बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिनाउ नदीमा भरियो बस्ती : भोटको लोभमा नेताको संरक्षण !

बिहीबार, ०२ साउन २०७६, १५ : २१
बिहीबार, ०२ साउन २०७६

बुटवल– पाल्पामा मुहान रहेको तिनाउ नदी रुपन्देहीमा आइपुग्दासम्म सहजै बग्ने गथ्र्यो । कुनैबेला तिनाउ नदी बुटवलको सुन्दरता र गहना नै मानिन्थ्यो । 

‘२०५२ सालसम्म तिनाउमा पौडी खेल्न र पिउन मिल्ने पानी बग्थ्यो । साथीहरु मिलेर हामी तिनाउमा रमाइलो गर्न जान्थ्यौँ’ बुटवल वडा नम्बर १ का स्थानीय बासिन्दा देवेन्द्र शाक्य सम्झन्छन् । 

तर शाक्यले भनेजस्तो अहिले तिनाउ छैन । तिनाउ खुिम्चएको छ ।  घरैघर बनेका छन् । 

रूपन्देही तथा आसपासका क्षेत्र सिञ्चित गर्ने र पानीको स्रोत मानिने तिनाउ नदी बुटवल सहर भएर बग्छ । 

पछिल्ला आठ÷दस वर्षयता यो नदी (प्राकृतिक बहाव) रोकिएको छ । नदीको बहाव क्षेत्रमा खेलाँची गरेर संरचनाहरु खडा गरिएको छ । अव्यवस्थित बस्ती निर्माण गर्ने होडबाजी जस्तै चलेको छ । 

बुटवल–५ को चिडियाखोला हुँदै तिलोत्तमा नगरपालिका डाइभर टोलसम्म  तिनाउ नदी अतिक्रमणमा परेको छ  । जहाँ तिनाउको बाटो मिचेर ४ हजार घर बनेको तिनाउको अध्ययन गरेका इन्जिनियर खेटराज दाहाल बताउँछन् । ‘तिनाउ आसपासमा बनेका १४ हजार घरमध्ये ४ हजार घर तिनाउको बाटो मिचेर बनाइएको छ’, दाहालको दाबी छ । भवन निर्माण संहितामा नदी र खोलाले बनाएको बगरमा भवन निर्माण गर्न नहुने गरी मापदण्ड छ । तर तिनाउको बहाव क्षेत्र अतिक्रमण गरेर प्रत्येक वर्ष घर बनाउने क्रम रोकिएको छैन । 

तिनाउको बहाव क्षेत्रमा सामान्य घर टहरा मात्र होइन तीन चार तले पक्की घरसमेत बनेका छन् । उक्त क्षेत्र बाढीको जोखिममा पनि पर्छ । यसको नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका मौन छ । विभिन्न निर्वाचनमा यही नदी किनारमा रहेको सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्ने भन्दै राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा उल्लेख गरेका थिए । तर यो बस्ती व्यवस्थित गर्नुको साटो नगरपालिकाले मोटरबाटो, विद्युत र खानेपानी पुर्याउँदै तिनाउको बाटोमाथि बस्ती बसाल्न मलजल गरिरहेको छ । 

तिनाउको विपत् करुणादायी  
जब राजनीतिक अस्थाका आधारमा तिनाउमा एकपछि अर्को बस्ती बस्न थाल्यो त्यसपछि तिनाउले आफ्नो बाटा खोज्न थाल्दा बेलाबेला ठुल्ठुला विपत् पनि निम्तिने गरेका छन् । 

२०७४ सालमा तिनाउमा आएको बाढीले बुटवल देवीनगरस्थित झोलुङ्गे पुल बगायो भने २० भन्दा धेरै अतिक्रमण गरी बनेका घरहरू कटानमा परेका थिए । २०१८, २०२७, २०३८ हुँदै २०५० सालमा आएको बाढीले धेरै क्षति गरेको स्थानीयहरु बताउँछन् । 

उनीहरुका अनुसार २०२७ मा आएको बाढीले एक सयभन्दा बढीको ज्यान लिनुका साथै दर्जनौँ घर बगाएको थियो । त्यस्तै हजारौँ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत बनेको थियो । २०३८ सालको बाढीले दोभानमा २९ र बुटवलमा ३५ गरी ६४ जनाको ज्यान लिएको थियो । सयौँ परिवार घरबारविहीन भएका थिए । २०५९, २०६५ र २०६६ सालमा पनि औसतभन्दा तिनाउमा ठूलो बाढी आएको थियो । 

पछिल्लो पाँच वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २ सय टहरा बाढीले बगाएको छ । इन्जिनियर दाहालले तिनाउसँग खेलाँची गरेर बसाइएका बस्तीका कारण विपत्ति निम्तिने गरेको बताए । विगतका विपत्बाट पीडित बनेमध्येका एक पाल्पा दोभानका दलबहादुर गुरुङ सिद्धबाबा तथा उपल्लो तटीय क्षेत्रमा तिनाउ १० मिनेट मात्रै थुनिए बुटवल तथा त्यस आसपासमा ठूलो धनजनको क्षति पु¥याउने बताउँछन् । 

किन सुकुम्बसीका नाममा चल्छ रजाइँ ?
बुटवल सहरमा अवसरको खोजीमा आउनेहरु धेरै छन् । पहाड होस् वा तराई, जहाँबाट आए पनि उनीहरु बुटवल आसपासका क्षेत्रमा कुनै न कुनै रूपमा बसोवास गर्न चाहन्छन् । जसले तिनाउको बाटोलाई छेकेर घर बनाउन थाल्छन् । बस्ती भएपछि दलहरुको भोट बैङ्क त्यही बन्छ ।  ‘बस्ती बसेपछि नगरपालिकाबाट भौतिक पूर्वधार बढ्ने आस हुन्छ । त्यो आशा जसले पूरा गर्छु भन्छ उसैलाई भोट हाल्ने काम हुन्छ’, बुटवलका पुराना बासिन्दा देवेन्द्र शाक्यको बुझाइ छ । 

उनले भने, ‘तिनाउ खहरेजस्तो हो । जतिबेला पनि उर्लिन सक्छ । नदीको बहाव क्षेत्रमा सुकुम्बासीको नाममा बस्नेहरूलाई प्रदेश र स्थानीय तहले उचित व्यवस्थापन गर्नुपर्छ ।’ 

त्यति मात्रै होइन, तिनाउ आसपासका जग्गा स्थानीय टोल समितिले रकम लिएर बिक्री नै गर्ने गरेका छन् । 

तिनाउका अर्का जानकार दलबहादुर गुरुड भन्छन्, ‘सुकुम्बासीका नाममा तिनाउमा मनपरी भएको छ । जसले गर्दा रुपन्देही ठूलो विपत्तिको जोखिममा पर्ने र तिनाउ नदी सङ्कटमा परेको छ ।’ तिनाउ नदीको बहाव क्षेत्र अहिले सय मिटरमा खुम्च्याइएको छ ।  त्यसो त तिनाउ नदी आसपासमा बस्नेहरु अधिकांश गैरसुकुम्बासी रहेको आवाज पटकपटक उठ्ने गर्छ । तर ती बस्ती हटाउनेतर्फ स्थानीय र प्रदेश सरकारको चासो कमै देखिने गरेको छ । अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माणका नाममा नगरपालिकाले लाखौँ रकम खर्चिंदै गएको छ । कुनै बेला खुला रहेको गोलपार्कदेखि बुटवल–११ को मजुवासम्म तिनाउको दायाँबायाँ अहिले घरहरूले पूरै छोपिएको छ । 

पछिल्ला वर्षहरुमा केहीलाई जग्गाधनीपुर्जा वितरण गरे पनि यहाँ सुकुम्बासी र भूमिहीनहरुको सङ्ख्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो सहरीकरण र अव्यवस्थित बसोवासको फोहोरले नदी र खोलाहरूको किनाराहरु भरिँदै गएका छन् । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बहावमा बसोबास गरेकाहरुलाई तत्काल अन्यत्र सार्न सम्भव नदेखिएको बताइन् । उनले भनिन्, ‘हामीले मात्र अनुरोध गरेर जोखिमपूर्ण क्षेत्रमा बसेकाहरुलाई हटाउन सकिँदैन । यसका लागि सङ्घ र प्रदेशको पनि ध्यान जानुपर्छ । बसोवास गरेकालाई जबरजस्ती स्थानीय सरकारले हटाउन सक्दैन ।’ आचार्यले बुटवलमा झण्डै १४ हजार अव्यवस्थित बसोवासी रहेको बताइन् । 

विपद्को पूर्वतयारीमा छौँ : मन्त्री चौधरी 
प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार तयार रहेको बताउँछन् । ‘विपद् न्युनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले तयारी गरेको छ ।

हामीलाई विपद् व्यवस्थापनका लागि बजेट पनि प्रयाप्त छ । बाटो बन्द भएर डुबान भए पनि तत्काल उद्धार र राहत उपलव्ध गर्न सरकार तयारी छ’, मन्त्री चौधरीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप