होटल म्यानेजमेन्ट गरेका यी तीनजना साथीहरु इन्टर्नशीपको लागि दुर्गेश र आयुष्मा ओमान  गए भने पंकजले पारिवारिक व्यवसायलाई अगाडि बढाउने निधो गरे ।

दुई वर्षको लागि ओमान गएका दुर्गेश र आयुष्माले विदेशमा सिकेको सीप नेपालमै प्रयोग गर्ने सोचसहित फर्किए । यता थिए पंकज । दुई वर्षमा उनले व्यवसाय सञ्चालनबारे राम्रो दख्खल हासिल गरिसकेका थिए ।

नेपालमा अलि फरक र ठेट शैलीका नामबाट स्थापित ब्राण्डहरुले उनीहरुलाई आकर्षित गरिरहेको थियो । त्यसमाथि अलिकति नौलो अनि फरक स्वाद पस्किने हो भने त्यसलाई सबैले पक्कै मन पराउनेमा उनीहरु ढुक्क थिए ।

यस विषयमा तीनै जनाको सोच मिल्यो र सामान्य अन्वेषणबाटै नेपाली बजारमा भएको खानाको कमी पत्ता लगाए । र, निर्णय भयो आलुका परिकारलाई संमिश्रण गर्ने ।

पश्चिमा मुलुकहरुमा सहज रुपमा पाइने आलुका स्वादिला परिकार नेपालमा भने व्यवसायका लागि नौलो मानिन्छ । नेपालमा त आलु सामान्यतया तारेर, उसिनेर, साँधेर, पकाएर घरमा मात्रै खाने गरिन्छ ।

आलुलाई भिन्न स्वादसहित व्यावसायिकरुपमा पस्कन यी तीन युवाले काम सुरु गरे भक्तपुरको दरबार क्षेत्रबाट ।

आयुष्मा र दुर्गेशले ओमानको पाँचतारे होटलमा काम गर्दा धेरै ज्ञान हासिल गर्ने मौका पाएका थिए । त्यहाँ रहँदा उनीहरुले विदेशीहरुको रोजाइ अनि खानाको शैलीहरुबारे राम्रैसँग अध्ययन गर्ने मौका पनि पाए ।

विदेशतिर आलुबाट बनेका परिकारहरु सस्तो हुने भएकाले त्यस्तो ठाउँमा धेरै भीड लाग्ने देखेका थिए । अझ स्ट्रिट फूडको रुपमा निकै चलेको आलुका परिकार नेपालमा पनि बनाउने हो भने ग्राहकको मन तान्न सकिनेमा दुर्गेश र आयुष्मा विश्वस्त थिए ।

नयाँ सोच र जाँगरसहित जुटेका दुर्गेश र आयुष्मालाई पंकजले साथ दिए ।

तीन युवाको एउटै लक्ष्य बन्यो आलुका विशेष खालका परिकार बनाउने र नेपालमा नाम कमाउने । र नाम नाम जुराए ‘आलुचाः’ ।

नेपालमा आलु पाउन सहज छ, बाह्रै महिना पाइन्छ भन्ने उनीहरुलाई लागेको थियो । तर, नेपाली उत्पादनले बाह्रै महिना धान्न नसकिने रहेछ भन्ने उनीहरुले व्यवसाय सुरु गरेपछि मात्रै थाहा पाए । नेपाली आलुले ६–७ महिनामात्रै धान्ने र बाँकी महिना आलु भारत र बंगलादेशबाट आयात गर्नुपर्ने रहेछ ।

आलुचाःका परिकारका लागि मोइस्चर (पानीको मात्रा) धेरै भएको आलु चाहिन्छ । मोइस्चर कम भएको लागु छिटै कालो हुने र तेलमा तार्दा छिटै डढ्ने भएकाले चिप्सको लागि सुख्ख ठाउँको लागु खोज्नुपर्छ । नेपालमा उत्पादित आलुमा भने मोइस्चर (पानीको मात्रा) थोरै हुने गरेको छ । चिसो ठाउँमा उत्पादन भएका आलुबाट आलुचाःका परिकार बनाउन समस्या हुने भएकाले नेपाली आलुले धान्न निकै गाह्रो भएको आयुष्मा बताउँछिन् ।

छोएला फ्राई

ब्राण्ड बन्यो आलुचाः

स्थापना भएको छोटो समयमा नै आलुचाःले आफ्नो ब्राण्ड स्थापित गरिसकेको छ । सामान्य लाग्ने तर सबैको मुखमा सजिलै झुण्डिएको छ आलुचाः ।

धेरै युवा आलुचाः खानकै लागि भक्तपुर पुग्छन् त कति पाटन मंगलबजार । पंकज भन्छन्, ‘धेरै जना आएर आलुचाः खाम न भन्नुहुन्छ । तर, आलुचाः यहाँ पाक्दैन । आलुचाः परिकारको नाम होइन रोस्टुराँको नाम हो । जब हामी ग्राहकलाई आलुचाःको मेनु देखाउँछौं वहाँहरु छक्क पर्नुहुन्छ ।’

आलुचाःको मेनुमा आलुका मात्रै होइन कि चिकेन, सुकुटी, छोएला लगायतका परिकार पनि छन् ।

आयुष्मा भन्छिन्, ‘दुई वर्षको समयमा हामीले एउटा छुट्टै पहिचान बनाउन सफल भएका छौँ । अव यो पहिचानलाई बचाउन र यसलाई अझ उचाइमा पुर्याउन हामी लागि पर्नेछौँ । हामी क्वालिटीमा कुनै सम्झौता गर्दैनौँ तर आफ्ना ग्राहकको माग अनुसार परिमार्जन भने हुँदै जानेछौँ ।’

विशेष गरेर युवा पुस्तामाझ चर्चित बनेको आलुचाः अहिले सबैको रोजाईमा पर्न थालेको छ ।

आलुचाः का परिकार खानकै लागि धेरै युवा अहिले पनि भक्तपुर पुग्छन् । अहिले काठमाडौँ अनि ललितपुरका ग्राहकहरुलाई लक्षित गरेर उनीहरुले पाटनको मंगलबजारमा आलुचाःको दोस्रो आउटलेट खोलेका छन् । छिट्टै काठमाडौँमा पनि खोल्ने योजना उनीहरुको छ ।

भर्खर एक महिना मात्र भयो मंगलबजारमा खोलेको तर ग्राहकको चाप पुरानो आउटलेटभन्दा कम छैन ।

‘टोर्नाडो फ्राइज’

खाजामै आलु ?

सामान्यतया खाजामा आलुभन्दा अनौठो लाग्छ । नेपाली माझ खाजामा आलु खासै चल्तिमा थिएन । तर आलुचाः मा आलु खाजा मात्रै होइन डिनरको रुपमा पनि प्रयोग गर्न थालेका छन् ।

बटर चिकेन पुटिन

सानो ठाउँमा सञ्चालनमा आएको आलुचाःका परिकार डिनरको रुपमा खान परिवार, साथीभाईसँग आउनेहरुको कमी छैन ।

सुरुमा टोर्नाडो फ्राइज, बटर चिकेन पुटिन फ्राइज र क्लासिक फ्राइज जस्ता परिकार मात्र बन्थ्यो भने अहिले आएर १६ थरीका परिकार बन्छन् । आलुचाःको सबैभन्दा चर्चित परिकार भनेको ‘टोर्नाडो फ्राइज’ हो । दक्षिण कोरियाबाट चर्चामा आएको स्ट्रिट फुड हो, टोर्नाडो फ्राइज । अहिले यो भारत र अस्ट्रेलियामा पनि चर्चित छ । हाल धेरैले मन पराउने अर्को परिकार हो क्लासिक फ्राइज र बटर चिकेन पुटिन फ्राइज ।

यी परिकार बनाउन उनीहरु आफैले सिकेका हुन् । इन्टरनेटकै माध्यमबाट धेरै परिकार बनाउने शैलीलाई अनुशरण गरेका यी तीन युवाले हाल १५ जनालाई रोजगारी दिएका छन् ।

आफ्ना कर्मचारीलाई आफैले तालिम दिने, परिकारका लागि चाहिने सस, केचप, मायोनेज, चिकेन, सुकुटी लगायत सबै आलुचाःले नै तयार गर्ने गर्छ । आलुचाः भित्र प्रयोग हुने सम्पूर्ण सरसामान आलुचाः कै भएको आयुष्मा बताउँछिन् ।

सुकुटी फ्राइज

आलुचाः मा बस्ने कुर्सी टेबललाई पनि मौलिकरुप दिने कोसिस गरेको पाइयो । उनीहरुले फालिएका पुराना टायरलाई रंग लगाई एकआपसमा जोडेर बस्ने टुल बनाएका छन् । जुन आकर्षक त छ नै नौलो पनि लाग्छ । त्यसैगरी प्लेट, चम्चा, स्ट्र, जुस ग्लास पनि आलुचाःको ट्याग सहितको छ ।

प्लास्टिकबाट निर्माण गरिएका प्लेट, चम्चा अनि ग्लासहरु स्वस्थ्यकर मानिदैन । त्यसैले, ग्राहक तथा शुभचिन्तकहरुको सल्लाहअनुसार कागजका भाडाकुँडाको मात्रै प्रयोग गर्ने सोचमा छन् उनीहरु ।

कागजका भाडाहरु एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन त्यसैले लागत केही बढी हुने भएपनि आफ्ना ग्राहकको स्वास्थ्यसँग सम्बन्धित भएकाले यसमा सम्झौता नगर्ने सोचमा छन् आयुष्मा, पंकज र दुर्गेश ।

आलुचाःका परिकारको मूल्य ४५ रुपैयाँबाट सुरु हुन्छ । अन्य रेष्टुराँमा गएर खाजा खाँदा समान्यत २ देखि ३ सय सकिन्छ तर यहाँ ३ सय रुपैयाँमा कम्तिामा ३ जना अघाउन सकिन्छ । कुनै एक अर्डर गर्दा दुई जनासम्म अघाउन सकिन्छ । क्वालिटीसँगै क्वान्टिटी पनि दिनुपर्छ भन्दै उनीहरुले पस्कने हरेक खानाको मात्रा पनि केही बढीनै राखेका छन् ।

सस्तोमा धेरै पाइने भएकाले युवाहरु, अझ भनौँ विद्यार्थीहरु, को भीड नै लाग्ने पंकज बताउँछन् । यहाँ एक्लै आउने एकदमै कम हुन्छन् धेरै जसो दुई वा सो भन्दा धेरै आउँछन् । त्यसैले पनि एउटा आइटम खाँदा धेरैलाई पुगोस् भनेर नै डिजाइन गरिएको छ ।

भक्तपुर र पाटन दुवै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकहरु पनि खाजा खान आलुचाः आउँछन् । दिनमा धेरै घुम्न आउनेहरु नै आएपनि साँझतिर भने परिवारहरु आउने गरेको आयुष्मा बताउँछिन् ।

थोरै लगानीबाटै प्रसिद्धि

भनिन्छ, सानो प्रयासबाट पनि ठूलो सफलतला हासिल गर्न सकिन्छ । धेरै सफल उद्योगी व्यवसायीको सफलताको कथा पढ्दा यही कुरा दोहोरिने गरेका छन् । सानो व्यवसायबाट व्यावसायीक यात्रा थालेका धेरै जना आज खरबौँको मालिक बनेका छन्,  अनि हजारौँका लागि रोजगारी सिर्जना गरेका छन् ।

आलुचाः पनि मात्र ९ लाख रुपैयाँको लगानीमा सुरु भएको थियो । दुई वर्षको अन्तरालमा यसको पुँजी लगभग ४५ लाख पुगिसेकेको छ । तर, आलुचाःका संचालकहरु भन्छन्, ‘हामीले कमाएको सबैभन्दा ठूलो सम्पत्ती भनेको नाम नै हो ।’

आलुचाः युवाहरुको केन्द्र बन्दै गएको छ । यो अवधिमा कमाएको प्रसिद्धिलाई बचाउन र अगाडी बढाउन ठूलो चुनौति भएको पंकज बताउँछन् । यसका लागि आफूलाई झनै इमान्दार बनाउँदै लैजाने उनको प्रण छ ।

विदेश जानुभन्दा केही नयाँ सोचका साथ नेपालमा नै काम गर्ने हो भने रोजगारी आफ्नै हातमा छ भन्ने उदाहरण बनेका छन् यी तीन युवा । उनीहरु भन्छन्, ‘युवाहरुका लागि विदेशिनु मात्रै विकल्प होइन, स्वदेशमै प्रशस्त अवसर छ भन्ने सन्देश पनि हामी दिन चाहन्छौँ ।’

व्यवसायलाई सफल बनाउन यसका लागि समाज कतातिर गइरहेको छ र नयाँ पिढी के चाहन्छ भन्ने कुराको त्यो ख्याल गर्नुपर्ने उनीहरुको छ । त्यस्तै, विश्वले प्रविधिमा फड्को मारेकाले नयाँ प्रविधिको भरपुर प्रयोग गर्न जान्नु पनि पर्छ ।

सुरुमा सामान्य ग्यास, चुलो, रेफ्रिजेरेटरको प्रयोग गर्दै व्यवसाय शुरु गरेका उनीहरुले पाटनमा आउटलेट सञ्चालन गर्दा भने नयाँ प्रविधिको प्रयोग गरेका छन् । ग्यासको बचत हुने चुलो र खानेकुरा, ससहरु फ्रिजिङ गर्ने रेफ्रिजेरेटर ल्याएका छन् । जसले लामो समयसम्म पनि खानालाई सुरक्षित राख्ने काम गर्छ । साथै स्वादलाई पनि बचाइ राख्छ ।

अब उनीहरुको लक्ष्य भनेको आलुचाःलाई काठमाडौँ उपत्यकाबाट बाहिर लैजाने र ब्राण्डलाई फ्रान्चाइजीङ गर्ने हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप