शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

बुधबार, ०१ साउन २०७६, १५ : २७
बुधबार, ०१ साउन २०७६

काठमाडौं– यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । 
  
साउन महिना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले  जानकारी दिए । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । 
 
साउन महिनाको पनि सोमबार पशुपतिमा धेरै दर्शनार्थी पुग्छन् । प्रायः सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

तीर्थयात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चारवटा लाइन राख्ने कोषको तयारी छ । तिलगङ्गाबाट विद्युतीय शवदाह गृहअघिको सडक–चार शिवालय हुँदै मूल मन्दिरको दक्षिण ढोकातर्फ, जयवागेश्वरीबाट भूवनेश्वरी–वरुणधारा हुँदै दक्षिण ढोकातर्फ, मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकातर्फ र मित्रपार्कबाट उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम मूल ढोकातर्फबाट मन्दिर छिर्ने गरी व्यवस्था मिलाइएको उपनिर्देशक ढुङ्गानाले बताए ।
 
यस वर्ष साउन ६, १३, २० र २७ गरी चार वटा सोमबार परेका छन् । साउनको सोमबार विशेषगरी महिलाले अटल सौभाग्य एवं पारिवारिक सुख र शान्तिको कामना गर्दै व्रत बस्ने र शिवालयमा पूजा आराधना गर्छन् । बोल बम, (साउनको विशेष पूजा) का लागि विश्वभरका वैदिक सनातन धर्मावलम्बी पशुपतिमा आउँछन् । 
 
पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा पूजिने भएकाले पनि विश्वको जुनसुकै कुनामा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्छन् । 
     
आज साउनको पहिलो दिन भएकाले बिहानैदेखि बढी सङ्ख्यामा भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनमा आएका छन् । आज साउने सङ्क्रान्तिसमेत भएकाले पनि दर्शनार्थीको पशुपतिनाथ मन्दिरमा भीड बढेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप