बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा पेट्रोलियम पदार्थ अभाव

बुधबार, ०१ साउन २०७६, १३ : ०२
बुधबार, ०१ साउन २०७६

दाङ– दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । 
    
उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबार नौ–नौ हजार लिटर पेट्रोल आए पनि त्यो एकै छिनमा सकिएको थियो । जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भए पनि नौ– नौ हजारका दरले आएको पेट्रोलले केही छोप नलाग्ने उनको भनाइ थियो । डिजेल भने असार २६ गतेदेखि नै एक पटक पनि आएको छैन । ढुवानी व्यवसायीले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी नगर्दा यस्तो समस्या निम्तिएको सूचना अधिकारी आचार्यले बताए । 
    
नेपालगञ्जदेखि दाङसम्म पेट्रोलियम पदार्थ ल्याउँदा ११ डिग्रीसम्मको तापक्रम फरक हुन्छ भन्दै उनले एक डिग्री तापक्रम कम भएमा एक ट्याङ्करमा १५ लिटरसम्म डिजेल र २१ लिटरसम्म पेट्रोल नोक्सान हुन्छ । यहीअनुसार नेपालगञ्जबाट दाङ आउँदा करिब २५० लिटर पेट्रोल तथा डिजेल नोक्सानी हुने गरेकाले पनि ढुवानी व्यवसायीले यो समयमा ढुवानी गर्न नमानेको बताए । 

ढुवानी व्यवसायीले यसरी हुने नोक्सानी आयल निगमले ब्यहोर्नुपर्ने माग गर्दै आएकाले यस विषयमा बिहीबार मात्रै सञ्चालक समितिको बैठक बस्न लागेको र त्यसको प्रतिक्षामा व्यवसायी रहेको बताइएको छ । केही पेट्रोलपम्पले भने सिधै नेपालगञ्जबाट आफैँ पेट्रोल ढुवानी गर्दै आएका छन् । देउखुरी क्षेत्रमा पनि पेट्रोलपम्पले सिधै ढुवानी गर्दै आएका छन् ।  

तुलसीपुर घोराहीमा पेट्रोलियम पदार्थको अभाव भएपछि यहाँका उपभोक्ता पेट्रोल तथा डिजेलका लागि देउखुरी पुग्ने गरेका छन् । अहिले जर्किन र बोतलमा तेल भरेर लिनेको भीड देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप