बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरित बाँडियो एक करोड ३८ लाखका भैसी

शुक्रबार, ०३ साउन २०७६, १८ : १९
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– प्रदेश २ सरकारले तराई मधेशको आन्दोलनमा शहिद भएका परिवार तथा घाइतेलाई एक करोड ३८ लाखको रुपियाँको भैसी वितरण गरेको छ ।  प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ बनाएर नै २०६४ देखि २०७२ सम्म भएको भएको मधेश आन्दोलनमा भएका सहिद तथा घाइते परिवारलाई भैंसी वितरण गरेको छ । 

मन्त्रालयले १२२ जनालाई भैसी वितरण गरेको छ । त्यसमध्ये ५८ जना सहिद परिवार र ६४ जना घाइतेलाई वितरण गरेको हो । प्रदेश २ मा रहेका आठवटा जिल्ला प्रशासन कार्यालयको तथ्याँकमा ४० जना सहिद रहेका छन् तर मन्त्रालयले ५८ जना सहिद परिवारलाई वितरण गरेको पशुपंक्षी विकास महाशाखाका प्रमुख इन्द्रदेश साहले बताए । 

उनले भने, ‘हामीले सिडियो कार्यालयबाट मगाएको रेकर्डबाहेक पनि सहिद परिवार रहेका छन् । उनीहरुले दिएको निवेदनका आधारमा भैसी वितरण गरेका छौं ।’ सरकारको सिफारिशमा १० लाख रुपियाँ पाएका सहिदको परिवारको नाम मात्र जिल्ला प्रशासन कार्यालयमा उल्लेख छ । 

सप्तरी जिल्ला प्रशासन कार्यालयमा पाँचजना सहिद परिवारको नाम तथ्याँकमा उल्लेख छ तर त्यो जिल्लाबाट १८ जना सहिद परिवारले निवेदन दिएका थिए । १८ जना सहिद परिवारले नै भैंसी पाएका छन् । सप्तरी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहको गृह जिल्ला हो । 

त्यसैगरि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा ६ जना सहिद परिवारको तथ्यांक छ भने त्यहाँबाट नौजनाले निवेदन दिएर भैसी प्राप्त गरिसकेका छन् । रौतहट जिल्ला प्रशासन कार्यालयमा पाँचजनाको नाम छ र पाँचैजनाले भैसीका लागि निवदेन दिएका थिए । उनीहरुले पनि प्राप्त गरिसकेका छन् ।

धनुषामा पाँचजना सहिद परिवारको नाम जिल्ला प्रशासन कार्यालयमा छ, तीमध्ये भैसीका लागि तीनजनाले मात्र निवेदन दिएका थिए । तीनैजनाले भैसी प्राप्त गरेका छन् । त्यस्तै धनुषा जिल्ला प्रशासन कार्यालयमा पाँचजना सहिदको नाम छ, तीमध्ये तीनजनाले निवेदन दिएका थिए । उनीहरु पनि भैसी प्राप्त गरिसकेका छन् । 

बारामा ६ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा छ तर पाँचजनाले मात्र निवेदन दिएका थिए । सिरहामा पाँचजनाको तथ्यांक रहेको छ तर चारजनाले मात्र निवेदन दिएका थिए र सर्लाही जिल्ला प्रशासन कार्यलायमा एकजना सहिदको नाम मात्र तथ्यांकमा छ तर सातजनाले निवेदन दिएका थिए । 

महाशाखा प्रमुखका अनुसार जति जनाले निवेदन दिएका छन्, ती सबै सहिद परिवारले भैसी पाएका छन् ।  मधेश आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा मधेश आन्दोलन २०६२/०६३ तथा तत्पश्चातको विभिन्न समयमा भएको मधेश आन्दोलनको क्रममा पीडित शहीद परिवारको विवरण प्रदेश २ का विभिन्न आठवटा जिल्लाहरुको जिल्ला प्रशासन कार्यालयबाट माग गरिने उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालयले प्राप्त तथ्यांकअनुसार ४० जना सहिद परिवारले मात्र भैंसी पाउनुपर्ने हो तर १८ जना बढी सहिद परिवारलाई निवेदनको आधारमा भैसी प्रदान गरेको छ । महाशाखाका प्रमुख साहले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याकंका आधारमा वितरण गर्दा थुप्रै सहिद छुट्ने भएका हुनाले सार्वजनिक निवेदन आह्वान गर्दा तोकेको मापदण्ड अनुसार आएका निवेदकलाई भैसी दिएको हो ।’

यद्यपि त्यही कार्यविधिमा मधेश आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैसी वितरण कार्यक्रम कार्यानवयनको दौराना कुनै भ्रम वा विवाद सृजना भएमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ को निर्णय अन्तिम हुने उल्लेख छ । सोही मापदण्डलाई आधार मानेर कार्यविधि विपरित सहिद परिवार छनौट गरिएको मन्त्रालय स्रोतले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा पीडित सहिद परिवारको घरमा पुगेर पशुपालन गर्ने इच्छुक व्यक्ति वा परिवारको लगत संकलन तथा भौतिक पूर्वाधार (गोठ खोर) को स्थलगत अवलोकन गरि पशुपालन कार्यक्रममा सहभागी हुने इच्छुक व्यक्तिहरुको संख्या यकिन गरी त्यसबाट प्राप्त निवेदनका आधारमा भैसी वितरण गर्ने कार्यविधिमा उल्लेख छ । 

पशु सेवा विभागको स्वीकृत प्राविधिक मापदण्डलाई आधारमानी गाईमा कम्तीमा दैनिक ८ लिटर तथा भैसीमा पाँच लिटर दुध दिने उन्नत नश्लको दुधालु गाई वा भैसी खरिदको लागि दर्तावाल फर्मबीच शिलबन्दी बोलपत्रको माध्यमबाट गाई वा भैसी आपूर्ति कर्ता छनौट गर्ने कार्यविधिमा उल्लेख छ । 

भैसी उपलब्ध गराएका सर्लाहीका सुरेश कार्की भन्छन्,  ‘५८ वटा भैसीको जम्मा रकम एक करोड ३८ लाख परेको छ । सरदर एउटा भैसीको ९० हजार परेको छ तर टेण्डर एकलाख १३ हजारमा भएको छ ।’ त्यही एक लाख १३ हजारमा भैसी किन्नदेखि लिएर विमा गराउन, औषधी गराउन र सहिद परिवारको घरसम्म पुर्याउने काम पनि हुने उनले बताए । 

भैसी प्राप्त गरिसकेका कतिपय सहिद परिवारले मापदण्डमा तोकेको अनुसार भैसीले दुध नदिएको गुनासो गरे । कतिपयले त भैसी ल्याएको एक महिना भयो तर अहिलेसम्म दुध नै नदिएको गुनासो पनि गरे । सप्तरीका सहिद सज्जन मेहताका दाइले भने, ‘एक महिनाभन्दा बढी भइसक्यो तर अहिलेसम्म दुध दिएको छैन । नयाँ ठाउँ भएर होला कि के हो अहिलेसम्म दुध दिएको छैन ।’ मधेश आन्दोलनका सहिद रमेश महतो स्मृति प्रतिष्ठानका अध्यक्ष राजलाल यादव भन्छन्, ‘सहिद परिवारलाई भैसी घाँरो हुन थालेको छ । कुनै विरामी भएका छन् त कुनैले दुध दिइरहेका छैन ।’

अध्यक्ष यादव पनि मधेश आन्दोलनका घाइतेका रुपमा एउटा भैसी प्राप्त गरेका छन् । उनले आफ्नो भैसीको अवस्था राम्रो नरहेको र अहिले लाग्न थाल्यो बेकारमा भैसी लिएको बताए । भैसी लिँदा अध्यक्ष यादवको आलोचना भएको थियो । पूर्वमन्त्री समेत रहेका उनी आफू घाइते भएको मापदण्डा पुरा गरि निवेदन दिँदा भैसी पाएको प्रतिकृया दिए ।

थुप्रै सहिद परिवार तथा घाइतेले भैसी पाएका छैनन्, उनले भने, ‘कतिपयले त जानकारी नै पाएनन् भने कतिपयले जानकारी पाएपनि निवदेन दिन पनि जान सकेन ।’ दुधालु भैसी प्राप्त गरिसकेपछि गोठ व्यवस्थापन, पशु आहारा, उपचार, पशु प्रजनन, फार्म उपकरण खरिद आदिका लागि पहिलो पटकका लागि मात्र प्रदेश सरकारले एकमुष्ट ३० हजार रुपियाँ समेत उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । 

तराई मधेश आन्दोलनमा देशभरि १७७ जना सहिद भएका छन् । जसमा आठजना प्रहरी रहेका छन् भने एकजना भारतीय रहेका छन् । २०६४ मा ५४, २०७२ मा ५६, २०७३ मा ५ र २०७४ मा २ जना सहिद भएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप