शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिलोपटक नेपाल र जर्मनीबीच राजनीतिक परामर्श

मङ्गलबार, ३१ असार २०७६, २२ : १३
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं-नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच पहिलो पटक राजनीति परामर्श भएको छ । 

दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भएको बैठकमा संलग्न एक कूटनीतिक अधिकारीले राससलाई बताए ।

दक्षिण एशियाका लागि जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्शमा द्विदेशीय, क्षेत्रीय सम्बन्धमा साथै राजनीतिक एवं आर्थिक विषयमा गहन छलफल भएको उनले बताए ।

परराष्ट्र सचिव शङ्करदास बैरागी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बदलिँदो परिवेशमा नेपालको सामाजिक, आर्थिक उन्नयनका निम्ति ज्ञान र प्रविधि हस्तान्तरणसहित नैतिक तथा भौतिक सहयोगका निम्ति अनुरोध गरेको थियो । 

आजै आयुक्त पोटजेलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा उहाँहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध पक्ष र आयामबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्री ज्ञवालीसँग आजै नेपालका लागि युगाण्डा, बोस्निया हर्जगोभिना र साइप्रसका राजदूतहरुले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । उनीहरु नयाँदिल्लीमा रहेर नेपाल मामिलासम्बन्धी कार्य सम्पादन गर्ने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप