केन्द्रीय संस्करण
दश प्रश्न

सङ्गीतकारले झुक्याएर ठग्दारहेछन्– गायिका अञ्जु गौतम

person explore access_timeसाउन ३, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

काठमाडौँ – पूर्वेली लोकगीत सङ्गीतमा अब्बल मानिएकी छन् गायिका अञ्जु गौतम । एक दशकभन्दा बढी समयदेखि गायनलाई कर्मथलो बनाउँदै आएकी गौतम आफूलाई अझै सङ्घर्षरत गायिका भन्न रुचाउँछिन् ।

पूर्वेली लोकदोहोरी, लोकदोहोरी, लोक आधुनिक, मारुनी, भजन, तीजलगायत सबै प्रकारको गीत गाउँदै आएकी गौतम ०६५ बाट औपचारिक रूपमा गायनमा होमिएकी हुन् ।

‘बिरह चल्ने न्याउली चरी, गहभरि आँसु कठैबरी’ उनको गायन यात्राको पहिलो गीत हो यो । यो गीत धेरैको रोजाइमा परेकाले पनि आफू गायनमा लाग्न हौसिएको गौतम बताउँछिन् ।

मारुनी गीतपछि लोक दोहोरी धरान घन्टाघर, त्यसपछि राष्ट्रिय गीत गायकी गौतमका अहिलेसम्म ९ वटा एल्बम बजारमा आएका छन् । यी एल्बममा लोकदोहोरी, दोहोरी, आधुनिक लगायत सबै प्रकारको गीत रहेका छन् ।

महिला दिदीबहिनी दर्शक श्रोताका लागि उनी हरेक वर्षको तीजमा एक तीज बनाउने गर्छिन् । यो वर्ष पनि उनले ‘रातो चोली’ बोलको तीज गीत बनाएकी छन् । जुन गीत भर्खर सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतले तीजमा दरखाने, रमाइलो गर्ने संस्कृति समेटेको उनी सुनाउँछिन् । यिनै गायिका अञ्जु गौतमसँग रातोपाटीको यस्तो छ दस प्रश्न ।

एक दशकभन्दा बढी समय गायनमा बिताउनुभएको छ । अनुभव कस्तो रह्यो ?

–यो समयमा गायन क्षेत्रका तितामिठा धेरै अनुभव सँगालेकी छु । म एउटा छोरी मान्छे, बुहारी मान्छे हुँ । यो क्षेत्रमा लाग्दा धेरै दुःख कष्ट सहनुपरेको, पचाउनुपरेको छ । यो क्षेत्रबाट मैले केही नाम कमाए पनि । देशभरभन्दा पनि पूर्वमा म राम्रौ चिनिएकी छु । उता धेरै सपोर्ट हुने गरेको छ । स्टेज कार्यक्रम पनि पाइरहेकी छु । तर मैले यो क्षेत्रमा जेजति लगानी गरेकी छु । सो अनुसारको उपलब्धि भने अझै हुन सकेको छैन । तर पनि सुन्तुष्ट छु ।

किन रोज्नुभयो गायन ?

–सानैदेखि यो क्षेत्र मनपथ्र्याे । म तेह्रथुनमा जन्मिएकी हुँ । सानैदेखि रेडियो सुन्थे । रेडियोमा गीतसङ्गीत बच्ने बितिकै नाच्थे । मेरो परिवारमा पनि सङ्गीतिक माहोल थियो । गायन क्षेत्र सानैदेखि मन परेकोले रहर पूरा गर्न र आत्मसन्तुष्टिका लागि यो क्षेत्र रोजेँ ।

अहिले सङ्गीतमा लगानी बालुवामा पानी भनिन्छ नि ?

–हो, यो कुरो सही हो । अहिले गीतसङ्गीतमा निकालेर आम्दानी हुन्छ भन्नु झुट हो । यसबाट आम्दानी छैन । बरु खर्च मात्रै हुन्छ । मेरो कुरा गर्ने हो भने म एक गीत रेकर्ड गर्छु । त्यसको म्युजिक भिडियो बनाउँछु । मिडियामा पुर्याउँछु । बज्छ, धेरैले थाहा पाउँछन् । अलिअलि जिनजान हुन्छ । केही नाम पनि कमाउँछु । त्यसपछि अर्काे गर्न मन लाग्छ । अर्काे रेकर्ड गर्छु । यी सबैका लागि खर्चको म्यानेज भनेको मैले बाहिरबाटै गर्ने गरेको छु । गीतसङ्गीतको एल्बमबाट मलाई केही फाइदा भएकै छैन ।

गायनको पहिलो आम्दानी ?

–एक स्टेज कार्यक्रममा गीत गाएर ३ हजार पाएको थिए । त्यो नै मेरो गायनको पहिलो कमाइ थियो । त्यो पैसा एउटा पिनड्राइभ किन्दा र कार्यक्रममा गएर र फर्किंदा यातायातमै सकियो ।

गायिकाको दुःख के रहेछ ?

–गायिका बन्न धेरै दुःख गर्नुपर्दाे रहेछ । धेरै जनासँग हात जोड्नुपर्छ । रेकडिङ स्टुडियोमा समय कुर्नुपर्छ । सङ्गीतकारहरुसँग पालो कुर्नुपर्छ । पैसामा बार्गेनिङ गर्नुपर्छ । बोलाएको दिन पनि कतिपल्ट समय छैन भन्छन् । त्यसै फर्किनुपर्छ । समयमा घर पुग्न सकिएन भने घरबाट गाली, घुर्कीलगायत सहनुपर्छ । कलाकार भएपछि धेरै जनासँग बोल्नुपर्छ, हिँड्नुपर्छ । धेरैले कुरा काट्छन् । त्यो सहनुपर्छ । आफ्ना बारेमा आफन्त, समाजले गरेका राम्रा नराम्रा टिप्पणी पचाउनुपर्छ । यस्ता दुःख धेरै छन् ।

सुख पनि त होला नि ?

– गीत सङ्गीतमा लागेपछि चर्चा हुन्छ । धेरैले चिन्छन् । घरबाट रोएर निस्किएको छ भने पनि कार्यक्रम सङ्गीत बजेर गीत गाउन थालेपछि सबै पीडा, दुःख भुलिन्छ । कार्यक्रममा दर्शकबाट पाएको ताली र हौसलाले अगाडिका दिनमा अझ सजक, सचेत र सशक्त भएर अगाडि बढ्न प्रेरणा मिल्छ ।

विवाहित महिलालाई गायन कति सजिलो ?

–धेरै कठिन छ । विवाहितले सासूससुरा, श्रीमान्, छोराछोरी सबैले भनेको मानेर मन नदुखाउने गरेर ध्यान दिँदादिँदै पनि कहीँकतै केही न केही मिल्दो रहेन छ । गीत सङ्गीतमा लाग्ने कलाकारले परिवार र गीतसङ्गीत दुवै सँगसँगै लैजान गाह्रो छ । लगेकाले पनि धेरै पीडा सहेर अगाडि बढी रहेको पाइन्छ । टीभी, स्टेज कार्यक्रम लगायतमा कलाकार जति हाँसेको, गाएको, नाचेको देखिन्छ । त्योभित्र धेरै दुःख, पीडा रहेको हुन्छ ।

आफ्नै क्षेत्रका व्यक्तिबाट ठगिनुभएको छ कि ?

–सङ्गीतकारले धेरै ठग्दा रहेछन् । गीतकारबाट शब्द ल्यायो । सङ्गीत गर्न दियो । उनीहरुसँग प्याकेजमा यति भनेर कुरा हुन्छ । प्याकेजको बेला लाइभ बाजा हाल्नुपर्छ । यसको यति, यसको यति भनेर धेरै लाइभ बाजा राख्ने सहमतीमा कुरो टुङ्गिन्छ । तर उहाँहरुले लाइभ हाल्छु भनेको बाजा पनि किबोडबाट हालिँदो रहेछ ।

किबोडबाट सबै मादल, बासुरी, सारङ्गी सबै हाल्न मिल्दो रहेछ । लाइभ बाजा हाल्छु भनेर पैसा लिएर पनि नहाल्दिने रहेछन् ।  विषेश गरेर यो क्षेत्रमा नयाँ हुँदा धेरै यसरी ठगिए । नयाँ व्यक्ति जो पनि यस्ता कुरामा ठगिन्छन् ।

एउटै व्यक्तिसँग काम गर्दा पनि चलेका कलाकार र नयाँ कलाकारको सङ्गीत क्वालिटीमा पनि आकाश जमिनको फरक पार्दिने गर्दा रहेछन् । कुनै कार्यक्रममा एकै सङ्गीतकारले गरेको काममा धेरै फरक पर्दा चित्त दुख्दो रहेछ । रुन मन लाग्दो रहेछ ।

अब गाउन मन लागेको गीत ?

–अहिलेका पुस्ताले रुचाउने, छोटो समयमै मनोरन्जन दिने खालको गीत गाउने सोच छ ?

सपना ?

– बुबाआमाकी म एक्ली छोरी । राम्रो ज्वाइँ खोजेर मेरो विवाह गरिदिने उहाँहरुको सपना थियो । कलाकारितामा राम्रो नाम कमाओस्, धेरै प्रगति गरोस् भन्ने इच्छा पनि थियो । धेरै पढोस् भन्ने पनि चाहनु हुन्थ्यो । मैले पढाइ पनि बीचमा रोकेर प्रेम विवाह गरेँ । बुबाको सपना त पूरा हुन सकेन । मैले पनि यो गर्छु, त्यो गर्छु भन्ने सोचेको थियो । त्यो सबै पूरा गर्न सकेको छैन । अहिले लाग्छ, मैले विवाह गर्न हतार गरेछु ।

विवाह नगरी यो क्षेत्रमा लागेको भने केही गर्थे होला । परिवारको बन्धनमा बाँधिएर होला जेजति गर्नुपर्ने गर्न सकेको छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...